प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दो

खोटाङ, कातिक ३० ।

पछिल्लो समय जिल्लामा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको आकर्षण प्राविधिक शिक्षामा भएको हो ।

जिल्लाका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको महुरेगढी नमूना बहुप्राविधिक शिक्षालयले वन विज्ञान (फरेस्ट्री) विषयमा भर्ना लिएको छ । तीन वर्षे कृषि, फरेस्ट्री, भेटेरेनरी, ओभरसियर, सब–ओभरसियर, प्लम्बर, कम्प्युटरलगायत सीपमूलक विषय अध्यापनका लागि उक्त शिक्षालयले स्थापनाको पहिलो वर्ष वन विज्ञानबाट पढाइ शुरु गरेको हो ।

सातवटै प्रदेशमा एक÷एक वटा नमूना बहुप्राविधिक शिक्षालय स्थापनाका लागि सरकारले (आर्थिक वर्ष २०७३-०७४) को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रदेश नम्बर १ का लागि खोटाङमा स्थापना गरिएकोे उक्त शिक्षालयमा आगामी शैक्षिक सत्रदेखि सबै विषय पढाइ हुने भएको छ ।

याे पनि पढ्नुस  कार्यपालिका गठनका लागि एमाले–माओवादीबीच तालमेल

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१स्थित सरस्वती माविले पनि प्राविधिक शिक्षाअन्तर्गत कृषि बाली विज्ञान (जेटीए) कक्षा शुरु गरेको छ । सीटीईभीटीको मान्यता प्राप्त उक्त विद्यालयमा प्राविधिक एसएलसीतर्फ १८ महिने अध्यापनको उक्त कक्षामा ४० विद्यार्थी भर्ना भएका छन् ।

छैसठ्ठी जनाको आवेदन परेकामा प्रवेश परीक्षा लिइ कोटाअनुसार भर्ना लिइएको विद्यालयका प्रधानाध्यापक ध्यानबहादुर राईले बताए । २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक परीक्षाका माध्यमबाट पढाइ पूरा हुने विद्यालयले जनाएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२, जालपास्थित ज्योति माविले पनि पशु विज्ञान विषयको १८ महिने कक्षा सञ्चालन गर्ने भएको छ । ज्योति मावि जालपा र सरस्वती मावि दिक्तेलले यसै वर्षदेखि पठनपाठन शुरु गरेको हो ।

याे पनि पढ्नुस  वैदेशिक रोजगारीमा मृत्यु हुने परिवारका २२ बालबालिकालाई छात्रवृत्ति

खोटाङमा सिभिल इन्जिनियरिङ, वन विज्ञान, कृषि जेटीए, पशु जेटिए, लघु उद्यम सहजकर्ता, ब्युटिसियन, मोबाइल मर्मतलगायत प्राविधिक विषयको अध्ययन तथा तालीममा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

सामान्य शिक्षाले बेरोजगार जनशक्ति मात्र उत्पादन गरिरहेको अवस्थामा प्राविधिक शिक्षालयको लहर चलेको पञ्च मावि दिक्तेलका प्रधानाध्यापक भवकृष्ण ढकालले बताए । “हाम्रो शिक्षा पद्धतिले अहिलेसम्म बेरोजगार जनशक्ति मात्र उत्पादन गर्यो ।” उनले भने, “त्यही भएर स्वरोजगार जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षाको आवश्यकता महसुस गरिएको हो ।”

याे पनि पढ्नुस  शिक्षाको तिर्खाः कक्षा १ मा पढ्दै ७५ बर्षीया हजुरआमा !

पञ्च माविले आर्थिक वर्ष २०६९÷०७० देखि मावि तहमा बाली विज्ञान विषयअध्यपन गराउँदै आएको छ । यस्तै साकेला गाउँपालिकाको रतन्छास्थित साकेला माविले तीन वर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययनको अनुमति पाएको छ । रासस

कमेन्ट गर्नुहोस्