Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एकीकरणकाे छ महिनापछि बल्ल संसदीय दलको कार्यालय एकै स्थानमा

काठमाडौँ, मङसिर १ गते । पार्टी एकीकरण भएको करिब छ महिनापछि तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय एकै स्थानमा बनाउन थालिएको छ ।

दुई दल एकीकृत भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भए पनि संसदीय दलको कार्यालय पुरानै स्थानमा थियो । दुबै दलका नेताहरु यसअघिका आ–आफ्ना संसदीय कार्यालयमा बस्दै आउनुभएको थियो । दुई दलबीच गत जेठ ३ गते एकीकरण भएको थियो ।

संसद् सचिवालयलाई दुबै दलको आग्रहअनुसार तत्कालीन एमाले संसदीय दलको कार्यालय रहेको स्थानमा नेकपाको कार्यालय व्यवस्थापन गर्न लागिएको हो । यसअघि उक्त स्थानमा तत्कालीन एमालेका तर्फबाट संसदमा जिम्मेवारी तोकिएका पदाधिकारीको मात्र कार्यालय थियो ।

कार्यालयमा प्रधानमन्त्री एवं नेकपाका संसदीय दलका नेता केपी शर्मा ओली, दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक शान्ता चौधरी र कर्मचारीको कार्यालय थियो । यस्तै, तत्कालीन माओवादीको कार्यालयमा रहेका पदाधिकारीको कार्यकक्ष अब तत्कालीन एमाले दलको कार्यालय रहेको स्थानमा सर्नेछ

प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्मा र राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईको कार्यकक्ष अब यसअघि एमाले दलको कार्यालय रहेको स्थानमा सर्नेछ । सङघीय संसद् सचिवालयले आइतबारसम्म पदाधिकारीका कोटा तय गरिसक्ने तयारी गरेको छ

नेकपा संसदीय दलका उपनेता नेम्वाङले दुबै स्थानमा रहेका कार्यालयलाई एकै स्थानमा राख्न सुरु गरिएको बताउनुभयो । नेम्वाङले भन्नुभयो, ‘अब सबै पदाधिकारीको कार्यकक्ष यहाँ (पुरानो एमाले दलको कार्यालय रहेको स्थान) नै हुन्छ । प्रमुख सचेतक, राष्ट्रिय सभा दलका नेता पनि यतै बस्नुहुन्छ ।’

पार्टी एकीकरण भए पनि अहिलेसम्म संसदीय दलको कार्यालय दुई दलको स्थितिमा चल्दै आएको थियो । सचिवालयले दुबै दलजस्तै गरी कार्यकक्ष र अन्य सूचना प्रणालीको व्यवस्थापन गर्दै आएको थियो । दुबै दलको आग्रहमा नै सचिवालयले एकै स्थानमा कार्यालय व्यवस्थापन सुरु गरेको हो ।

दुई दलको कार्यालयमात्र छुट्टै छैन, दलहरूले सांसद्लाई उठाउने लेबी रकम पनि अहिलेसम्म फरक फरक छ । दल एकीकृत भए पनि लेबी फरक फरक उठाइँदै आएको छ । कार्यालय व्यवस्थापनसँगै लेबीमा पनि एकरुपता चाँडै ल्याइने उपनेता नेम्वाङले बताउनुभयो ।

यस्तै, अहिलेसम्म नेकपाका सांसद्हरूले सङघीय संसद् सचिवालयबाट पाउने दैनिक कार्यसूची, विधेयक लगायत सूचना पनि फरक–फरक पिजन होलबाट प्राप्त गर्दै आउनुभएको छ । अब पिजन होल पनि तत्कालीन एमाले दलको कार्यालय रहेकै स्थानमा हुनेछ । अहिले यसअघि दुबै दलले प्रयोग गर्र्दै आएका पिजन होल नै प्रयोगमा छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: