नेपाली कामदारको सीप विकासका लागि कतारले नेपालमा कार्यालय खोल्ने

कतार, कार्तिक १३ ।

कतारले अदक्ष नेपाली कामदारको सीप विकास गर्न नेपालमा आफ्नो कार्यालय खोल्ने भएको छ ।
उक्त कार्यालयले अदक्ष कामदारलाई विभिन्न सीमपूलक तालिम दिनेछ । कार्यालयबाट नेपाली श्रमिकको छनोट, स्वास्थ्य परीक्षण र बीमालगायत एकीकृत सेवा प्रदान गरिने छ ।

कतारको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिलामन्त्री इशा बिन साद अल जफाली अल नुआइमीबीच सो विषयमा छलफल भएको छ ।

कतारमा ठूलो सङ्ख्यामा रहेका नेपाली श्रमिकका समस्या समाधानमा आफूले विशेष र गम्भीर चासो व्यक्त गरेको र कतारका मन्त्री ती समस्या समाधान गर्न अत्यन्त सकारात्मक रहेको मन्त्री ज्ञवालीले बताए ।

मन्त्री ज्ञवालीका अनुसार, मंगलबार नै नेपाल र कतारका राष्ट्राध्यक्षहरूका बीचमा समेत नेपाली श्रमिकका सुरक्षा र चासोका विषयमा सकारात्मक छलफल भएको छ । अहिले कतारमा चार लाखभन्दा बढी नेपाली श्रमिक विभिन्न क्षेत्रमा कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्