Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

२ लाख ५० हजार ढुवानी तिरेर पहिलोपटक सरकारी गाडी पुग्यो हुम्लामा

हुम्लामा पहिलोपटक सरकारी सवारीसाधन पुगेको छ । काठमाडौं–रसुवा–चीन हुँदै हुम्लामा पहिलोपटक सरकारी सवारी साधन ल्याइएको हो । गाडीलाई रसुवाबाट चिनियाँ कन्टेनरले ताक्लाकोट बजारसम्म ढुवानी गरेको थियो ।

राष्ट्रिय सडक सञ्जालले नछोएको हुम्लामा सडक विस्तार र अनुगमन गर्न हिल्सा–सिमकोट सडक आयोजनाले ल्याण्डक्रुजर गाडी ल्याएको हो । गाडीलाई हुम्ला ल्याउन चीनको सडक पार गर्न २ लाख ५० हजार रुपैयाँ ढुवानी शुल्क तिर्नु परेको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख सशांक मिश्रले बताए ।

हिल्साबाट सिमकोटसम्मको ९५ किलोमिटर बाटोको ट्र्याक खुलेपछि सडक आयोजनाको कामलाई द्रुतगतिमा सञ्चालन गर्नको लागि बा १ झ ५८५० नम्बरको गाडी ल्याइएको हो । सुर्खेत र नेपालगञ्जबाट हवाई ढुवानी गर्नको लागि महँगो पर्न जाने भएकोले गाडीलाई चिनियाँ सडक प्रयोग गरी ल्याइएको हो ।

यसअघि निजी गाडीलाई नेपाली सेनाको हलिकोप्टर प्रयोग गरेर ३० लाख हवाई ढुवानी गरेर ल्याइएको भए पनि सरकारी गाडीलाई पु(याउनको लागि त्यति धेरै रकम नभएकोले सडकमार्ग रोजेको आयोजना प्रमुख मिश्र बताउँछन् । गाडीलाई हिल्साबाट सिमकोटसम्मको ९५ किलोमिटर दुरी पार गर्न ९ दिन लागेको थियो । सडक मर्मत गर्दै गाडी ल्याउनु पर्दा त्यति धेरै समय लागेको हो । ठाउँ ठाउँका नदीमा पुल नहुँदा अझ गाडी सञ्चालनमा सहज नभएको हो । हिल्साबाट सल्ली हुँदै लेक धिँगाबाट सिमकोट पार गर्नको लागि हेप्का खोलामा पुल बनाएमा अब केही सहज हुने देखिएको छ ।

नेपाली सेनाले बाजुराबाट दक्षिणको सडक ट्रयाक खोल्ने प्रयास गरे पनि अझै हुम्लालाई सडक सञ्जाल छुनको लागि एक दश लाग्ने स्थानियको अनुमान रहेको छ । सिमकोट गाउँपालिकाको सदरमुकाम सिमकोटदेखि खार्पुनाथसम्म नियमित गाडी सञ्चालन भए पनि हुम्लामा सडक सञ्जाल खोल्नको लागि कछुवा गतिमा काम भइरहेको छ । दक्षिणमा अदानचुली र ताँजाकोट गाउँपालिकाले आन्तरिक सडक निर्माण गरिरहेको छन् भने विच क्षेत्रको सर्केगाड र चंखेली गाउँपालिकाले पनि हरेक वर्षको बजेटमा सडक सञ्जाल जोड्नको लागि प्राथमिकतामा राखेको छ ।

हिल्सा सिमकोट सडक आयोजनाको सरकारी नम्बर प्लेटको गाडी भित्रिएपछि अब हुम्लामा सञ्चालन भएका आयोजनासँग सम्वन्धित सडक विस्तारमा केही तिव्रता ल्याईने कार्यलय स्रोतले जानकारी दिएको छ । गाडी हुम्ला पुुगे पनि यसको इन्धन भने महँगो तिरेर सञ्चालन गर्नु पर्ने बाध्यता रहेको छ ।

मुगुबाट खच्चरमा डिजेलको ढुवानी गरी सिमकोट पु(याउँदासम्म प्रतिलिटर ६ सयदेखि ७ सय रुपैयाँसम्म पुग्ने भएको कारण यहाँका निजी र सरकारी गाडीलाई थप भार परिरहेको छ । कच्ची सडकमा गाडी गुडाउँदा ईन्धनको खपत बढी हुने भएको कारण पनि अझ थप भार परिरहेको छ । कच्ची सडकमा खाल्डो हुने र साँघुरो बाटोमा गाडी गुडाउनको लागि जोखिम रहेको गाडी चालकले बताउने गरेको छन् । कहाँनेर के हुने हो भन्ने ठेगान नै छैन, तै पनि हामी ज्यानलाइ हत्केलामा राखेर गाडी गुडाई राखेको बताउने गरेका छन् ।

हुम्लाको उत्तरी हिल्सा नाकामा भने नेपाली नम्बर प्लेटको गाडी नभएर चिनियाँ नम्बर प्लेटका गाडी गुडिहेको छन् । कुनै गाडी त बिना नम्बर प्लेट भएको गुडिरहेको देख्न पाइन्छ । यातायात विभागको कार्यालय हुम्लामा नहुँदा चिनियाँ नम्बर प्लेट र बिना नम्बर प्लेट गाडी गुडाउनको लागि बाध्य भएको गाडी सञ्चालकले बताउने गरेका छन् ।

नेपाली गाडी ल्याउनको लागि सरकारी झमेला अनि खर्च बढ्ने भएको कारण स्थानियले सामान ढुवानी गर्नको लागि चिनियाँ गाडी प्रयोग गर्ने गरेको नाम्खा गाउँपालिका वडा नं। ६ का छिमेल तामाङले बताए ।

३० देखि ४० को हाराहारीमा हुम्लामा चिनियाँ गाडी सञ्चालन हुने गरेको स्थानियले बताएका छन् । हिउँदको मौसममा खाद्य पदार्थदेखि बन्दोबस्तीका सामान आयात गर्नको लागि चिनियाँ गाडीको प्रयोग हुने गरेको छ । नाम्खा गाउँपालिकाको अधिकांश भुभागमा अन्नबाली वर्षभरी पुग्ने नफल्ने भएका कारण स्थानीय चिनियाँ बजारबाट खाद्यान्न आपूर्ति गर्ने गरेका छन् ।

कारोबारडेलीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: