Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

माछापालनबाट मनग्य आम्दानी हुँदा कृषकहरु हर्षित

बनेपा, कात्तिक २६ ।

पनौती नगरपालिका–१ रयाले मानेदोभानका सुरज तामाङले ट्राउट माछापालन गरी मनग्य आम्दानी गर्दै आएका छन्। वैदेशिक रोजगारीबाट फर्केका तामाङले गाउँमै व्यवसाय गर्न थालेका हुन् ।

एक दशक अघि तामाङ गाउँकै मानेदोभान बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित ट्राउट माछापालनमा काम गरेका थिए । अहिले तामाङ आफैँले सहकारी संस्थालाई वार्षिकरूपमा रकम बुझाउने गरी माछापालन गरिरहेको छ । “यहाँ काम गर्न सकेमा विदेशको जतिकै कमाउन सकिन्छ,” उनले भने । अहिले हप्तामा ७० देखि ८० किलोसम्म माछा बिक्री हुन्छ । बाह्रैमास माछा उत्पादन तथा बिक्री हुने गरेको छ । “मासिक रु चार लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुन्छ,” तामाङले भने ।

तामाङले मलेसियामा दुई वर्ष तथा कोरियामा झण्डै पाँच वर्ष काम गरे । तामाङले गाउँमै होटल व्यवसाय समेत सञ्चालन गरेका छन् । माछा बिक्री गर्न होटल सञ्चालन गरेको तामाङले बताए । “माछा होटलमै पकाएर खानेको सङ्ख्या बढ्दै गएको छ”, उनले भने । माछा प्रतिकिलो रु एक हजार ३०० का दरले बिक्री हुन्छ । सो काममा उहाँका दाजुले सघाउँदै आएका छन् । “वार्षिक साढे दुई टन माछा उत्पादन हुन्छ,” तामाङले भने, “झण्डै पाँच टनको माग आउँछ, यहाँको उत्पादनले पाँच महीना धान्छ ।” उहाँले ६ पोखरीमा माछापालन गर्दै आएका छन् ।

यहाँको उत्पादन काठमाडौंमा समेत बिक्री हुने गरेको छ । माछाका भुरा नुवाकोट, मेलम्ची र ललितपुरको ठोस्ने खोलाबाट ल्याउने गरेको तामाङले बताए । माछाको एउटा भुराको मूल्य रु १५ देखि रु २० पर्छ । मानेदोभान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्यामहरि सापकोटा संस्थालाई तामाङले वार्षिक रु दुई लाख ८० हजार बुझाउने गरेको बताउँछन् । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: