नेपाली कांग्रेसको विधान अब अन्तिम चरणमा

काठमाडौँ, कात्तिक १३ ।

नेपाली कांग्रेसको विधान मस्यौदा समितिले अब पार्टीमा देशभर एकप्रकारका सदस्य मात्र रहने प्रस्ताव गरेको छ ।

यसअघि साधारण र क्रियाशील सदस्य रहने व्यवस्था थियो । अब विधानमा ‘नेपाली काँग्रेसको सदस्य’ भन्ने पदावली रहने छ।
पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले मस्यौदालाई अन्तिम रूप दिने प्रयास गरिरहेको छ।

समितिका सदस्य प्रदीप पौडेलले प्रायः सबै काम सकिएको जानकारी दिए । उनले यही कात्तिक १६ गते हुने चियापान कार्यक्रमसम्म पूर्ण विवरण तयार गरी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरिने जानकारी दिए ।

नेता पौडेलले कांग्रेसको विधानमा अहिले संरचनात्मक रूपमा आमूल परिवर्तन गरिएको बताउँदै सबै तहको कार्य समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको बताए । साथै जनसङ्ख्याअनुसार अन्य विभिन्न जाती र समुदायको प्रतिनिधित्व गराउनका लागि अध्ययन भइरहेको छ ।

केन्द्रीय सदस्य समेत रहनुभएका नेता पौडेलले भने, ‘सबै कार्यसमितिलाई अधिकार सम्पन्न बनाउन प्रस्ताव गरिएको छ, सभापतिलाई त्यस्तो विशेष अधिकार प्रदान गरिएको छैन ।’

पार्टीको संरचना अब ८ तहको हुने भएको छ । जसअनुसार गाउँ, वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, प्रदेश सभा कार्य समिति र केन्द्रीय कार्य समितिको संरचना प्रस्ताव गरिएको छ ।

केन्द्रीय कार्य समितिको सङख्या पनि अहिलेको भन्दा बढ्ने भएको छ । जातीय समूहअनुसार सबैको प्रतिनिधित्वलाई सुनिश्चित गर्दा बढीमा १२३ सदस्यीय हुने जानकारी नेता पौडेलले दिए ।

विधान मस्यौदा समितिका अर्का सदस्य फरमुल्लाह मन्सुरले मस्यौदा तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको स्पष्ट पार्नुभयो । कांग्रेसको विधानलाई पारित गर्न आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौंमा महासमितिको बैठक आह्वान गरिएको छ । गोरखापत्रबाट

कमेन्ट गर्नुहोस्