उहिले माओवादी लडाकु, अहिले साहसी पर्वतारोही

काठमाडौं, बीबीसी । बझाङकी लक्ष्मी बुढाले १५ वर्षअघि तत्कालीन माओवादी विद्रोहीको सेनामा सामेल हुने निर्णय गरिन् । त्यतिबेला उनको उमेर १४ वर्षको मात्र थियो । सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला उनी माओवादीको सांस्कृतिक विभागमा आबद्ध भइन्। त्यतिबेला आफूले ‘क्रान्तिको सपना’ देखेको उनी बताउँछिन् ।

सुदूरपश्चिमको दुर्गम क्षेत्रमा हुर्किएकी लक्ष्मीलाई आफू माओवादी बन्दा कुनै दिन हिमालमा रुचि हुनेछ भन्ने थाहा थिएन। ‘केही नयाँ गर्ने’ इच्छाले उनी पर्वतारोहण गर्न थालेको बताउँछिन्।

अभियान
शान्ति सम्झौताको १० वर्षपछि लक्ष्मी बूढाले हालै मात्र आरोहणका लागि खुला गरिएको साइपाल हिमाल आरोहण अभियानमा सहभागी भइन् । लडाकुदेखि पर्वतारोही बन्दासम्मको आफ्नो यात्रा निकै कठिन भएको उनको अनुभव छ।

याे पनि पढ्नुस  बझाङमा हिमपात, जनजीवन प्रभावित

महिनावारी भएका महिलाले पानीपधेँरो गर्दा ‘पाप लाग्छ भन्ने मान्यता राख्ने समाजमा हुर्किएकी भए पनि आफूले महिनावारी भएकै बेला हिमाल आरोहण गर्ने प्रयास गरेको उनी बताउँछिन्। प्रतिकूल मौसमका कारण शिखरमा पुग्न नसके पनि उनले आफ्नो प्रयासलाई नै सफलता मानेकी छन्।

आरोहणका लागि पहिलो पटक खुला गरिएको ७,०३१ मिटर अग्लो साइपाल हिमालको ५,६०० मिटर सम्म पुगेर उनको टोली बिहीवार घर फर्किएको बताइएको छ।

उनले भनिन्, ‘छाउ भएका बेला महिलाले धारा, पानीपधेँरो, नदी आदि छुनु हुँदैन भन्ने कुराले मलाई सधैँ पोल्थ्यो र यी कुरा गलत हुन् भनेर मलाई पुष्टि गर्नु थियो, जुन साइपालमा टेकेर गरेँ।

याे पनि पढ्नुस  गहना र जग्गा बन्धकी राखेर सडक निर्माण

आफ्नो पहिलो आरोहण असफल हुनुसँग महिनावारीको कुनै सम्बन्ध नरहेको भन्दै उनी थप्छिन्, ‘छाउ हुँदा हिमाल चढ्दा के नराम्रो हुन्छ त भन्ने प्रमाण मलाई चाहिएको थियो।’ उनलै नै चारसदस्यीय टोलीको नेतृत्व गरेकी थिइन्।

आत्मविश्वास
आफ्ना श्रीमान्‌को सहयोगकै कारण सानी छोरीलाई घरमा छाडेर हिमाल चढ्न जान सकेको उनी बताउँछिन्। पूर्वलडाकु २८ वर्षीया लक्ष्मीका लागि आरोहण नयाँ कुरा थियो। तर अवसर पाएमा जे पनि गर्न सकिने आत्मविश्वास उनमा पलाएको छ।

याे पनि पढ्नुस  आज बिहानै भूकम्पको धक्का

उनी पुनः हिमाल चढ्न चाहन्छिन् र उनको सपना सगरमाथा चढ्ने छ। हिमाल चढ्ने इच्छा भए पनि आर्थिक चिन्ता भने उनमा छ। द्वन्द्वकालका बेला धेरै वर्ष राजनीतिका गत‌िविधिमा होमिए पनि अहिले लक्ष्मीलाई आफ्नो परिवार नै सबैभन्दा महत्त्वपूर्ण लाग्छ।

उनलाई कहिलेकाहीँ द्वन्द्वकालमा समय खेर फालेँ कि भनेर पश्चाताप पनि हुन्छ। तर आफू बस्ने समाज परिवर्तनका लागि काम गर्ने उनको भावी योजना छ । त्यतिबेला ज्यानको समेत बाजी राखेर युद्धमा होमिइयो। अहिले म बस्ने ठाँउमा बिजुली समेत छैन। तर पनि म समाज परिवर्तनका लागि अझै धेरै गर्न सक्छु।’

कमेन्ट गर्नुहोस्