४ शहरमा १३ विद्युतीय बस सर्वसाधारणका लागि सञ्चालनमा

काठमाडौं, कार्तिक १४ ।

नेपालमा निजी तथा व्यक्तिगत प्रयोजनका लागि मात्रै प्रयोग हुँदै आएका विद्युतीय सवारीसाधन अब सर्वसाधारणले पनि प्रयोग गर्न पाउने भएका छन् ।

यातायात कम्पनीहरू सार्वजनिक विद्युतीय बसतर्फ आकर्षित हुँदै गएसँगै सुन्दर यातायात प्रालिले काठमाडौं, पोखरा, बुटवल र चितवनमा १३ ओटा विद्युतीय बस सञ्चालन गर्ने बताएको छ ।

कम्पनीका अध्यक्ष भेषबहादुर थापाले मुख्य ४ शहरमा विद्युतीय बस सञ्चालन गर्ने तयारी अनुसार पहिलो चरणमा काठमाडौंमा सञ्चालन हुने जानकारी दिए । उनले भने, ‘हामीले काठमाडौंमा ४५ सीट क्षमताका विद्युतीय बस सञ्चालन गर्ने तयारी अनुसार आफ्नै लगानीमा काठमाडौंको सीतापाइला र सुकेधारामा चार्जिङ स्टेशन स्थापना गरेका छौं ।’

उनका अनुसार १ महीनाभित्रै काठमाडौंमा विद्युतीय बस सञ्चालन हुनेछ । त्यसका लागि गृहकार्य अन्तिम चरणमा पुगेको बताइएको छ । ती बस सुन्दर यातायात कम्पनीले चीनको सेचुवाँ गोहङ अटोमोबाइल्स कम्पनी लिमिटेड (बीएके)सँग खरीद गर्न लागेको हो ।

सञ्चालन गरिने बसमध्ये तीनओटा केही दिनमै काठमाडौंमा आउने छन् भने अन्य बस निर्माणको अन्तिम चरणमा रहेका छन् । ती बस किन्न कम्पनीले रू। २० करोड १५ लाख लगानी गरेको छ । त्यसबाहेक काठमाडौंसम्म ल्याउँदा लाग्ने ढुवानी, भन्सार, भ्याट लगायत शुल्क तिर्दा कम्पनीको लगानी रू। २४ करोड ३१ लाख पुग्ने थापाले जानकारी दिए । उनका अनुसार पोखरा, चितवन र बुटवलमा भने चार्जिङ स्टेशन बनाएपछि करीब ३ महीनाभित्र ३–३ वटा बस सञ्चालन हुने छन । काठमाडौंमा ४ ओटा बस सञ्चालन हुनेछन् ।

किनिने बसमध्ये ४ ओटा ४५ र ५ ओटा ३६ सीट क्षमताका हुनेछन् । कम्पनीका अनुसार एउटा बस किन्न रू। १ करोड ५५ लाख लाग्छ । भ्याट, भन्सार र ढुवानी भाडासहित सञ्चालन गर्दासम्म एउटा बसका लागि रू. १ करोड ८७ लाख लगानी पुग्ने अध्यक्ष थापाले बताए ।

काठमाडौंका २ स्थानमा निर्माण हुँदै गरेका चार्जिङ स्टेशनमा आवश्यक पूर्वाधार निर्माणको भइरहेको छ । चार्जिङ मेशिनका लागि मात्रै रू। १२ लाख लगानी भएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार स्टेशनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्दासम्म रू. ५५ लाख लगानी हुनेछ । पछिल्लो समय साझा यातायातले विद्युतीय बस सञ्चालन गर्ने भनेर केही दिनअघि उद्घाटन गरेपनि अहिले विद्युतीय बस चार्ज गर्न काठमाडौंमा चार्जिङ स्टेशन भने छैनन् । अार्थिक अभियानबाट

कमेन्ट गर्नुहोस्