Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

देउसी भैलोबाट संकलन भएको रकमबाट भवन निर्माण गरिने

सोलुखुम्बु, कात्तिक २७ ।

देउसी भैलोबाट संकलन भएको रकम महिला तथा बालबालिका भवन निर्माणमा खर्च गरिने भएको छ ।

यहाँको थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाले आयोजना गरेको देउसी भैलोबाट संकलन भएको रु तीन लाख २७० भवन निर्माणमा खर्च गर्ने भएको हो ।

वडाध्यक्ष रामसंघर्ष किराँतीका अनुसार जनतासँग भेटघाट देउसी भैलो कार्यक्रमअन्तर्गत उक्त रकम संकलन भएको हो । देउसीबाट संकलन भएको रकमले भोज खाने र रमाइलो गर्ने चलन रहेकाले त्यस्ता कार्यलाई निरुत्साहित गर्न भवन निर्माणमा खर्च गर्ने निर्णय गरिएको हो, वडाध्यक्ष किराँतीले भने, “वडामा निर्माण उक्त भवनको लागि गाउँपालिकाबाट रु १० लाख विनियोजन भएको छ, त्यसैमा रकम थप गरेर सोचेको भन्दा राम्रो वनाउने योजना छ ।”

उपभोक्ता समितिमार्फत योजना सञ्चालन हुँदा कूल बजेटको २० प्रतिशत रकम बराबरको जनश्रमदान गर्नुपर्छ । वडा कार्यालयको संयोजकत्वमा प्रगतिशील महिला समूह, परिवर्तनशील बाल क्लब, र सोही वडाको शुक्रबारे बजार व्यवस्थापन समितिले संयुक्तरुपमा देउसी भैलो कार्यक्रम सञ्चालन गरेको थियो ।

देउसीबाट सङ्कलन भएको रकमको दुरुपयोग गर्न नदिन वडा कार्यालय सचेत रहेको पनि अध्यक्ष किराँतीको दाबी छ । उनले भने, “अन्य विभिन्न सङ्घसंस्थाले आफ्नै उद्देश्य राखेर देउसी खेलेका छन् त्यसको वडा कार्यालयले निगरानी राख्नुपर्छ ।” रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: