कांग्रेसले देशैभरी एकैसाथ चियापानको आयोजना गर्ने, अहिलेसम्मकै भव्य हुने दावी

काठमाडौं । नेपाली काँग्रेसले देशका सबै जिल्लामा एकै समयमा चियापानको आयोजना गर्दैछ ।

कांग्रेसले यो वर्षको चियापान विगत भन्दा फरक र भव्य हुने दावी समेत गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार शुक्रबार दिउँसो १ बजे देशभर चियापान हुनेछ ।

केन्द्रमा तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मिलेर काँग्रेस मुख्यालय विपीनगर, सानेपामा विशेष चियापान कार्यक्रम आयोजना हुनेछ ।

यो विशेष चियापानका लागि १५ हजार निमन्त्रणा कार्ड बाँडिएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रतिपक्ष दलका नेता तथा कार्यकर्ता, सरकारी प्रतिनिधि, कुटनीतिक नियोगका प्रतिनिधि लगायतका लागि १५ हजार कार्ड बाँडिएको हो ।

काँग्रेसका नेता तथा कार्यकर्ताका लागि कार्ड छैन । पौडेल भन्छन् –आयोजक नै काँग्रेस भएपछि आफूलाई नै के को कार्ड । सबै आयोजक ।

पौडेलले पार्टी मुख्यालयमा हुने चियापानमा झण्डै ५० हजार जनाको सहभागीता रहने छ ।

विपीको मेलमिलाप नीति अन्तर्गत काँग्रेसले चाडपर्वको अवसर पारेर हरेक वर्ष चियापान गर्दै आएको छ ।

दशैंको पूर्णिमाका दिन हुने चियापान यसपटक भने काँग्रेसका प्रभावशाली नेता चक्रप्रसाद बास्तोलाको निधन भएका कारण पछाडि सरेको हो ।

यसकारण अहिलेसम्मकै भब्य
काँग्रेस प्रवक्ता शर्माका अनुसार ३ जिल्लाको आयोजनामा ललितपुरको सानेपामा कार्यक्रम भइरहँदा सोही समयमा बाँकी रहेका ७४ जिल्लाले सदरमुकाममा चियापानको आयोजना गर्नेछन् ।

केन्द्रमा मात्र मेलमिलापको नीति अपनाएको काँग्रेसले यसपटकदेखि स्थानीय तहलाई पनि केन्द्रबिन्दू बनाएको छ ।

प्रवक्ता शर्माले सबैलाई समेट्ने उद्धेश्यले यस पटकदेखि जिल्लाहरुमा पनि चियापान राखिएको बताए ।

उनले भने, ‘काँग्रेसले एकताको सन्देश दिनलाई नै सबै ठाउँमा एउटै समयमा चियापानको आयोजना गरेको हो ।’

कमेन्ट गर्नुहोस्