गुल्मीमा ३ किशोरीद्वारा विष सेवन

गुल्मी, कार्तिक १४ ।

गुल्मीको रेसुंगा नगरपालिका–१० को भगवती माध्यामिक विद्यालयका तीन छात्राले विष सेवन गरेका छन्।

कक्षा १० मा अध्ययन गर्ने सोही वडाका १६ वर्षीया समिक्षा थापा, सपना थापा र पार्वती केसीले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए ।

मुसाको विष बोतलमा घोलेर सुरुमा समिक्षाले खाएको र पछि अरु २ जना साथीहरूलाई खानेपानी भनेर खुवाएको उपरीक्षक बस्नेतले बताए । बिहान अतिरिक्त कक्षा चलिरहेको बेलामा पिसाब फेर्न भनेर बाहिर निस्किएका उनीहरुले साढे ९ बजे विष सेवन गरेको विद्यालयले जनाएको छ ।

घटनाले आफूलाई पनि दुःखित बनाएको बताउँदै प्रध्यानाध्यापक खेमराज आचार्यले एक जनाको नियतले अरु पनि फसेको बताए । ३ जनालाई नै जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार गरिी थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको प्रहरीले जनाएको छ ।

सुरुमा विष सेवन गर्ने समिक्षाले आफ्नो स्थानीय एक दलित केटासँग प्रेम सम्बन्ध रहेको र परिवारले पटक–पटक तनाव दिएपछि विष सेवन गरेको बताइन् । नयाँपत्रिकाबाट

कमेन्ट गर्नुहोस्