Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

श्रीमतीसँग सम्बन्धविच्छेद गर्न नदिएको रिसमा घर छोडेर हिँडे लालु प्रसाद यादवका छोरा

पटना, बिहारका पूर्व मुख्यमन्त्री तथा केन्द्रीय रेलमन्त्री समेत रहेका चर्चित नेता लालु प्रसाद यादवको परिवारमा तनाव बढेर गएको छ ।

परिवारले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न नदिएको भन्दै लालु यादवका छोरा तथा पूर्व स्वास्थ्यमन्त्री तेज प्रसाद यादव घर छोडेर हिँडेका छन् । पाँच दिनसम्म वेपत्ता रहेका तेजप्रसाद अहिले भने हरिद्वारमा भेटिएको खबर सार्वजनिक भएको छ । ।

भारतीय समाचारमाध्यमहरुका अनुसार, तेजप्रसादले ६ महिना अघि गत मईमा बिहे गरेका थिए । बिहेपछि निकै खुसी देखिएका तेजप्रसादले श्रीमतीसँग कुरा नमिलेको भन्दै अदालतमा सम्बन्धविच्छेदका लागि अपील दायर समेत गरेपछि तनाव बढेको हो ।

चारा घोटाला काण्डमा जेल सजाय भोगिरहेका लालु यादव र उनकी श्रीमती तथा पूर्व मुख्यमन्त्री राबडी देवीले छोरा तेजप्रसादको निर्णय मानेका छैनन् ।

पारिवारिक कारणले राजनीतिक भविष्यमा समेत समस्या हुने भन्दै लालु यादवले सम्झाउन खोजेका थिए ।

यही विवादबीच परिवारले श्रीमती ऐश्वर्या रायको साथ दिन खोजेको भन्दै तेजप्रसाद हराएका थिए ।

परिवारले श्रीमतीसँग सम्बन्धविच्छेदका लागि सहमति नदिएसम्म घर नफर्किने कडा अडान उनले राखेका छन् ।

लालु यादव यतिखेर राँचीमा उपचार गरिरहेका छन् ।

यता राबडी देबी पनि छोराले बुहारीसँग सम्बन्धविच्छेद गर्न चाहेपछि बिरामी भएको समाचारमा उल्लेख छ ।

आफ्ना अनौठा बानीका कारण चर्चामा रहँदै आएका पूर्व स्वास्थ्यमन्त्री तेजप्रसादलाई श्रीमतीसँग कुन कुरामा झगडा भयो भन्ने कुरा सार्वजनिक भएको छैन । यद्यपी केही मिडियाले भने एकजना तान्त्रिकको सल्लाह अनुसार उनले सम्बन्ध विच्छेद गर्न खोजेको उल्लेख गरेको छ । तेजप्रसादले भने श्रीमतीले परिवारलाई पाखे, गवाँर भनेर हेप्ने गरेको आरोप लगाएका छन् ।

बिहारमा लालु प्रसाद यादवको परिवारलाई निकै शक्तिशाली परिवारको रुपमा लिइन्छ । लालु यादवमाथि भ्रष्टाचारको आरोपमा मुद्दा चलेपछि उनको बिरासत छोराहरुले सम्हालेका थिए ।

यद्यपी अहिले परिवारमा आएको संकटले भने लालु यादवको युगको समाप्ती त हुने हैन भन्ने टिप्पणी समेत सुनिएको छ । धार्मिक स्वभावका तेज प्रसाद बिहारका आम युवाहरुमाझ निकै लोकप्रिय मानिन्छन् । अहिले भने कसैले आफूलाई साथ नदिएको उनले गुनासो गरेका छन् ।

पटना निवासी ऐश्वर्या राय जनता दल सांसदकी छोरी हुन । उनले दिल्लीबाट एमबीए गरेकी छिन् । उनको भनाई यो सबै प्रकरणमा सार्वजनिक भएको छैन ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: