Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काग तिहार, धनतेरस र धन्वन्तरी जयन्ती आजै

काठमाडौं, कार्तिक १९ ।

आज कार्तिक कृष्ण त्रयोदशी अर्थात काग तिहार । आजका दिनदेखि यम पंचक सुरु भएको मानिन्छ । आज संदेश्वाहकको रूपमा कागको पूजा गर्ने चलन रहेको छ ।

त्यस्तै आजैका दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरी उत्पत्ति भएको मानिन्छ । आज यही सम्झनामा धन्वन्तरी दिवस मनाइने समेत प्रचलन रहेको छ ।

देव र असुर मिली समुन्द्र मन्थन गर्दा विभिन्न रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीकै दिन अमृत कलश लिएर धन्वन्तरीको उत्पत्ति भएको वैदिक हिन्दू शास्त्रमा उल्लेख छ ।

१९७४ सालमा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् रुपमा धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ ।

हातमा वैदिक हिन्दू दर्शनका चार वेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

धन्वन्तरि जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ।

आजै धनतेरस पनि 

कात्तिक कृष्ण त्रयोदशीका दिन आज देवताहरूका कोषाध्यक्ष कुबेरको पूजा गर्दै धनतेरस पनि मनाइने गरेको छ । यस दिन सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ। धनतेरससमेत भनिने आजका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन छ।

यमपञ्चकको पहिलो दिन सोमबार साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान गरिन्छ। यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए।

रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: