Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उज्यालो युगका नायक कुलमानलार्इ जनमनको सलाम

काठमाडौं, कार्तिक २१ । मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु । पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमान्ड साइड म्यानेजमेन्ट’ विषयमै शोध गरेका घिसिङसँग लोडसेडिङ अन्त्य गर्ने प्राविधिक सुझबुझसमेत थियो ।

 

उनले सूत्रसमेत मनमनै पहिल्याएका थिए । तर, आफू प्राधिकरणको कार्यकारी प्रमुख नभएसम्म उनी लोडसेडिङ अन्त्य गर्ने आफ्ना सूत्रहरू कार्यान्वयनमा लान सक्ने अवस्थामा थिएनन् । त्यसैले सार्वजनिक पनि गरेनन् ।

 

०५१ मा घिसिङ इन्जिनियर पदबाट प्राधिकरणको सेवा प्रवेश गर्दा देशमा रोग, भोक र शोक अन्त्य गर्ने भन्दै माओवादीले सशस्त्र राजनीतिक द्वन्द्व सुरु गरेको थियो । तर, त्यही द्वन्द्वका कारण देशमा दशकसम्म आर्थिक गतिविधि ठप्पप्रायः हुन गयो ।

 

०६३ पछि दशक लामो आन्तरिक द्वन्द्व व्यवस्थापन भयो । औद्योगिक–व्यावसायिक गतिविधि बढ्न थाले । जनसंख्या वृद्धि र बस्ती विस्तारमा आएको तीव्रतासँगै देशमा विद्युत् माग बढ्दै आयो । तर, विद्युत् उत्पादनको शताब्दीसम्म पनि देशको माग धान्न सक्ने गरी देशमा विद्युत् उत्पादन हुन सकेन । माग बढ्दै गयो, विद्युत् उत्पादन बढेन । यसले जडित वितरण प्रणालीमै पनि विद्युत् आपूर्ति पर्याप्त हुन सकेन भने विद्युतीकरण गर्नुपर्ने क्षेत्र र धेरैजसो ठाउँहरू विद्युत्सेवाविहीन बनिरहेका थिए ।

 

कहालीलाग्दो विगत
अवस्था यतिसम्म नाजुक बन्यो कि दिनको १८ घन्टासम्म पनि विद्युत् कटौती हुन थाल्यो । इन्भर्टर, ब्याट्री, पावर जेनेरेटर मेसिनजस्ता उपकरणका उत्पादक र वितरकको व्यापार फस्टाउन थाल्यो । लोडसेडिङको तालिका प्रकाशनप्रसारणमा सञ्चारमाध्यमहरूको होड चल्न थाल्यो । मोबाइल चार्ज गर्न पनि लोडसेडिङको तालिका कण्ठ गरेर बस्नुपर्ने अवस्था निम्तियो । हिउँद र वर्षायाममा हुने विद्युत्को उच्च माग र आपूर्तिको सही अनुमान गरेर लोडसेडिङ गर्नुपर्ने अवधि (घन्टा) को भविष्यवाणी गर्न सक्ने प्राधिकरणका अधिकारी नै ‘हिरो’ हुने र सञ्चारमाध्यममा छाउने अवस्था बन्यो ।

 

घिसिङ अहिले झल्झली सम्झन्छन्, लोडसेडिङको तालिका अगाडि राखेर वितरण केन्द्रमा बस्ने दुई तहका कर्मचारीले विद्युत् काट्थे । बलिरहेको बिजुली झ्याप्प जाँदा गाउँ–बस्ती र जगतै अन्धकारमा डुब्थ्यो । कतिपय गाउँबस्ती र सहरका सर्वसाधारण आक्रोशले चिच्याउँथे । अनि, मैनबत्ती र टुकीको पिलपिल उज्यालो चिर्दै बस्ती नै उज्यालो हुने गरी बिजुली झुलुक्क आउँदा पनि सर्वसाधारण खुसीले चिच्याउँथे ।

 

