निर्धन उत्थानको स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, कार्तिक १३ ।

देशभरिका ७ वटै प्रदेशका ७ वटै जिल्लाहरुमा १८१ वटा शाखा कार्यालयको सञ्जालमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २०औं स्थापना दिवसको उपलक्ष्यमा मिति २०७५ कार्तिक १२ गते सोमबारका दिन रुपन्देही जिल्ला भैरहवा हिमालीपथस्थित निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको भैरहवास्थित भवनको प्रांगणमा “तपाईको एक थोपा रगत कसैको अमूल्य जीवन बन्न सक्छ’ भन्ने मुल नाराका साथ रगत नपाएर छट्पटिएका व्यक्तिहरुको जीवन रक्षाको निमित्त रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

यस संस्थाको क्षेत्रीय कार्यालय भैरहवाद्वारा आयोजित उक्त रक्तदान कार्यक्रममा संस्थाका कर्मचारीहरु, ग्राहक सदस्यहरु, अभिभावकहरु र सर्वसाधारणहरु गरी १८ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

उक्त रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी भैरहवा शाखाले प्राविधिक सहयोग प्रदान गरेको थियो ।

सो अवसरमा भैरहवा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख न्यौपानेले देशभरिका ७ वटै प्रदेशका ७ वटै जिल्लाहरुका १८१ वटा शाखा कार्यालयको सञ्जाल मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको यस संस्थाको २०७५ भाद्र मसान्तसम्ममा ग्राहक संख्या ३,२०,८३१ रहेको, लगानीमा रहेको कर्जा रु.१५ अरब ४९ करोड ९४ लाख रहेको र बचत रु.८ अरब ७० करोड १७ लाख रहेको जानकारी गराएका थिए ।

यस संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई यस संस्थाको भैरहवा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए ।

कमेन्ट गर्नुहोस्