तिहारअघि नै पूर्णरुपमा नेप्से अनलाइन कारोबार प्रणाली लागू गर्ने

काठमाडौं, कात्तिक १४ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले तिहारअघि पूर्ण अनलाईन कारोबार प्रणाली लागू गर्ने भएको छ ।

कात्तिक १५ गते बिहीबार औपचारिकरुपमा शुरु गर्ने तयारी भएपनि केही प्रावधिक कठिनाईका कारण तोकिएको मितिमा शुरु गर्न नसकिएको नेप्सेको भनार्इ छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बिहीबारदेखि नै औपचारिकरुपमा शुरु गर्ने भनिएको अनलाईन प्रणाली सो मितिमा लागू गर्न नसकिएपनि तिहार अघि नै शुरु गर्ने विश्वास व्यक्त गरे ।

अनलाईन प्रणाली लागू गर्न आवश्यक सम्पूर्ण प्रकृया पुरा भईसकेको र औपचारिक घोषणाका लागि केहि तयारी गर्न बाँकी रहेको उनको भनाइ छ । यस अघि कात्तिक १५ गतेदेखि ब्रोकर मार्फत अनलाईन प्रणाली लागू गर्ने योजना अनुरुप ब्रोकरहरु तयारी अवस्थामा रहेको नेपाल स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले बताए ।

नेपाल स्टक एक्सचेञ्जले पूँजीबजारलाई प्रविधिमैत्री बनाई पूर्ण अनलाईन प्रणालीमार्फत लगानीकर्ताको पहुँच विस्तार गर्ने उद्देश्य सहित गत साउन १ गतेदेखि नै विभिन्न प्रकृयामार्फत अनलाईनको परिक्षण गर्दै आएको छ । पूर्ण अनलाईन लागू भए पश्चात नेपालमा बैङ्क खाता र हितग्राही खाता भएका लगानीकर्ताहरुले विश्वका कुनै पनि ठाउँबाट शेयर खरीद विक्री गर्न पाउनेछन् । आम लगानीकर्ताहरुले नेप्सले लागू गर्न लागेको पूर्ण अनलाईन कारोबार प्रणालीलाइ पूँजीबजार सुधारको सञ्जिवनी बुटीको रुपमा लिएका छन्।

अार्थिक अभियानबाट

कमेन्ट गर्नुहोस्