क्षेत्रीय अस्पताललाई प्रदेश नामाकरण

सुर्खेत, कार्तिक १३ ।

प्रदेश सरकारले सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश अस्पताल बनाएको छ ।

कर्णाली प्रदेश सरकारले मध्यपश्चिम क्षेत्रीय अस्पताललाई आफू मातहत ल्याएर प्रदेश अस्पताल बनाएको हो । २०६२ फागुन ७ मा ५० शैयाको जिल्ला अस्पताललाई क्षेत्रीय अस्पतालमा विकास गरेको अस्पताललाई अहिले प्रदेश अस्पताल बनाइएको हो ।

अहिले अस्पतालले १ सय १५ शैयाबाट सेवा दिइरहेको छ । भौतिक संरचना र जनशक्तिको अभावमा चलिरहेको अस्पताललाई अब सरकारले विकास गर्ने योजना अघि सारेको छ ।

प्रदेश अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले अब प्रदेश अस्पताललाई पाँच सय शैयाको बनाउने र यसलाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । उनले अस्पतालको नाम प्रदेश अस्पताल नामकरण भएसँगै अस्पतालले दिने सेवा सुविधामा प्रभावकारी ल्याउन आफूहरु प्रतिवद्ध रहेको बताए ।

सरकारले यस आर्थिक वर्षमा कर्णालीका पाँच वटा जिल्लामा ५० शैया र पाँच वटा स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माणका लागि बजेट बिनियोजन गरिएको जानकारी दिए ।

प्रदेश अस्पतालका प्रमुख डा डम्बर खड्काले नागरिकहरुलाई सर्वसुलभमा नागरिकहरुलाई स्वास्थ्य सेवा दिनका लागि सरकारले जनशक्ति र भौतिक संरचनामा ध्यान दिन आवश्यक रहेको बताए ।

कमेन्ट गर्नुहोस्