Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मन्त्री बिना मगरकाे पहलमा बेलौरीकाे बन्दाताल नयाँ पर्यटकीय गन्तव्यमा सूचिकृत

कञ्चनपुर, कार्तिक १६ ।

कञ्चनपुरको बेलौरीमा रहेको बन्दाताल कोटीहोम क्षेत्रलाई नेपाल सरकारको एक सय नयाँ पर्यटकीय गन्तव्य अन्तर्गत समावेबेश गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रवर्द्धन गर्नुपर्ने नयाँ एकसय वटा पर्यटकीय गन्तव्यहरुको सूचीमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. १, २ र ३ को बीचमा रहेको लगभग एक सय बिगाहा क्षेत्रफललाई पनि समेटेको हो ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा खानेपानी मन्त्री बिना मगरको विशेष पहलमा बन्दाताल पर्यटकीय गन्तव्यको सूचिमा परेको हो ।

त्यस्तै उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्न बेलौरी नगरपालिकाले समेत नगरसभाबाट नै बजेट विनियोजन गरेको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताए । पहिलो नगरसभाबाट रु. ५ लाख बजेट बिनियोजन गरेको बेलौरी नगरपालिकाले चालु आव रु. १ करोड बिनियोजन गरेको छ । आसपासमा रहेको केही जमिन अधिग्रहण गरी पर्यटकीय स्थलका रुपमा बिस्तार गर्ने योजना अनुरुप बेलौरी नगरपालिकाले डिपिआर समेत तयार गरेको नगरप्रमुख चौधरीले बताए ।

नेकपाका नेता एवं सोही क्षेत्रका स्थानीय पल्लब राज भट्टले बर्तमान सरकारद्वारा यस क्षेत्रलाई प्राप्त पहिलो ठूलो उपहारका रुपमा उक्त योजना रहेको दाबी गर्दै सफल कार्यान्वयन गरिनुपर्नेमा जोड दिए। नेपाल सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ सार्वजनिक गरेको सूचिमा कञ्चनपुरको बेलौरीमा रहेको बन्दाताल कोटीहोम क्षेत्र समेत समाबेश गरिएकोमा उनले नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरे ।

त्यस्तै, नेकपाका अर्का नेता एवं उद्योग बाणिज्य संघ बेलौरीका पूर्वअध्यक्ष यज्ञ प्रसाद कँडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सार्वजनिक गरिएको सूचीअनुसार नयाँ पर्यटकीय गन्तव्य अन्तर्गत बेलौरीको बन्दाताल कोटिहोम क्षेत्र पनि पर्नु यस क्षेत्रका जनताका लागि अहोभाग्य रहेको उल्लेख गरे । यसै क्षेत्रबाट निर्वाचित खानेपानी मन्त्री बिना मगरको महत्वपूर्ण भूमिका र बेलौरी नगरपालिका, बेलौरी उद्योग बाणिज्य संघ, यस क्षेत्रका राजनीतिक व्यक्तित्व, सञ्चारमाध्यम, विभिन्न संघसंस्था तथा सरोकारवालाको सकृयतामा बन्दाताल कोटिहोम क्षेत्र सूचीमा समावेश भएको उनको दाबी छ ।

बन्दाताल कोटिहोम संगै कञ्चनपुरको भम्केनी धाम पनि नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेको छ भने दोधारा चाँदनीलाई स्थापित पर्यटकीय गन्तब्यका रुपमा समाबेश गरेको छ । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा १० वटा नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय क्षेत्र छनौट गरिएका छन् भने १० वटा स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने पर्यटकीय क्षेत्र पनि छनौट गरिएको छ । कैलालीको घोडाघोडी ताल, टिकापुर सर्किट, भादागाउँ होम स्टेलाई स्थापित पर्यटकीय गन्तव्यमा राखिएको छ भने बर्दगोरीया मन्दीर धामलाई नयाँ पर्यटकीय गन्तब्यको सूचीमा राखिएको छ ।

डडेल्धुराको अमरगढी–उग्रतारा क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यमा राखिएको छ भने बैतडीको त्रिपुरासुन्दरी स्थापित र सिद्धनाथ–उदयदेव धार्मिक स्थल नयाँ पर्यटकीय गन्तब्यको सुचीमा समाबेश गरिएको छ ।

त्यस्तै, दार्चुलाको अपी–नाम्पा संरक्षण क्षेत्र स्थापित पर्यटकीय गन्तव्यमा राखिएको छ भने मालिकार्जुन नयाँ पर्यटकीय गन्तव्यको सुचीमा छ । अछाममा रामारोशन स्थापितको सुचीमा परेको छ भने सुर्कोट मष्टादेवी मन्दीर नयाँ पर्यटकीय गन्तब्यमा राखिएको छ । डोटीमा खप्तड र शैलेश्वरी स्थापित पर्यटकीय क्षेत्रको सुचिमा छन् भने बडिकेदार धार्मिक क्षेत्र नयाँ र विकास गरिनुपर्ने पर्यटकीय क्षेत्रको सुचीमा छ । बझाङको गोरखनाथ मन्दीर नयाँ पर्यटकीय गन्तव्यको सुचीमा परेको छ भने बाजुरामा बडिमालिका स्थापित र कोल्टी–बडिमालिका पदमार्ग विकास गरिनुपर्ने गन्तव्यमा परेको छ ।

नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सय भन्दा बढी स्थानहरु प्रस्तावित थिए तर सम्बन्धित स्थानीय सरकार, प्रदेश सरकार, प्रतिनिधि सभा सदस्यहरु र नेपाल पर्यटन बोर्डको सिफारिशमा प्रस्तावित मध्ये जम्मा एक सय वटा पर्यटकीय क्षेत्रलाई समेटेर प्रवर्द्धन गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न आधार तय गरेको थियो । मन्त्रालयका अनुसार नयाँ छनौट भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र सम्बन्धित क्षेत्रकै नागरिकहरुको सहयोगमा घुम्न योग्य बनाइने छन् ।

सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा प्रचारप्रसार, संरक्षण र विकास गरी नेपाल भ्रमण वर्ष’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवर्द्धन गर्ने योजना बनाइएको हो । नयाँ पर्यटकीय गन्तब्यको विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न सुरुवात गर्ने जनाइएको छ । नयाँ गन्तब्य प्रवर्द्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: