सरकार प्रतिबद्धताबाट बाहिर गएको छैनः मन्त्री अधिकारी

पोखरा, मंसिर १ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सरकार नीति तथा कार्यक्रमका साथै निर्वाचनका समयमा गरिएका प्रतिबद्धताबाट बाहिर नगएको बताएका छन् ।

भारतीय राजदूतावासको आर्थिक एवं प्राविधिक सहयोगमा पोखरा–३३ स्थित सरस्वती टीका माध्यमिक विद्यालयमा निर्मित १२ कोठे पक्की भवनको शनिबार उद्घाटन गर्दै उनले जनचाहना अनुरुप सुव्यवस्थाका साथै तीनवटै सरकारको समन्वयका माध्यमबाट आर्थिक समृद्धि र विकासको लक्ष्यमा सरकार लागेको बताए ।

याे पनि पढ्नुस  शिवालय माविमा अभिभावक भेला

देश लामो समयसम्म राजनीतिक अस्थिरता एवं सङ्क्रमणमा रुमल्लिएको बताउँदै उनले वर्तमान स्थिर एवं दीर्घकालीन सरकार क्षणिकतामा अलमल नगरी अघि बढ्नेमा जोड दिए ।

भारत सरकारबाट विद्यालय भवन निर्माणका लागि प्राप्त सहयोग यहाँका विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने विश्वास उनले व्यक्त गरे । विद्यालयले प्रस्ताव गर्दै आएको प्राविधिक शिक्षा कार्यक्रम आगामी शैक्षिक वर्षदेखि सञ्चालन गराउनका लागि आफूले पहल गरिरहेको मन्त्री अधिकारीले जानकारी दिए।

भारतीय राजदूतावासका उपप्रमुख डा. अजय कुमारले भारत सरकारले नेपालको शिक्षालगायत विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने बताए । विद्यालयको भवन निर्माणसँगै यस क्षेत्रका बालबालिकाको भविष्य निर्माण समेत भइरहेकोमा उनको जोड छ ।

याे पनि पढ्नुस  गरिबी साझा समस्या : मुख्यमन्त्री गुरुङ

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले गुणस्तरीय शिक्षाका लागि विद्यालय प्रतिबद्ध भएको बताउँदै विद्यालयमा अंग्रेजी तथा नेपाली दुबै माध्यम गरी हाल एक हजार ९६ जना विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिए । नवनिर्मित भवन रु तीन करोड ६३ लाख २५ हजार (भ्याट बाहेक) मा निर्माण सम्पन्न भएको जनाइएको छ ।

याे पनि पढ्नुस  यौनकर्मीलाई परिचयपत्र दिएर कर उठाऔं : मुख्यमन्त्री गुरुङ

प्रधानाध्यापक लालप्रसाद भण्डारीले नवनिर्मित भवनबाट विद्यालयको पठनपाठनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर क्षेत्री, प्रदेशसभा सदस्य कृष्ण थापा, जिल्ला समन्वय अधिकारी डिल्लीराम सिग्देल, वडा अध्यक्ष शिवप्रसाद आचार्यले आ–आफ्ना धारणा राखेका थिए । -रासस

कमेन्ट गर्नुहोस्