गणतन्त्रसम्म आइपुग्दा १५ सयमा ७२ मात्रै महिला मन्त्री

काठमाडौं, कार्तिक १७ । गणतन्त्र स्थापनापछि नेपालमा हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको बहस चल्यो । अन्ततः गणतान्त्रिक संविधानले नै ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गर्यो । तर, संविधानले तोकेको व्यवस्था संविधानपालक सरकारले नै कार्यान्वयन गरेको छैन । वर्तमान सरकारमै मन्त्रिपरिषद् सदस्यको कुल संख्याको १७ प्रतिशत मात्रै महिला सदस्य छन् ।

 

प्रजातन्त्र, पञ्चायत र बहुदलीय व्यवस्थामा जस्तै गणतन्त्रमा पनि महिलालाई सकेसम्म पहुँचमा पुग्नबाट रोक्ने प्रयास भएको देखिन्छ । प्रजातन्त्रदेखि गणतन्त्रसम्म करिब १५ सयको संख्यामा पुरुष मन्त्री बन्दा महिलाबाट मन्त्रीको संख्या भने ७२ मात्रै छ । ००७ देखि ०७५ सम्म को–को महिला मन्त्री बने ?

 

द्वारिकादेवी ठकुरानी महिलाबाट देशकै पहिलो मन्त्री

१३ जेठ ०१६ मा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको नेतृत्वमा सरकार गठन भयो । इतिहासमै पहिलोपटक मन्त्रिपरिषद्मा एउटी महिला अटाइन् । ती भाग्यमानी थिइन्, द्वारिकादेवी ठकुरानी । कांग्रेस राजनीतिमै सक्रिय उनी बिपी नेतृत्वको सरकारमा स्वास्थ्य र स्वायत्त शासन उपमन्त्री बनिन् । २१ सदस्यीय मन्त्रिपरिषद्मा उनी १२औं वरीयतामा थिइन् ।

दुईपटक मन्त्री दुईपटक राष्ट्रपति
देशकै पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी दुईपटक मन्त्री बनिन् । ०५३ मा एमाले–राप्रपा (चन्द) गठबन्धनपछि लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा बनेको सरकारमा उनी जनसंख्या तथा वातावरणमन्त्री बनेकी थिइन् । गणतन्त्रपछि उनले फेरि अवसर पाइन् । ०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा भण्डारी रक्षामन्त्री भइन् ।

 

जनजातिबाट पहिलो सरस्वती राई
सरस्वती राई ०३४ मा गठित कीर्तिनिधि विष्ट नेतृत्वको मन्त्रिपरिषद्मा जल तथा विद्युत् सहायकमन्त्री बनिन् । जनजातिबाट मन्त्री हुने उनी पहिलो महिला हुन् । दोस्रोपटक उनी ०३६ मा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा पनि जनस्रोत सहायकमन्त्री बनिन् ।

दिदीबहिनी बने उपप्रधानमन्त्री

प्रजातन्त्र स्थापनापछि नेपालमा शैलजा आचार्य र सुजाता कोइराला मात्रै उपप्रधानमन्त्री बने । शैलजा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी भान्जी हुन् भने सुजाता छोरी । नाताले उनीहरू दिदीबहिनी हुन् । ०५५ मा गिरिजाप्रसाद नेतृत्वकै सरकारमा शैलजा देशकै पहिलो महिला उपप्रधानमन्त्री बनेकी थिइन् । सुजातालाई पनि गिरिजाप्रसादले नै उपप्रधानमन्त्री बनाए । उनी ०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारीमा रहिन् ।

 

वर्तमान सरकारमा महिला चार मन्त्री

केपी ओली नेतृत्वको वर्तमान सरकारमा महिलाबाट चारजना मन्त्री छन् । थममाया थापा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री छिन् । मन्त्रिपरिषद्मा उनी अन्य महिलाभन्दा अगाडि छिन् । विना मगर खानेपानीमन्त्री छिन् भने पद्माकुमारी अर्याल भूमिसुधार तथा व्यवस्थामन्त्रीको जिम्मेवारीमा छिन् । रामकुमारी चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री छिन् ।

पाँचजना भए तीनपटक मन्त्री

सुशीला थापा
सुशीला थापा पञ्चायतकालकी चर्चित मन्त्री हुन् । १६ चैत ०३० मा पहिलोपटक सहायकमन्त्री बनेकी उनी १५ मंसिर ०३२ मा गठित डा। तुलसी गिरी नेतृत्वको सरकारमा राज्यमन्त्री हुँदै २६ फागुन ०४४ मा मरिचमानसिंह श्रेष्ठ नेतृत्वको सरकारमा क्याबिनेट मन्त्री बनिन् ।

 

सहाना प्रधान
बहुदल आएपछि बनेको सरकारमा महिलाबाट पहिलो मन्त्री बनिन् सहाना प्रधान । ६ वैशाख ०४७ मा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा दोस्रो वरीयतासहित उद्योग तथा वाणिज्यमन्त्री भएकी थिइन् । त्यतिवेला संयुक्त वाममोर्चाबाट सरकारमा गएकी उनी २८ फागुन ०५३ मा लोकेन्द्रबहादुर चन्दको सरकारमा वन तथा भूसंरक्षणमन्त्री र दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद नेतृत्वको अन्तरिम सरकारमा एमालेबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाइन् ।

हिसिला यमी
हाल नयाँ शक्तिकी नेतृ हिसिला यमी गिरिजाप्रसाद नेतृत्वको अन्तरिम सरकारमा भौतिक योजना तथा व्यवस्थामन्त्री बनिन् । माओवादीबाट सरकारमा जाने उनी नै पहिलो मन्त्री थिइन् । ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेकी यमीले ०६७ मा झलनाथ खनालको सरकारमा भूमिसुधार मन्त्रालय हाँकिन् ।

 

राधा ज्ञवाली
०६७ मा झलनाथ खनाल नेतृत्वकै सरकारमा राधा ज्ञवालीले एमालेबाट राज्यमन्त्रीको जिम्मेवारी पाइन् । तर, उनले अस्वीकार गरिन् । शपथ नै नलिई राजीनामा दिइन् । ०६८ डा। बाबुराम भट्टराई नेतृत्वको सरकार पुनर्गठन हुँदा ०६९ मा उर्जामन्त्री बनेकी उनी ०७० मा सुशील कोइरालाको सरकारमा पुनः ऊर्जा मन्त्रालयकै नेतृत्वमा पुगिन् ।

कमला पन्त
०५५ मा गिरिजाप्रसाद नेतृत्वको सरकारमा पहिलोपटक सहायकमन्त्री बनेकी कमला पन्त ०५६ मा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा पनि अटाइन् । महिला तथा समाजकल्याण राज्यमन्त्रीको जिम्मेवारी पाइन् । ६ वैशाख ०५७ मा पुनर्गठित गिरिजाप्रसाद नेतृत्वको सरकारमा पुनः राज्यमन्त्री बनिन् ।

 

१० जना बने दुईपटक मन्त्री
पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्यदेखि जनजातिबाट पहिलोपटक मन्त्री बनेकी सरस्वती राई, कांग्रेसकी तत्कालीन उपसभामुख चित्रलेखा यादव र माओवादी नेतृ पम्फा भुसालसम्म दुईपटक मन्त्री भएका छन् ।

 

०५५ मा उपप्रधानमन्त्री बनेकी आचार्य त्यसअघि ०४८ मा कृषिमन्त्री बनेकी थिइन् । एमालेकी अष्टलक्ष्मी शाक्य ०६१ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिलोपटक मन्त्री बनिन् । त्यतिवेला महिला, बालबालिका मन्त्रालयको जिम्मा पाएकी उनी ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा उद्योगमन्त्री बनिन् । चित्रलेखा दोस्रो जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद नेतृत्वको मन्त्रिपरिषद् हेरफेर हुँदा ८ जेठ ०६३ मा पहिलोपटक मन्त्री बनेकी हुन् । ०७० मा सुशील कोइरालाको सरकारमा उनी शिक्षामन्त्री बनिन् ।

 

दुईपटक मन्त्री बन्ने अर्की महिला हुन्, उर्मिला अर्याल । उनी पनि तत्कालीन एमालेबाट ८ जेठ ०७३ मै महिला, बालबालिका राज्यमन्त्री बनेकी हुन् । ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्री भइन् । फोरमकी रेणुकुमारी यादव २८ जेठ ०६० मा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा महिला, बालबालिकामन्त्री र ०६५ मा प्रचण्ड सरकारमा शिक्षामन्त्री बनिन् । कांग्रेसकै मीना पाण्डे ०५४ मा सूर्यबहादुर थापा नेत्तृत्वको सरकार तेस्रोपटक हेरफेर हुँदा पहिलोपटक राज्यमन्त्री बनिन् । ०५५ मा गिरिजाप्रसादको सरकारमा पुनः राज्यमन्त्रीकै अवसर पाइन् ।

 

यस्तै, नेकपा नेतृ पम्फा भुसाल तत्कालीन माओवादीबाट पहिलोपटक ०६५ मा प्रचण्ड सरकारमा मन्त्री बनिन् । दोस्रोपटक मन्त्री हुने अवसर झलनाथ खनालको सरकार ०६८ मा पुनर्गठन हुँदा मिल्यो । यतिवेला शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् । राप्रपाकी कुन्तीकुमारी शाही पनि दुईपटक मन्त्री बनेकी छिन् । ०७२ मा केपी ओली नेतृत्वको सरकारमा पहिलोपटक राज्यमन्त्री बनेकी थिइन् । २४ जेठ ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पुनः राज्यमन्त्री बनिन् ।

जसले एकपटक मौका पाए
एकपटक मन्त्री बन्नेमा कांग्रेस नेतृ सुजाता कोइराला र पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीलगायत धेरै छन् । कल्पना विष्ट पञ्चायतकालकी मन्त्री हुन् । ०३६ मा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा शिक्षा सहायकमन्त्री थिइन् । यही सरकार पुनर्गठन हुँदा ०३८ मा भद्रकुमारी घले श्रम तथा सामाजिक राज्यमन्त्री बनिन् ।

 

०४० मा लोकन्द्रबहादुर चन्द सरकारमा विद्यादेवी देवकोटा स्वास्थ्य सहायकमन्त्रीकी रूपमा मन्त्रिपरिषद्मा अटाइन् । यस्तै ०४३ मा मरिचमानसिंह श्रेष्ठ नेतृत्वको सरकारमा चन्दा शाह आवास सहायकमन्त्री बनिन् । यस्तै कांग्रेसकी लीला कोइराला ०५२ मा शेरबहादुर देउवाको सरकारमा महिला तथा समाजकल्याणमन्त्री बनिन् । कांग्रेसकै सुशीला स्वाँर ०५८ मा देउवा नेतृत्वकै सरकारमा महिला, बालबालिका राज्यमन्त्री तथा साबित्री बोगटी भौतिक योजना तथा निर्माण सहायकमन्त्री भइन् ।

 

यस्तै माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला तत्कालीन राजा ज्ञानेन्द्रको १८ असोज ०५९ को कदमपछि बनेको लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा महिला, बालबालिका सहायकमन्त्री बनिन् । अहिले उनी प्रदेश ३ की प्रमुख छिन् । राप्रपाकी प्रतिभा राणा ०६१ मा ज्वाइँ शेरबहादुर देउवा नेतृत्वको सरकारमा विज्ञान तथा प्रविधि राज्यमन्त्री भएकी थिइन् । यही सरकारमा भीमकुमारी बुढामगर पर्यटन सहायकमन्त्री बनिन् ।

 

दुर्गा श्रेष्ठ राजा ज्ञानेन्द्रले आफ्नै अध्यक्षतामा बनाएको मन्त्रिमण्डलकी एक मात्र क्याबिनेट मन्त्री हुन् । महिला तथा समाजकल्याण मन्त्रालयको जिम्मा थियो । उक्त मन्त्रिमण्डल हेरफेर हुँदा ३० असार ०६२ मा याङकिला शेर्पा स्वास्थ्य राज्यमन्त्री बनिन् । यस्तै २२ मंसिरमा दोस्रोपटक पुनर्गठन हुँदा डा। दुर्गा पोखरेल पनि महिला, बालबालिका राज्यमन्त्रीकी रूपमा मन्त्रिमण्डलमा अटाइन् । यही वेला रोशना कार्की पनि स्थानीय विकास सहायकमन्त्री बनिन् ।

 

फोरम लोकतान्त्रिककी करिमा वेगम ०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री बनिन् । कलावतीदेवी दुसाध र चन्दा चौधरी पनि सहायकमन्त्री बने । जयपुरी घर्ती ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा महिला, बालबालिकामन्त्री बनिन् भने यही सरकारमा भगवती चौधरी पनि वन राज्यमन्त्रीकी रूपमा अटाइन् । माओवादीकी देवी खड्काले भौतिक योजना राज्यमन्त्रीको जिम्मेवारी पाइन् । धर्मशीला चापागाईं पनि स्वास्थ्य राज्यमन्त्री बनिन् । ०६८ मा खनालको सरकार पुनर्गठन हुँदा ओनसरी घर्ती युवा तथा खेलकुदमन्त्री बनिन् । उनी देशकै पहिलो महिला सभामुख पनि हुन् ।

 

०६८ मा बाबुराम भट्टराई नेतृत्वको सरकार चौथोपटक हेरफेर हुँदा फोरमकी सरिता गिरी श्रम तथा यातायातमन्त्री बनिन् । त्यसैवेला माओवादीकी कल्पना धमला विज्ञान तथा प्रविधिमन्त्री तथा सत्या पहाडी शान्ति तथा पुनर्निर्माणमन्त्री भए । लीला भण्डारीलाई बाबुरामले शिक्षा राज्यमन्त्री बनाए । ज्वाला साह भूमिसुधार राज्यमन्त्री, सुषमा शर्मा संघीय मामिला राज्यमन्त्री, सुनिताकुमारी महतो सामान्य प्रशासन राज्यमन्त्री, दुर्गादेवी महतो दुर्गादेवी महतो ९धानुक० वातावरण राज्यमन्त्री, काशीदेवी झा कानुन तथा न्याय राज्यमन्त्री र रमणी राम सिँचाइ राज्यमन्त्री बनिन् ।

 

पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा ०६९ मा गठित सरकारमा महिला, बालबालिका तथा समाजकल्याण र भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी ऋद्धिबाबा प्रधानले पाइन् । यस्तै ०७० को सुशील कोइराला नेतृत्वको सरकारमा नीलम केसी ९खड्का० महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बनिन् ।

 

शान्ता मानवी ०७२ मा केपी ओली नेतृत्वको सरकारमा पशुपक्षी विकासमन्त्री, रेखा शर्मा सामान्य प्रशासनमन्त्री, नरदेवी पुनमगर पशुपक्षी विकास राज्यमन्त्री र मञ्जुकुमारी चौधरी सहरी विकास राज्यमन्त्री भए । यसैगरी २० साउन ०७३ मा प्रचण्ड नेतृत्वको सरकार तेस्रोपटक हेरफेर हुँदा कांग्रेसकी सीतादेवी यादव शान्ति तथा पुनर्निर्माणमन्त्री बनिन् । २४ जेठ ०७४ मा देउवा सरकारमा अम्बिका बस्नेत सहकारी तथा गरिबी निवारणमन्त्री भइन् भने आशा कोइराला महिला, बालबालिकामन्त्री बनिन् ।

 

मिथिला चौधरी जनसंख्या तथा वातावरणमन्त्री बन्दा गोमा कुँवर विनाविभागीय राज्यमन्त्री थिइन् । यही जम्बो सरकारमा सीता गुरुङ पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीकी रूपमा अटाइन् । यस्तै, सरिता प्रसाईं कृषि विकास राज्यमन्त्री, चम्पादेवी खड्का सहरी तथा गरिबी राज्यमन्त्री, सुमित्रा थरुनी पर्यटन राज्यमन्त्री, यशोदाकुमारी लामा भूमिसुधार राज्यमन्त्री, कमलादेवी शर्मा, वन राज्यमन्त्री र कान्ता भट्टराई महिला, बालबालिका राज्यमन्त्री बने ।

 

देउवा र बाबुराम कालमा सबैभन्दा धेरै
०७४ को शेरबहादुर देउवा र ०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा सबैभन्दा धेरै १२-१२ जना महिला मन्त्री नियुक्त भए ।

 

पहिलो कम्युनिस्ट सरकारमा महिला शून्य
०५१ सालमा तत्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा पहिलो कम्युनिस्ट सरकार बन्यो । तर, सरकारमा एकजना पनि महिला सहभागिता गराइएन । मन्त्रिपरिषद् १५ सदस्यीय थियो । नयाँ पत्रिकाबाट साभार

कमेन्ट गर्नुहोस्