प्राधिकरणको वितरण केन्द्रमा बसेर विद्युत् काट्ने कर्मचारीलाई सर्वसाधारणको आक्रोश र खुसीसँग के वास्ता ? ऊ त आफ्नो ‘ड्युटी’ पूरा गरिरहेको हुन्थ्यो । यसरी विद्युत् काट्दा रातमा झन्डै दुई सय मेगावाटसम्म पनि विद्युत् बचत हुन्थ्यो । घरायसी उपभोक्ताका लागि विद्युत् कटौती गर्दा कतिपय औद्योगिक प्रतिष्ठानले चौबिसै घन्टा बिजुली पाउँथे ।

 

भारप्रेषण केन्द्रले दिएको लोडसेडिङ तालिकालाई प्राधिकरणका कार्यकारी निर्देशकले सहीछाप गरेर लोडसेडिङलाई अनुमोदन गर्ने प्रवृत्ति हाबी हुँदै गयो । लोडसेडिङ अन्त्य गर्नु असम्भव मानियो । प्राधिकरणले नै ०७३ सम्म विद्युत् माग बढेर १८ सय मेगावाटसम्म पुग्ने भविष्यवाणी गर्यो । यद्यपि, अहिले लोडसेडिङ नहुँदाको उच्च माग १३ सय मेगावाटभित्रै सीमित छ ।

 

झन् पछि झन् देश चरम ऊर्जा संकटतर्फ धकेलिँदै थियो । ऊर्जा संकट निवारणका लागि १० वर्षे कार्ययोजनादेखि ऊर्जा संकटकाल लगाउनेसम्मका नीतिहरू सरकारले ल्यायो । तर, पनि फलीभूत हुन सकिरहेको थिएन । त्यसताका घिसिङ विद्युत् विकासको ‘रोल मोडल’ मानिएको चिलिमे हाइड्रो पावर कम्पनीका प्रमुख थिए ।

 

चिलिमेकै आम्दानीले सहायक कम्पनी स्थापना गरी अन्य आयोजनामा समेत चिलिमेले लगानी गर्ने अवस्थामा उनले कम्पनीलाई पुर्याए । तर, राम्ररी अघि बढिरहेको चिलिमे कम्पनीबाट उनलाई तत्कालीन सरकारले प्राधिकरणमै फिर्ता बोलायो । त्यसको झन्डै दुई वर्षसम्म घिसिङ जिम्मेवारीविहीन बनाइए । यसमा उनकै असन्तुष्टि पनि केही हदसम्म जिम्मेवार नभएको भने होइन । अन्ततः सही मानिसले सही पद र जिम्मेवारी पाए । ०७३ भदौमा घिसिङ प्राधिकरणको ११ तहको कार्यकारी निर्देशक पदमा नियुक्त भए ।

 

अँध्यारो युगको अन्त्य
देशबाट अँध्यारो युगको अन्त्य भएको छ । तिहारको दीपावली देशैभर विजुली बत्तीको झिलिमिलिमा मनाउन सकिने भएको छ । घिसिङले भने तेस्रो लक्ष्मी पूजा (बुधबार) को दीपावली पनि स्युचाटारमै बसेर लोड व्यवस्थापन गरेर मनाउँदै छन् । देशभर लोडसेडिङ अन्त्य भएको सन्देश दिँदै यस वर्षबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा समेत रंगीचंगी बत्ती बालेर झिलिमिली पारेका छन् ।

 

कुलमानलाई जनमनको सलाम
लोडसेडिङ अन्त्य गरेरपछि कार्यकारी निर्देशक घिसिङप्रति आम नेपाली निकै कृतज्ञ देखिएका छन् । घिसिङ सम्झन्छन्, ‘एक पटक सुन्दरीजलमा कार्यक्रम थियो । त्यहाँ जाँदा स्थानीयले बाजागाजासहित सम्मान गरे । तर आफूलाई अप्ठ्यारो महसुस भयो । आफ्नो जन्म गाउँ रामेछापको बेथान जाँदा स्थानीयले अभिनन्दन गरे । अस्वीकार गर्दा गर्दै पर्नि देशका विभिन्न ठाउँबाट नागरिक अभिनन्दनका प्रस्तावहरू आए ।’ नयाँ पत्रिकाबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: