स्वयम्भूमा १९ सम्पदाको मर्मत कार्य सम्पन्न

काठमाडौँ, कात्तिक २८ ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले त्यस क्षेत्रका विभिन्न १९ वटा सम्पदाको जीर्णोद्धार पूरा गरेको छ ।

शान्ति पोखरी अगाडिको चैत्य, वायुपुर, वासुपुर, स्वयम्भू चैत्य अगाडिको घण्टाको मर्मत तथा व्यवस्थापन, वसुन्धरा मन्दिरको छानो मर्मत तथा जीर्णोद्धार गरेको हो । महासमितिले विभिन्न दातृ संस्था र आन्तरिक स्रोत सङ्कलन गरी मर्मत कार्य पुरा गरेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए । त्यस क्षेत्रको २३ सम्पदामा अनन्तपुर र प्रतापपुर पुरातत्व विभागले जीर्णोद्धार गरेको हो । बहुमङ्गलद्वार चैत्य महासमितिले युनेस्कोको सहयोगमा मर्मत गरेको हो । शान्तिपुर महासमितिको खर्चमा मर्मत भइरहेको छ । महासमितिले हालसम्म करीब रु पाँच करोड खर्च गरिसकेको छ ।

याे पनि पढ्नुस  स्वयम्भूनाथ मन्दिर प्लाष्टिक मुक्त क्षेत्र हुने

विश्व सम्पदामा सूचीकृत त्यस क्षेत्रका अधिकांश सम्पदामा विसं २०७२ वैशाख १२ गते आएको भूकम्प तथा त्यसपछिका परकम्पले क्षति पुगेपछि मर्मत तथा जीर्णोद्धार गरिएको हो । पुरातत्व विभागले पुरानै स्वरुपमा मर्मत गर्न महासमितिलाई अनुमति दिएपछि जीर्णोद्धार अघि बढाइएको हो । उक्त चैत्यलाई नयाँ प्रविधिको प्रयोग गरी मर्मतसम्भार पूरा गरिएको महासमितिका उपाध्यक्ष ज्ञानु लामाले बताए ।

महासमितिले स्वयम्भूको प्राचीन सम्पदा शान्तिपुर मन्दिर रु चार करोडको लागतमा जीर्णोद्धार शुरु गरेको दुई वर्षभन्दा धेरै भएको छ । स्वयम्भू महाचैत्यदेखि करीब ३०० मिटरको दूरीमा रहेको सो सम्पदामा तान्त्रिक गतिविधि हुने हुँदा तान्त्रिक सिकर्मी÷डकर्मीको अभावले मर्मतमा ढिलाइ भएको छ ।

याे पनि पढ्नुस  फुटपाथ हटाउन गएका नगर प्रहरी यसरी कुटिए

केही महीना अगाडि स्वयम्भूका विभिन्न १७ वटा सम्पदा मर्मत भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यस क्षेत्रको भ्रमण गरेका थिए । उनको भ्रमणपछि स्वयम्भू चैत्य तथा वरपर क्षेत्रका जोखिममा परेको विभिन्न सम्पदाको मर्मत भएकोले अहिले त्यहाँ पर्यटकसमेत बढ्दै गएको छन् । महाचैत्य आसपास क्षेत्रमा रहेका पुजारीका घर पनि निर्माणको प्रक्रियामा छ ।

काठमाडौँ उपत्यकासहित १४ जिल्लालाई अति भूकम्प प्रभावित क्षेत्र मानिएको छ । यस क्षेत्रका प्राचीन स्मारक एवं पुरातात्विक सम्पदामा भूकम्पले क्षति गरेको थियो । पुरातत्व विभागको अभिलेखअनुसार भूकम्पले ७५३ सम्पदामा क्षति पुगेको थियो । काठमाडौँ उपत्यकाका केही महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदा अझै पनि मर्मत हुन सकेका छैनन् । पुरातात्विक सम्पदाको पुनःनिर्माण गर्ने क्रममा काठमाडौँका धरहरा, रानीपोखरी र काष्ठमण्डपलगायत केही सम्पदा विवाद कायम छ ।

याे पनि पढ्नुस  अपहरणकारी र प्रहरीबीच राजधानीमा गोली हानाहान, घाइते एक जना अपहरणकारी पक्राउ

ऐतिहासिक सम्पदाको प्रवलीकरण तथा आवश्यकताअनुसार जीर्णोद्धार र पूर्ण जीर्णोद्धार गर्ने नीति लिएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताए । रासस

कमेन्ट गर्नुहोस्