Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शिक्षक दरबन्दी नहुँदा सुस्त श्रवणशक्ति भएका बालबालिकालाई अध्ययनमा समस्या

दुल्लु, कात्तिक २९

दैलेखको नारायण नगरपालिका–१० भवानीका राजकुमार बस्नेत र मन कुमारी बस्नेतको सानो र खुशी परिवार । आठ वर्ष अघि उनीहरुको परिवारमा पहिलो सन्तानको रुपमा अर्जुन बस्नेत जन्मिए तर, सुस्त श्रवणशक्ति लिएर । त्यसको तीन वर्ष पछि पुनः दोस्रो सन्तानको रुपमा प्रवीण बस्नेतको जन्म भयो, उनमा पनि त्यही समस्या ।

दुईवटै छोरा जन्मजातै सुस्त श्रवण भएर जन्मिएपछि अर्जुन र प्रवीणका बुबा कान्छी श्रीमती लिएर भारत हिँडे । त्यसपछि शुरु भयो अर्जुन र प्रवीणका दुःखका दिन । कान्छी श्रीमती लिएर भारत हानिएका बुबा फर्केर आएनन् । दुई दाजुभाइ अर्जुन र प्रवीणकी आमा सँगै थिइन् । आर्थिक अवस्था कमजोर भएपछि आमा मनकुमारीलाई दुई सन्तानलाई शिक्षा दिन हम्मेहम्मे पर्यो ।

सुस्त श्रवणशक्ति भएर जन्मिएका छोराहरुलाई अन्य बालबालिका पढ्ने विद्यालयमा पढ्न पठाउन पनि सम्भव थिएन । आमा मनकुमारी माइतीघरको शरणमा पुगिन् । अहिले दुई दाजुभाइ नै सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा–केन्द्रको संरक्षणमा छन् ।

अर्जुन र प्रवीण जस्तै भगवतीमाई गाउँपालिका–५ पगनाथका गंगा र जमुनाको कथा अलि फरक छ । गंगा र जमुना जुम्ल्याहा छोरीहरु हुन् । पगनाथमा बसोबास गर्दैआएका कुल बहादुर विष्ट र सितला विष्टबाट लगातार पाँच सन्तान सुस्त श्रवणशक्ति लिएर जन्मिए । तीन छोरा र दुई छोरीमा सबै त्यही कमजोरी लिएर जन्मिएपछि पहिलो छोरालाई आर्थिक अभाव र साङ्केतिक भाषाको पढाइ हुने विद्यालय थाहा नपाएर पढाउन पाएनन् । उनी अहिले भारत जाने गर्छन् । दोस्रो र तेस्रो सन्तानमा रुपमा जन्मिएका प्रेम विष्ट र निर्मल विष्ट सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा–केन्द्रको संरक्षणमा कक्षा ५ सम्मको अध्ययन पछि माथिल्लो कक्षा अध्ययनका लागि अन्यत्र पठाइसकिएको छ । पछिल्ला दुई छोरीहरु गंगा र जमुना पनि सुस्त श्रवण भएर जन्मिएपछि त्यही स्रोत कक्षा–केन्द्र पठाइए ।

उनीहरु जस्तै दैलेखको पश्चिममा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाका १३ वर्षीया टोपेन्द्र बहादुर शाही पनि सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा–केन्द्रको संरक्षणमा पढिरहेका छन् । टोपेन्द्रका बुबाको पाँच वर्ष अघि ज्यान गयो । भर्खरै केन्द्रको संरक्षणमा आएका टोपेन्द्र बाबुको मृत्यु पछि घर पुगे । हिन्दु परम्पराअनुसार काजकिरिया सकेर पुनः केन्द्रमा फर्किएका उनी अहिले पनि स्रोत कक्षा–केन्द्रको संरक्षणमा बसेर आफ्नो भविष्य खोज्दै छन् । यी सबै सुस्त श्रवणशक्ति भएका बालबालिका हुन् । जिल्लाभर १६ जना बालबालिका अहिले स्रोत कक्षा–केन्द्रको संरक्षणमा छन् । विसं २०६२ जेठ १० गतेदेखि दैलेखको नारायण नगरपालिका–६ भुर्तीस्थित रेडक्रस माध्यमिक विद्यालयमा सञ्चालनमा ल्याइएको यो केन्द्रमा रहेका बालबालिकाले पढाइमा विभिन्न समस्या झेल्दै आएका छन् । उज्ज्वल भविष्यको सपना देखेर केन्द्रमा आएका ती बालबालिकाले केही सुविधा पाएको भए पनि आफूहरुको पठनपाठनमा समस्या हुँदै आएको गुनासो गर्दै आएका छन् ।

दरबन्दी बिना साङ्केतिक भाषाको पढाइ

जिल्लाको एक मात्र सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा–केन्द्रमा साङ्केतिक भाषाको कक्षा शुरु भएको १३ वर्ष बित्यो । सुस्त श्रवण र बहिरा स्रोत कक्षा सञ्चालन गरिरहेको नारायण नगरपालिका–६ भुर्तीस्थित रेडक्रस माध्यमिक विद्यालयमा साङ्केतिक भाषाको दरबन्दीका शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । विसं २०६२ देखि शुरु भएको स्रोत कक्षामा १३ वर्षदेखि शिक्षक दरबन्दी रिक्त छ । स्रोत कक्षामा १ देखि कक्षा ५ सम्म १६ जना विद्यार्थी अध्ययनरत छन् । साङ्केतिक भाषाको दरबन्दी नहुँदा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको काजमा बसेर साङ्केतिक भाषा पढाइरहेका स्रोत शिक्षक लक्ष्मीप्रसाद रेग्मीले बताउनुभयो । काजमै भए पनि एक जना शिक्षकले पढाउँदै आएका छन् ।

यसअघि धन बहादुर केसी काजमा आएर अध्यापन गराउनुभएको थिए । विगत दुई वर्षदेखि शिवशक्ति माध्यमिक विद्यालय सल्लेरीमा दरबन्दी भएका शिक्षक रेग्मीले स्रोत कक्षा धानिरहेको छ । स्रोत कक्षामा अहिलेसम्म दरबन्दीको व्यवस्था नगरेको स्रोत शिक्षक रेग्मीले बताए । विद्यार्थीले चाहेका बेला खाद्यान्न, शैक्षिक सामग्री खरिदका लागि खर्च लगायतका सुविधा पाउन नसकेको उनको भनाइ छ ।

विद्यालयमा पर्याप्त पूर्वाधार नहुँदा विद्यार्थीहरू विद्यालय जान मान्दैनन् । बालबालिका पनि नियमित आउँदैनन् । कक्षा ५ सम्म मात्र पठनपाठनको व्यवस्था भएकाले माथिल्लो तहको शिक्षा लिन उनीहरूलाई समस्या छ । जिल्लामा माथिल्लो तहको कक्षा सञ्चालन नहुँदा पढाइ छोड्ने क्रम समेत बढेको छ । “विद्यालयका अन्य विद्यार्थीलाई कम्प्युटर, खेलकूद सामग्री, शैक्षिक सामग्री दिइन्छ,” टोपेन्द्र बहादुर शाहीले साङ्केतिक भाषामार्फत भने – “हामीलाई पनि ती सुविधा भए पठनपाठनमा सहज हुन्थ्यो ।” स्रोत कक्षा सञ्चालन गरिए पनि त्यसको व्यवस्थापन हुन नसक्दा पठनपाठनमा समस्या भइरहेको स्रोत शिक्षक रेग्मीले बताए ।

प्रत्येक दिन एक विषयमात्रै पढाइ

कक्षा १ देखि ५ सम्म पढाइ हुने स्रोत कक्षामा एक दिनमा एक विषय मात्रै पढाइ हुने गरेको छ । कुल १६ जना बालबालिका रहेको उक्त स्रोत कक्षामा शिक्षक अभावका कारण एक दिनमा एक विषय मात्रै पढाउनुपर्ने बाध्यता रहेको छ । शिक्षक रेग्मीका अनुसार स्रोत कक्षाका लागि बहुकक्षा शिक्षण विधिबाट अध्यापन गराइन्छ । कक्षा १ देखि ५ सम्म आइतबार अङ्ग्रेजी विषय पढाइ हुन्छ ।

यस्तै, सोमबार नेपाली, मङ्गलबार गणित, बुधबार विज्ञान, स्वास्थ्य तथा शारिरीक शिक्षा र बिहीबार सामाजिक शिक्षा पढाइ हुन्छ । यसैगरी, शुक्रबार अङ्ग्रेजी, गणित पढाइ हुनाका साथै अतिरिक्त क्रियाकलापमा चित्रकला तथा खेलकूद सिकाउने गरिएको छ ।

केन्द्रमा जिल्लाका ११ वटै स्थानीय तहका १६ बालबालिका रहेका छन् । नारायण नगरपालिका–२ का १६ वर्षीया बालिका मीना कुमारी बुढा भर्खरै एक कक्षामा भर्ना भएकी छिन् । उनी जस्तै महावु गाउँपालिकाकी सीता कुमारी कार्की र लछुमन विष्ट पनि केन्द्रकै संरक्षणमा छन् । नौमूले गाउँपालिकाका राहुल गुरुङ्ग, नारायण नगरपालिकाका अर्जुन बस्नेत र प्रवीण बस्नेत, दुल्लु नगरपालिकाकी उमा खड्का, नारायण नगरकी सदिक्षा बुढा, पश्चिममा पर्ने आठबिस नगरपालिकाका कल्पना बुढामगर र कलम बहादुर शाही पनि केन्द्रकै संरक्षणमा छन् । यस्तै, गुराँस गाउँपालिकाका बृष बहादुर सुनार, चामुण्डाकी पद्मकला रेग्मी, भगवतीमाई गाउँपालिकाका गंगा विष्ट र जमुना विष्ट, लयाटीका टोपेन्द्र बहादुर शाही र नारायण–६ का गीता कुमारी बुढा पनि केन्द्रमा बसेर उज्ज्वल भविष्य खोजिरहेका छन् । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: