Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

तिहारमा यस्तो छ काठमाडौंको सुरक्षा व्यवस्था, निष्ठापूर्वक काम नगर्ने प्रहरीलाई कार्वाही हुने

काठमाडौँ, कात्तिक २१ गते । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चाडबाडलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताउनुभएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मङ्गलबार नयाँ बसपार्कमा आयोजना गरेको ‘अपराध न्यूनीकरणमा समुदायको सहकार्य’ विषयक कार्यक्रममा उहाँले चाडबाडका समयमा हुने अपराधलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताउनुभएको हो ।

“समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरी र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छौँ”, उहाँले भन्नुभयो । प्रहरी सङ्गठनभित्र निष्ठा र इमान्दारीका साथ काम नगर्ने प्रहरीलाई कारवाही गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले बसपार्क क्षेत्रमा हुने अपराधका घटनालाई न्यूनीकरण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै यसका लागि समाजको सहयोग आवश्यक रहेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले समाजमा हुने अपराध नियन्त्रणका लागि समुदायको महत्वपूर्ण भूमिका रहेको बताउँदै सबै मिलेर अपराध नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

टोखा नगरपालिका–१० का अध्यक्ष मधुसुदन भट्टराईले प्रहरीले ल्याएको ‘प्रहरी–समुदाय साझेदारी’ कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको भन्नुभयो ।

सामुदायिक सेवा केन्द्र गोंगबुका कार्यवाहक अध्यक्ष शैलेश कार्कीले गोंगबु क्षेत्रमा हुने अपराध नियन्त्रणका केन्द्रले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै ‘प्रहरी–समुदाय साझेदारी’ कार्यक्रमलाई कार्यान्वयन गर्न केन्द्रले लागिपर्ने बताउनुभयो । (रासस)

कमेन्ट गर्नुहोस्

%d bloggers like this: