Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पशुपतिको नयाँ धर्मशाला व्यापारिक प्रयोजनमा ठेक्कामा दिइँदै

पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने तीर्थालुका लागि भारत सरकारले बनाइदिएको धर्मशाला व्यापारिक प्रयोजनमा लगाउन टेन्डर खोल्ने तयारी भइरहेको छ । उक्त धर्मशालाको स्वामित्व रहेको पशुपति क्षेत्र विकास कोषले टेन्डर खोल्ने अन्तिम तयारीमा रहेको जनाएको हो ।

कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले धर्मशाला सञ्चालनका लागि टेन्डर आह्वानको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘हामीकहाँ सुविधासम्पन्न धर्मशाला छ । यसको निर्माण कार्य लगभग सकिएको छ । साता दिनभित्र ठेकेदारले हामीलाई हस्तान्तरण गर्नेछन् । यही अविधिमा टेन्डर पनि निस्कनेछ । प्रतिस्पर्धामा जसको दर रेट धेरै हुन्छ उसैलाई धर्मशाला सञ्चालन गर्न दिइनेछ,’ उप्रेतीले भने ।

नेपाल सरकार मातहत रहेको नेपाल एकेडमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्टले दिएको प्रतिवेदनका आधारमा धर्मशाला निजी कम्पनीलाई दिन लागिएको हो । प्रतिवेदनमा धर्मशालाका स्विट रुमको प्रतिरात पाँच हजार रुपैयाँ लिने दर रेट तोकिएको छ । त्यस्तै, डबल बेडसहितको कोठालाई प्रतिरात २२ सय रुपैयाँ र साधारण कोठाको प्रतिबेड तीन सय ५० रुपैयाँ दर राखिएको छ । यही दर रेटका आधारमा टेन्डर आह्वानको तयारी गरिएको उप्रेतीले बताए ।

‘धर्मशाला सञ्चालनको अनुभव कोषसँग छैन । त्यसैले निजी कम्पनीलाई नै दिने हो कि भन्ने प्रसंग उठ्यो । यसका लागि अपरेटिङका केही आधार आवश्यक हुने देखियो । हामीले नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्टलाई भन्यौँ । अध्ययनपछि उसले केही आधार दियो र हामी टेन्डर खोल्दै छौँ,’ कार्यकारी निर्देशक उप्रेतीले बताए ।

धर्मशाला तारे होटेलजस्तो भएकाले सोही गुणस्तरमा सञ्चालन गर्न ठूलो संख्यामा दक्ष कर्मचारी चाहिने, तर आफूसँग सो सामथ्र्य नभएको कोषले जनाएको छ । धर्मशाला सञ्चालनका लागि ६० भन्दा धेरै कर्मचारी चाहिने उप्रेती बताउँछन् ।

‘धर्मशाला तारे होटेलजस्तो बनेको छ । सोही स्तरमा चलाउन दक्ष जनशक्ति चाहिन्छ, तर कोषसँग छैनन् । कोष आफैँले धर्मशाला सञ्चालन गर्दा पनि आउटसोर्स नै प्रयोग गर्ने हो । त्यसो हुँदा एकपटक निजी कम्पनीलाई दिऔँ, परिणाम के हुँदो रहेछ, हेरौँ । चित्त नबुझे पुनर्विचार गर्न सकिन्छ ।’

पशुपति क्षेत्र विकास कोषका अनुसार धर्मशाला भारत सरकारको २१ करोड रुपैयाँ आर्थिक सहयोगमा बनेको हो । कोषको १९ रोपनी जग्गामा बनेको धर्मशालामा सुविधासम्पन्न तीन सय ८८ कोठा छन् । जसमा स्विट रुम र डबल बेडरुम चार–चारवटा छन् । अरू साधारण बेडरुम छन् । १५ भदौमा सम्पन्न बिमस्टेक सम्मेलनमा नेपाल आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मशालाको संयुक्त उद्घाटन गरेका थिए ।

नयाँ पत्रिकाबाट

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: