बजारमा १४ करोडको मिठाई आयात

काठमाडौं, कार्तिक १३ ।

बडादशैंदेखि तिहार आउने यो अवधिसम्म नेपालमा १४ करोड मूल्य बराबरको मिठाई छिमेकी तथा बाह्य मुलुकबाटआयात भएको छ ।

चाडपर्वको समयमा विशेष माग हुने मिठाई स्वदेशमा कममात्र उत्पादन हुँदा अन्य मुलुकमा निर्भर हुनु परेको सरोकारवालाको भनाई छ ।

विगत एक महिनाको अवधिमा १४ करोड बढीको मिठाई आयात भइसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीले जानकारी दिए । मुलुकमा दुग्ध उत्पादन उच्च मात्रामा भएपनि दुध प्रशोधन गर्ने ठुला तथा मझौला उद्योग अभावमा माग अनुसारका मिठाई उत्पादन हुन नसकेको सुवेदीले बताए ।

इलाम, धनकुटा लगायतका केही जिल्लामा दुध प्रशोधन गर्ने उद्योग खोल्ने क्रम बढेपनि मिठाई जन्य वस्तु उत्पादन कम हुने गरेको छ । खासगरी दुग्धजन्य मिठाई उपभोक्ताले रुचाउने गरेपनि अन्य प्रकारका मिसावटजन्य वस्तुबाट बनेका मिठाई बजारमा पाइने गरेको छ ।

अखाद्य वस्तु तथा रंग मिसावट गरिएका मिठाइ स्वास्थ्यकर नहुने खाद्य विज्ञको सुझाव छ ।

कमेन्ट गर्नुहोस्