शहीद परिवारलाई भेटे प्रचण्ड र बादलले, कोरला नाका खुलाउने वाचा

बेनी, कात्तिक । पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गाउँ पुगेर शहीद परिवारलाई भेटेका छन् ।

पार्टी अध्यक्ष दाहाल र गृहमन्त्री थापा मङ्गला गाउँपालिका–२ सिमलचौरका शहीद परिवारकी गुमाकुमारी खड्काको परिवारलाई भेट्न पुगेका थिए । तत्कालीन माओवादी जनयुद्धमा होमिएर परिवारका दुई सदस्य गुमाएकी ५५ वर्षीया खड्कालाई आफ्नै गाउँमा भेट्ने अवसर जुरेको हो । पत्नी सीता दाहालको नशासम्बन्धी रोगको तातोपानी कुण्डमा स्नान गरी उपचार गर्न म्याग्दी पुगेका अध्यक्ष प्रचण्ड र कुण्डमै स्नानका लागि पारिवारिक भ्रमणमा आएका गृहमन्त्री थापाले शहिद परिवार भेटेर कुराकानी गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पार्टी सदस्य लिएका गुमाका पती नन्दबहादुर खड्कालाई २०५९ भदौ २ गते म्याग्दीकै कुहुँ र उनकी छोरी सिर्जनालाई २०५८ चैत १३ गते शिखमा गिरफ्तार गरी तत्कालीन राज्य पक्षबाट हत्या गरिएको थियो । “जनयुद्धमा होमिएर हामीले परिवारका सदस्य गुमायौँ, मुलुक सङ्घीय गणतन्त्रमा रुपान्तरण भयो, परिवर्तनका लागि नेतृत्व गर्ने नेतालाई पहिलोपटक भेट्न पाउँदा खुशी लाग्यो ।” खड्काले भनिन्, “अब जनताका लागि विकास दिन सक्नुपर्छ नेताहरुले ।” ।

याे पनि पढ्नुस  किन प्रचण्ड १५ घण्टाको लागि मात्र काठमाडौं आए ?

“हामीमाँझ शहीद परिवारका सदस्य पनि हुनुहुन्छ, परिवर्तनको निम्ति उहाँहरुको योगदान अतुलनीय छ, हामी परिवर्तनलाई संस्थागत गरेरै अगाडि बढ्छौँ”, नेकपा अध्यक्ष प्रचण्डले भने । उनले लामो सङ्घर्ष र बलिदानीले मात्रै स्थानीय, प्रदेश तथा सङ्घीय गरी तीन तहको सरकारको परिकल्पनाले सार्थकता पाएको बताए ।

याे पनि पढ्नुस  प्रचण्डद्वारा कञ्चनपुर घटनामा उच्चस्तरीय न्यायिक समिति गठन गर्न प्रधानमन्त्रीसँग आग्रह

अध्यक्ष ‘प्रचण्ड’ले पार्टी एकता चाँडै निष्कर्षमा पुग्ने बताएका छन् । प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब बस्ने बैठकले प्रदेश, जिल्ला र स्थानीय तहसम्म एकताको काम सम्पन्न गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिए ।

“पार्टी सङ्गठनदेखि जनवर्गीय सङ्गठनको एकताबारे गृहकार्य सकिएको छ, अब केही दिनमै पार्टी एकताको प्रक्रियाले नतिजा ल्याउँछ, एकताबाट दायाँबायाँ गर्नसक्ने कुनै ठाउँ छैन”, उनले भने ।

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको मुस्ताङ र चीनको सिमानामा पर्ने कोरला नाकालाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन पूर्वाधार निर्माणसँगै सरकार तथा पार्टीका तर्फबाट समेत कूटनीतिक पहल भइरहेको अध्यक्ष प्रचण्डले बताए ।

याे पनि पढ्नुस  वर्तमान सरकारले भूमि समस्या समाधान नगरे देश बर्बाद हुन्छ- प्रचण्ड

यसअघि अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले समाजवादको बाटोमा पार्टी अघि बढ्ने र सरकारका काम कारवाही त्यसै दिशामा उन्मुख हुने चर्चा गरे । यस्तै म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा नेता दाहालले राज्य र व्यवसायीले एकलेअर्कालाई आफ्नो पूरक मान्ने वातावरण सिर्जना गरी उद्योग व्यवसायका क्षेत्रमा बनेका पुराना ऐन संशोधन गर्न आवश्यक रहेकामा जोड दिए ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकको अबको यात्रा आर्थिक विकास, समृद्धि र सुशासन कायम गर्नमा केन्द्रित हुने बताउँदै स्वदेशमै रोजगारी सिर्जना हुनेगरी लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।

कमेन्ट गर्नुहोस्