Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दिउँसो १ बजे कांग्रेसको केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

काठमाडौं, कार्तिक १६ ।

नेपाली कांग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ ।

हरेक वर्ष विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यसवर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधन भएका कारण शुक्रबार गर्न लागिएको पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । विगत ५ वर्षदेखि अस्वस्थ रहेका नेता बाँस्तोलाको गत असोज २७ गते निधन भएको थियो ।

चियापानमा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रणा गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

शुक्रबार केन्द्रीय कार्यालय सहित ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरिने पनि जनाएको छ ।

चियापान आज दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म ललितपुरस्थित केन्द्रीय कार्यालयमा आयोजना हुँदैछ । वि.सं. २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ भारतबाट स्वदेश फर्केपछि वि.सं. २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले उक्त कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, सञ्चारगृहका प्रतिनिधि, पत्रकार, गैरआवासीय नेपालीका संघ–संस्थाका पदाधिकारी लगायत विशिष्ट महानुभाव, कांग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने पार्टी प्रवक्ता शर्माले बताए ।

कांग्रेसले वि.सं. २०७३ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको वार्षिकी भएकाले र वि.सं. २०७४ मा निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गरेको थिएन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: