ऐन खारेज गरेर कर्मचारी समायोजन गर्न अध्यादेश ल्याइदै छः मन्त्री पण्डित

काठमाडौं, कार्तिक २६ । सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याउने तयारी गरेको छ । सरकारले यसअघि ल्याएको ‘कर्मचारी समायोजन ऐन–२०७४’ लाई खारेज गर्दै अध्यादेश ल्याउन लागेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तीन तहमा कर्मचारी समायोजन गर्नका लागि अध्यादेश ल्याउने प्रक्रिया शुरु गरिएको जानकारी गराए । ‘सङ्घीय संरचनाअनुसार केन्द्रमा रहेका कर्मचारी तीनै तहमा समायोजन गर्नुपर्दछ’ उनले भने, ‘कर्मचारी समायोजन गर्नका लागि अध्यादेश ल्याउन लागिएको हो ।’

याे पनि पढ्नुस  खाद्य संस्थानले डोल्पा पठाइएको चामल कर्मचारीको मिलेमतोमा बाटोमै बिक्री

मन्त्री पण्डितले अध्यादेशको प्रक्रिया शुरु गरिएकाले परामर्शका लागि लोक सेवा आयोगलाई समेत जानकारी पठाइएको बताए । सरकारले लोकसेवा आयोगको परामर्श लिएपछि मन्त्रिपरिषद्ले स्वीकृत गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाउनेछ ।

मन्त्री पण्डितले पुस मसान्तभित्र तीनै तहका कर्मचारी समायोजन गर्ने जानकारी गराए । सरकारले अहिले भएका एक लाख १७ हजार कर्मचारीमध्ये केन्द्रमा करीब ४५ हजार, प्रदेशमा २१ र स्थानीय तहमा ५७ हजार कर्मचारी समायोजन गर्ने तयारी गरेको छ ।

याे पनि पढ्नुस  कर्मचारी समायोजन प्रक्रिया रोकियो

यसअघि ल्याइएको ऐनमा मातहतमा कर्मचारी समायोजन हुन नमानेपछि समायोजन भएर प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई एक तहमाथिको सेवा सुविधा दिने गरी कर्मचारीलाई आकर्षण बनाएर अध्यादेशमार्फत समायोजन गर्न थालेको हो ।

त्यस्तै श्रेणीविहीनलाई श्रेणी दिइनेछ भने चार वर्षभन्दा कम सेवा अवधिका खरिदारलाई चौथो, चारदेखि सात वर्षसम्म सेवा गरेका र न्यूनतम शैक्षिक योग्यता नभएका खरिदारलाई वरिष्ठ चौथो, शैक्षिक योग्यता भएका र सात वर्षसम्म काम गरेका खरिदारलाई पाँचौं, १० वर्ष र न्यूनतम शैक्षिक योग्यता पुगेका नायब सुब्बालाई छैटौं, पाँच वर्षभन्दा कम सेवा अवधि पुगेका शाखा अधिकृतलाई सातौं, पाँचदेखि १० वर्षसम्म शाखा अधिकृत भएकालाई आठौं, १० वर्ष पुगेका र न्यूनतम शैक्षिक योग्यता पुगेका शाखा अधिकृतलाई नवौं, पाँचदेखि १० वर्षसम्मका उपसचिवलाई १०औं, १० वर्ष काम गरेका र न्यूनतम योग्यता पुगको उपसचिवलाई ११औं तह दिइने अध्यादेशमा उल्लेख गरिएको छ । औरासस

कमेन्ट गर्नुहोस्