कालोपत्रेको काम सुरु भयो गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थलमा

भैरहवा, कार्तिक १३ ।

भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको कालोपत्रेको काम मंगलबारदेखि सुरु भएको छ ।

२०१९ को जुलाई १६ अघि नै संचालनमा ल्याउने लक्ष्य राखिएको विमानस्थलमा मंगलबार नेपाल सरकारको पर्यटन मन्त्री रबिन्द्र अधिकारीले पिच कामको सुरुवात गरे । विमानस्थलमा रहेको ३ किमी रन वेको सव बेस लेयर र बेस लेयर पूरा गरेर अहिले आयोजनाले पिचको काम सुरु गरेको हो ।

२०७१ माघमा सिलन्यास भएको बिमानस्थल २०७४ पुस मसान्त भित्र पूरा गर्नुपर्ने भएतापनि बिभिन्न अवरोधका कारण हुन सकेको छैन । पछिल्लो समय भने बिमानस्थलको निर्माणको काममा तीव्रता आएको छ । अहिलेसम्म बिमानस्थलमा निर्माण कार्य ५५ प्रतिशत सकिएको छ ।

विमानस्थल निर्माण कार्यअन्तरगत अहिले निर्माण भइरहेको रन वे १ दशमलव २५ मिटर उचाई, ३ हजार मिटर लम्बाई तथा ७० मिटर चौडाइको हुनेछ । चौडाइतर्फ दुवै किनारमा १५–१५ मिटर छाडिने छ । तीन हजार मिटर लामो रन वेको दुवैतिर ३००–३०० मिटर विमान सुरक्षाका लागि रन वे एण्ड सेङ्खटी एरिया (रेसा) निर्माणको पनि काम भइरहेको छ ।

सरकारले रनवे पिचको काम ६ महिना भित्र पूरा गर्न आयोजनालाई निर्देशन दिएको जानकारी मन्त्री रबिन्ı अधिकारीले दिए । पिचको काम ४ महिना भित्र पूरा गर्ने लक्ष्य रहेको जानकारी आयोजनाका निमित्त प्रमुख इन्जिनियर प्रवेश अधिकारीले जानकारी दिए । ६ महिनापछि बिमानस्थलको रनवे सकिएपछि आन्तरिक उडान सुरु हुने जानकारी मन्त्री अधिकारीले दिए । आन्तरिक उडानपछि सबै पक्रिया पूरा गरेर अन्तराष्ट्रिय उडान सुरु गर्ने उनले प्रतिबद्धता जनाए ।

मन्त्री अधिकारीले थाइलेन्ड लगायतका धेरै देशले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थनमा आउन इच्छा देखाएकोले सरकारले पनि सोही अनुरुप नयाँ सम्झौताहरु यस बिमानस्थलकै लागि भनेर पहलकदमी अघि बढाएको बताए ।

अहिले प्रशासकीय भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तराष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । कूल ६ अर्ब २२ करोड रुपैयाँ लागतको यो विमानस्थलमा एडिबीको ५४ करोड रुपैयाँ अनुदान रहेको छ । बाँकी चार अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो । विमानस्थलको निर्माणकार्य जिम्मा चिनिया ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले लिएको छ । नयाँपत्रिकाबाट

कमेन्ट गर्नुहोस्