दुर्घटना न्यूनीकरण गर्नका लागि सवारी चालकका लागि पोशाक अनिवार्य

रुपन्देही, कार्तिक १३ ।

प्रदेश ५ सरकारले सार्वजनिक सवारी साधनका चालकलाई पोशाक अनिवार्य गर्ने भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि चालकलाई जिम्मेवार बनाउन मुख्य राजमार्गदेखि स्थानीय रूटमा चल्ने सवारीका चालकलाई पोशाक अनिवार्य लगाउनुपर्ने व्यवस्था गर्न लागेको हो ।

यसका लागि पहिलो चरणमा सरकार आफैले चालकलाई ज्याकेट उपलब्ध गराउने तयारी गरेको मन्त्री कुलप्रसाद केसीले जानाकारी दिए । यसले प्रदेशलाई सुरक्षित यात्राको पहिचान गराउने र यात्रुलाई ढुक्कसँग यात्रा गर्न सक्ने वातावरण बनाउने उनको भनाइ छ ।

प्रहरी तथ्यांकअनुसार सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरवाही देखिएको छ ।

दुर्घटना घटाउन र चालकलाई जिम्मेवार बनाउन पोशाकसंगै प्रदेश सरकारले चालकलाई थप प्रशिक्षण, टाइमकार्ड र ३ स्थानमा रिफ्रेस सेन्टरको समेत व्यवस्था गर्दै छ । मन्त्री केसीका अनुसार प्रदेश ५ को प्रवेश बिन्दु नवलपरासीको बर्दघाट, दाङको लमही र बर्दियाको बासगडीमा गाडी चालकलाई रिफ्रेश सेन्टर बनाउन लागेको हो ।

प्रदेश एकमा झण्डै १० हजार सार्वजनिक सवारीका चालकहरू रहेको यातायात व्यवसायीको तथ्यांक छ ।

कमेन्ट गर्नुहोस्