Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कम्युनिष्ट लोकतन्त्रको उपयोग गर्छन्, कांग्रेस जीवनको अभिन्न पद्धति ठान्दछः नेता महत

बर्दिवास, कार्तिक ३० । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले समृद्धि र विकास मुलुकको अहिलेको मुख्य कार्यभार रहेको बताएका छन् ।

शुक्रबार महोत्तरीको भङ्गाहा नगरपालिका सीतापुर बजारमा पार्टी नगर समिति कार्यालयको उद्घाटन गर्दै डा. महतले राजनीतिक पद्धतिले लोकतान्त्रिक पद्धति अँगालेपछि अब आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको बताए । मुलुकको यो कार्यभार नेपाली काङ्ग्रेसले बुझेको र काङ्ग्रेसले नै यस अभियानको नेतृत्व गर्न सक्ने डा. महतको भनार्इ थियो ।

भौगोलिक, सांस्कृतिक र धार्मिक विविधताको नेपालका लागि यिनै पक्ष समृद्धिका आधार हुने डा महतले बताए । सगरमाथा, जनक, जानकी, लुम्बिनी, मुक्तिनाथ र पशुपतिनाथ जस्ता फरक÷फरक भूगोलका सांस्कृतिक धरोहर मुलुकको पहिचान भएका र यिनै पहिचानलाई मुलुकको समृद्धि अभियानसँग जोड्नुपर्ने डा. महतको भनार्इ थियो ।

मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति काङ्ग्रेसको विचार मात्र नभई जीवन पद्धति नै भएको डा महतले बताए। ‘लोकतन्त्र काङ्ग्रेसको जीवन पद्धति हो’, डा. महतले भने, ‘कम्युनिष्ट लोकतन्त्रको उपयोग गर्छन्, काङ्ग्रेस लोकतन्त्रको उपयोग हैन, जीवनको अभिन्न पद्धति ठान्दछ ।’ समारोहमा कांग्रेस केन्द्रीय सदस्यहरु किरण यादव र महेन्द्र यादवलगायतले सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: