Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रोफेसनल जुवाडे मोबाइल शैलीमा खेल्छन्– प्रहरी प्रवक्ता बोगटी

काठमाडौं, कार्तिक १९ । नेपालीको महान पर्वमध्ये तिहार नेपालीहरुको घरआँगनमै आई पुगेको छ । तिहार खुसीको पर्व हो । अधिकांश नेपालीको रोजाइमा तिहार पहिलो स्थानमा पर्छ । यो पर्वमा मिठो खाने कुरा त पाक्छ नै । अन्य विभिन्न प्रकारको रमाइलो पनि गर्न पाइन्छ । तिहारमा रमाइलो त गरिन्छ नै कतै नरमाइलो पनि ।

 

नरमाइलो के भने जुवातास । उसो त तिहार अघिपछि पनि जुवातास खेल्ने गरिन्छ । तर, तिहारको मौकामा बढी खेल्ने र खेलाइने गरिन्छ । धेरैले रमाइलोका लागि खेल्ने गरे पनि पछिल्ला वर्षमा विकृतीका रुपमा तिहारमा जुवातास खेल्ने प्रवृति बढिरहेको छ । यसैबीच, प्रस्तुत छ महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीसँग जुवाडेका प्रकारबारे र जुवा खेल्ने क्रम कस्तो छ भन्ने विषयमा गरिएको कुराकानी

 

अहिले जुवा खेल्ने ट्रेण्ड कस्तो देखिन्छ ?

अहिले जुवाको विभिन्न भेराइटिज देखिएको छ । जस्तै चाडबाडको समयमा खेलिने जुवा, मनोरन्जनका लागि खेलिने जुवा, संगठित रूपमा ठूलो सम्पत्ति हारजितका लागि खेलिने जुवा आदि । दसैं तिहारमा सबैको विदा हुने, चाडबाडको बेला मनोरन्जन पनि हुने भएकाले यतिबेला बढी जुवा खेलिन्छ । क्यासिनोहरूमा नेपालीलाई प्रवेश निषेध गरिएपछि त्यहाँ रमाउनेहरू पनि संगठित रूपमा सुरक्षित स्थल खडा गरेर जुवा सञ्चालनमा लागेको पाइएको छ ।

 

नेपाली जुवाडेहरू कस्ता प्रकृतिका छन् ?

मनोरन्जनका लागि चाडबाडमा जुवा खेल्नेहरूमा सबै प्रकारका मानिस छन् । यसलाई हामीले सामान्य प्रकृतिको जुवाका रूपमा लिएका छौं । असामान्य प्रकृतिको जुवा भनेको जितहारका लागि ठूलो रकम र सम्पत्ति दाउमा राखेर खेलिने जुवा हो । यसमा प्रोफेसनल जुवाडेहरू नै संलग्न हुन्छन् । प्रोफेसनल जुवाडेमा घरजग्गा व्यवसायमा संलग्नहरू, होटल–रेस्टुराँ व्यवसायमा संलग्नहरू, ठेकेदारहरू तथा गिटी–बालुवा व्यवसायमा संलग्नहरूको बाहुल्यता देखिन्छ । कहीँकतै राजनीतिमा संलग्नहरू पनि प्रोफेसनल जुवाडेका रूपमा फेला परेका छन् । नेपाली जुवाडेहरू कस्तासम्म भेटिएका छन् भने कतिले गाडी, घरबार पनि जुवामै समाप्त पारेका छन् ।

 

काठमाडौं उपत्यकामा कसरी संगठित जुवा खेलाइन्छ ?

जुवा खेल्ने मानिसहरूलाई पनि थाहा नहुने ठाउँमा फल्याट बुक गरिन्छ । त्यो जुवा खेलाउनका लागि सम्पर्क व्यक्ति अथवा एकजना एजेन्ट हुन्छ । ती एजेन्टले आफ्नो सम्पर्कमा रहेका जुवाडेहरूसँग सम्पर्क गर्छ । जुवाडेहरू एजेन्टले बोलाएको ठाउँमा आउँछन् र जुवा चल्छ । त्यो जुवा खेलाएको ठाउँ प्रहरीको नजरमा पर्न सक्छ वा थ्रेट हुन सक्छ भन्ने लाग्यो भने उनीहरू ठाउँ फेर्छन् । पेसेवर जुवाडेहरूले मोबाइल शैलीमा विभिन्न ठाउँ परिवर्तन गर्दै जुवा खेलाउँछन् । यस्ता जुवाडेहरूको काम विहानदेखि बेलुकासम्मै जुवा खेल्ने मात्र हुन्छ । यसलाई हामी अर्गनाइजड जुवा पनि भन्छौ ।

 

छापा हान्ने क्रममा जुवाको खालबाट अहिलेसम्म बरामद भएको सबैभन्दा ठूलो रकम कति हो ?

जुवाको अप्रेसन एकदमै चुनौतीपूर्ण छ । जुवालाई हामीले सामाजिक अपराधको पहिलो स्टेजका रूपमा लिएका छौं । जुवाबाटै विभिन्न किसिमका अपराध जन्मन सक्छन् । हारजितमा मानिसको घरबार उडन सक्ने, सडकमा आउन सक्ने, दुव्र्यसनमा फस्न सक्ने, जाँड–रक्सी खान सक्ने अथवा ठूलो रकमको कारोबार हुन सक्ने वा अन्य ठूला अपराध सिर्जना हुन सक्ने भएकाले जुवालाई आचरण विरुद्ध वा नैतिकता विरुद्धको सामाजिक अपराधका रूपमा लिइएको हो । जुवाको अप्रेसन गर्नु आफैमा जोमिखपूर्ण र चुनौतीपूर्ण किन छ भन्दा जुवाडेहरूले पनि आफ्नो सेक्युरिटी प्लान बनाएका हुन्छन् । सुराकी राख्ने, च्यानल गेटहरू बन्द गर्नेजस्ता काम गरेका हुन्छन् ।

 

अहिलेको ट्रेण्ड हेर्ने हो भने चारतलामाथि गएर जुवा खेलिन्छ मेनगेटबाट नै चार–पाँचवटा च्यानल गेट बनाएर ती सबै गेट बन्द गरी जुवा खेलाइन्छ, प्रहरी चारवटा गेट काट्दै चौथो तलासम्म पुग्दा निकै समय लाग्छ, त्यो बेलासम्म नजिकै जोडिएको घरमा जम्प गरेर भाग्ने अथवा त्यहाँ रहेका जुवाजन्य प्रमाणहरू नष्ट गर्ने, ट्वाइलेटमा फ्लस गरेर फाल्ने, पोल्ने अथवा चपाएर निल्नेजस्ता काम गर्छन् । यिनै कारणले जुन मात्रामा हामीले पैसा र सामान बरामद गर्नुपथ्र्यो, त्यो मात्रामा बरामद गर्न नसकेको अवस्था छ । कान्तिपुर साप्ताहिकबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: