कार्यकर्ता हत्याको विरोधमा सदरमुकाम मलंगवामा कांग्रेसको विरोध प्रदर्शन

सर्लाही, कार्तिक १४ ।

सर्लाहीको रामनगर गाउँपालिकामा आफ्ना कार्यकर्तालाई गोली हानेर हत्या गरेको भन्दै कांग्रेसले मृतकलाई शहिद घोषणा र शान्ति सुरक्षाको माग गर्दै बुधबार सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गर्दैछ ।

प्रदर्शनमा सहभागी हुन नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि सर्लाही आउँदैछन्।

मंगलबार विहान सत्ता पक्ष नेकपा र नेपाली कांग्रेसको कार्यकर्ताबीच झडपको क्रममा गोली चल्दा रामनगर गाउँपालिका–४ बौहर्वाका ५५ वर्षीय रामविलास महतोको गोली लागेर मृत्यु भएको थियो।

अघिल्लो दिन वडा अध्यक्षमाथि मरणासन्न हुनेगरी कुटपीट हुनु र भोलीपल्ट उनकै काकाको हत्या हुँदा समेत प्रहरी प्रशासनले पुरै बेवास्ता गरेको कांग्रेस नेताको आरोप छ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का संघीय संसद अमरेश सिंहले मृतकलाई सहिद घोषणा, परिवारलाई उचित क्षतिपूर्ति र आक्रमणमा संलग्नलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडी नबढाएसम्म विरोध जारी राख्ने र सदरमुकाम समेत ठप्प पार्ने चेतावनी दिएका छन्।

घटनामा प्रहरी प्रशासन गम्भीर नभएकाले जिल्ला प्रहरी र जिल्ला प्रशासन घेराउ गर्ने जनाए। उनले दोषिलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडी नबढाएसम्म आफन्तले शव समेत नबुझ्ने बताएका छन् ।

घटनामा एकै पक्षका ७ जना घाइते छन् । आक्रमणकारी समूहले स्थानीयको दर्जनौं घरहरुमा समेत ढुंगामुढा प्रहार गरी तोडफोड गरेका थिए।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले घटनामा संलग्न दोषिलाई यथाशिघ्र नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडी बढाईने बताएका छन् । त्यस्तै मृतकका परिवारलाई उचित क्षतिपूर्तिका लागि समेत प्रक्रिया अगाडी बढाउने उनले बताए । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्