Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कांग्रेसमा एकता र मेलमिलाप आवश्यकः सभापति देउवा

काठमाडौं, कार्तिक २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप आवश्यक रहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाजले काङ्ग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको ४१औं स्मृति दिवसमा प्रकाशित गरेको मुखपत्र ‘चिन्तन’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यक रहेको बताएका हुन् ।

नेपालको प्रजातान्त्रिक र समाजवादी आन्दोलनमा सुवर्ण शमशेरको योगदान स्मरणीय रहेको उल्लेख गर्दै उनले बिपी र सुवर्ण शमशेरले स्थापना गरेको मान्यता नै काङ्ग्रेसको मार्गदर्शक नीति भएको बताए । सुवर्ण शमशेरको योगदानको विषयमा थप अनुसन्धान हुनुपर्ने बताउँदै सभापति देउवाले त्यो काम पार्टीले गर्ने जानकारी दिए ।

कार्यक्रमका विशिष्ट अतिथि काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुवर्ण शमशेरले सङ्घर्षको अवस्थामा पनि पार्टीलाई नीति र विधिअनुसार सञ्चालन गरेको स्मरण गरे । काङ्गेसमा एकता आवश्यक रहेको भन्दै नेता पौडेलले मुलुकको वर्तमान गम्भीर परिस्थितिलाई काङ्ग्रेसले आँकलन गर्न नसकेको र स्थिति यस्तै रहने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनमा थप जटिलता आउने चेतावनी दिए ।

सोही कार्यक्रममा काङ्ग्रेस नेता अर्जुन नरसिंह केसीले पार्टीभित्र विवाद र बहस हुनु स्वभाविक हो, त्यसलाई व्यवस्थापन गर्ने दायित्व नेतृत्वले पूरा गर्नुपर्नेमा जोड दिए । उनले सुवर्ण शमशेर राजनीतिका कुशल सञ्चालक र अर्थतन्त्रका सफल व्यवस्थापक भएको बताए । सोही अवसरमा पूर्वसभामुख तारानाथ रानाभाटले बिपी र सुवर्णजीले देखाएको मार्गबाट विचलित हुँदा नै काङ्ग्रेस कमजोर भएको दाबी गरे । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: