Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अलराउन्डर आलमलाई ललितपुरले नराखेपछि खेल जीवन नै संकटमा

काठमाडौँ — ललितपुर प्याट्रियट्सले महबुब आलमलाई टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को नया संस्करणका लागि रिलिज गरिदिएको छ । खेल जीवन टुंगाउने संघारमा रहेका भेट्रान अलराउन्डर आलमलाई ललितपुरले नराखेपछि अब उनको खेल माथि आउन गाह्रो पर्ने देखिएको छ । 

ईपीएलमा गत सिजनमा खेलेका खेलाडीमा एउटा टोलीले ३ खेलाडीलाई रिलिज गर्न पाउने प्रावधान छ। ललितपुरले दोस्रो लटमा महबुब र राजवीर सिंहलाई रिलिज गरेको थियो। उनीहरुको स्थानमा नेपाली यू–१६ का बलर नारायण जोशी र योगेन्द्रसिंह कार्कीलाई लिएको हो। योगेन्द्रलाई चितवन टाइगर्सले रिलिज गरेपछि ललितपुरले लिएको हो।

ललितपुरले गत सिजनको अक्सनबाट महबुबलाई १ लाख ५० हजार रुपैंयामा लिएपछि उनी ईपीएल खेल्ने सातौं महँगा खेलाडी बनेका थिए। तर त्यो अनुरुप महुबबको प्रदर्शन मैदानमा देखिएको थिएन्। उनले ४ खेलमा १६ रनमात्र बनाउन सकेका थिए भने बलिङमा २ विकेट लिएका थिए। आफ्ना गतिलो खेलाडीको प्रदर्शनबाट साथ नपाउँदा ललितपुरलाई प्लेअफमा पुग्न निकै गाह्रो भएको थियो।

महबुब गत सिजनको धनगढी प्रिमियर लिगको अक्सनमा परेनन्, कारण ईपीएल लगायतको प्रतियोगितामा कमजोर प्रदर्शन नै थियो। एक समयका नेपालका स्टार महबुबका लागि नमस्ते पोखरा प्रिमियर लिग आफ्नो क्षमता प्रमाणित गर्ने अन्तिम अवसर जस्तै थियो। तर ३७ वर्षे महबुबले आफ्नो प्रदर्शनबाट त्यसमा पनि न्याय गर्न सकेनन्। पोखरा पल्टनबाट खेल्दै उनले ४ खेलमा ८ रनमात्र बनाउन सके। बलिङमा पनि उनले ३ विकेट मात्र लिएका थिए।

धनगढीलाई अन्तिम ओभरमा विजयका लागि १५ रन चाहिने अवस्थामा दीपेन्द्रसिंह ऐरीले महबुबले बलिङ गरेको त्यो ओभरमा १८ रन प्रहार गरेका थिए। त्यसअघिको चितवन राइनोजसँगको खेलमा पनि उनले फालेको इनिङ्सको अन्तिम ओभरमा सन्नी पटेलले १७ रन प्रहार गरेका थिए। यी दुवै खेलमा पोखरा पराजित भएको थियो। पोखराबाट महबुबले सबैभन्दा बढी रन खर्चेका थिए। उनको बलिङ इकोनोमी ९.४२ थियो।

महबुबलाई त्यसपछि पोखराले ‘ड्रप’ गर्न बाध्य भएको थियो। उनको स्थानमा कृष्ण कार्कीलाई ल्याएपछि शरद भेषावकरको कप्तानीमा रहेको पोखराले लगातार तीन खेल जित्दै पीपीएल नै जितेको थियो।

साभार : कान्तिपुर दैनिकमा प्रकाशित समाचार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: