Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ठग्स अफ हिन्दोस्तान वर्षकै सर्वाधिक असफल बलिउड फिल्म बन्दै

मेगा स्टार कास्ट, भिएफएक्सको भरमार, सर्वाधिक स्क्रीन काउन्ट, जबर्जस्त फ्यान फलोइङ र फेस्टिभल रिलिज । अर्थात कुनै पनि फिल्मलाई आकर्षक कमाई गर्न आदर्श अवस्था । त्यसमाथि झन् रेकर्ड स्टारको अग्रिम बुकिङ र पहिलो दिनकै कमाइ ५३ करोड भारुभन्दा माथि ।

तर यति हुँदाहुँदै पनि आमिर खानको दीर्घ प्रतिक्षित चलचित्र ठग्स अफ हिन्दोस्तानले भने सम्बद्ध पक्षलाई नराम्ररी स्तब्ध परेको छ ।

हुन त फिल्मले भारतको घरेलु बक्स अफिसमा १३३ करोड भारु कमाइ गरिसकेको छ । समान्य बलिउड चलचित्रका नीति यो रकम निकै बढी भए पनि पर्दामा आमिर खान, अमिताभ बच्चन र क्याटरिना कैफ जस्ता दिग्गजहरू उपस्थित रहेको पौने तीन सय करोडको हाराहारी लगानी रहेको यस चलचित्रका लागि भने यो रकम निकै कम हो ।

अनापेक्षित गिरावट 

उल्लेख्य त के हो भने यस चलचित्रको पहिलो दिनको तुलनामा छैठौं दिनसम्म आइपुग्दा यसको कमाइमा ९० प्रतिशतले गिरावट आएको छ । यो निकै अनपेक्षित हो । बलिउडमा कमाइका सारा रेकर्ड तोड्ने अपेक्षा गरिएको यस चलचित्रले आफ्नो पूरै प्रदर्शन  अवधिभर मुस्किलले १५० करोड कमाउन सक्नेछ । यस हिसाबले यसलाई आमिरको क्यारिअरकै सर्वाधिक खराब चलचित्र मानिन थालिएको छ ।

रिलिजपूर्व नै फिल्म समीक्षकहरूबाट नकारात्मक समीक्षा गरिएको यस चलचित्रलाई दर्हकहरूले समेत साह्रै नराम्रो भनेर टिप्पणी गरे । आमिर खान र अमिताभ बच्चनको अभिनय रहेको पहिलो चलचित्र भएकाले थुप्रै प्रसिद्ध व्यक्तिहरू समेत यो फ्फिल्म हेर्न पहिलो दिननै सिनेमा हल पुगेका थिए ।

तीमध्ये एक, दिल्लीको सत्तारूढ दल आपका सांसद एवं प्रसिद्ध कवि डाक्टर कुमार विश्वासले फिल्म हेरिसकेपछि व्यंगात्मक ट्वीट गर्दै लेखेका थिए, ‘ठग्स अफ हिन्दोस्तान हेरियो । चलचित्रमा एउटा कुरा मात्रै ठीक रहेछ- यसको नाम, साँच्चै ठग्यो ।’

त्यस्तै उनले अर्को ट्वीटमा लेखे, ‘तपाईंहरू पनि ठग्स अफ हिन्दोस्तान हेर्न अवश्य जानुहोला, हामीले मात्रै किन ठगिने?’

सामाजिक संजालमा खिल्ली 

पहिलो दिन ५२ करोड भारुभन्दा माथिको रेकर्ड कमाइ गरेको यस चलचित्रलाई हेरेपछि प्रयोगकर्ताहरूले सामाजिक संजालमा यसलाई खुबै ट्रोल गरेका थिए ।

भारतमा ५ हजार र संसारभर ७ हजारभन्दा बढी पर्दाहरूमा प्रदर्शित यस फिल्मलाई भारतबाट मात्रै ४ सय करोड कमाउने आकलन गरिएको थियो ।

तर अब यसलाई वर्षकै सर्वाधिक असफल फिल्म भनिन थालेको छ । बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गर्दै इदमा रिलिज भएको रेस-३ र दीपावलीमा रिलिज भएको ठग्स…को असफलताले कमजोर कथावस्तु र अपरिपक्व प्रस्तुतीकरण भएको फिल्मलाई स्टारहरूको भीड र चाडपर्वमा रिलिजले मात्रै नथेग्ने प्रष्ट भएको बताएका छन् ।

उनी अगाडि लेख्छन- जब कि राम्रो कथानक समेटिएका स्त्री, संजू, बाहुबली र राजीजस्ता चलचित्र सामान्य दिनमा रिलिज भएर पनि राम्रो कमाइ गर्न सफल भए ।

यसै वर्ष ईदको अवसर पारेर रिलिज गरिएको सलमान खान अभिनित रेस-३ ले पनि बक्स अफिसमा सन्तोषजनक व्यापार गर्न सकेको थिएन ।

 

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: