Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौंको प्रगति भएन, अब भक्तपुरमा रानीपोखरी जीर्णोद्धार गर्न एक करोड

काठमाडौंको रानीपोखरी पुनर्निर्माण बखेडा चलिरहेका बेला भक्तपुरमा गुमनाम भइसकेको रानीपोखरीलाई ब्युँताउने प्रयास थालिएको छ ।
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सर्वसाधारण सल्लाघारीको सैनिक इलाकाभित्र रहेको रानीपोखरी संरक्षण गर्न जुरमुराएका हुन् । ‘भक्तपुरमा समेत रानीपोखरी छ भन्ने धेरैलाई थाहा नहुन सक्छ,’ मेयर सुनील प्रजापतिले भने, ‘काठमाडौंको भन्दा जेठो यो रानीपोखरी संरक्षण गर्न हामी लागिपरेका छौं ।’

सैनिक आवासीय महाविद्यालय परिसरको खेल मैदानसँगै रानीपोखरी छ । ठूलो क्षेत्रमा फैलिएको रानीपोखरी परिसर विद्यार्थी, स्थानीयवासी, जनप्रतिनिधि, सेनाको संयुक्त समूहले शनिबार सरसफाइसमेत गरे । सफाइ गर्दा चतुर्मुखी शिवलिंग, उमामहेश्वर, लक्ष्मी नारायणलगायतका मूर्ति भेटिएका छन् । पोखरी क्षेत्रमा विभिन्न कालखण्डका इँटा फेला परेका छन् । ढुंगामा कुँदिएका विभिन्न कलात्मक आकृति छरिएको देख्न सकिन्छ ।

इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले ती मूर्ति नेपाल संवत् ७५० मा भक्तपुरका राजा जगज्योर्ति मल्लले रानीपोखरी बनाएकै बेला राखेको पाइएको बताए । यो पोखरी काठमाडौंको रानीपोखरी भन्दा पुरानो भएको उनले उल्लेख गरे । प्रमाणका आधारमा भक्तपुरको रानीपोखरी काठमाडौंको भन्दा ४० वर्ष पुरानो मानिन्छ । काठमाडौंको रानीपोखरी नेपाल संवत् ७९० अर्थात् विसं १७२७ मा प्रताप मल्लले बनाएका हुन् । ‘काठमाडौं रानीपोखरीभन्दा भक्तपुरको रानीपोखरी पुरानो देखिन्छ,’ इतिहासविद् श्रेष्ठले भने । कान्तिपुरका राजा प्रताप मल्लले भक्तपुर आक्रमण गर्दा पोखरीमा आक्रमण गरेको पाइएको उनले बताए ।

‘प्रताप मल्ल चाँगु हुँदै भक्तपुरको उत्तरतिरको महाकाली पीठसम्म आक्रमण गर्दै आए । तर भक्तपुरको पर्खालबाट भित्र छिर्न सकेनन् । त्यहाँ मजबुत गढ थियो । उत्तरबाट नसकेपछि भक्तपुरको पश्चिममा रहेको रानीपोखरीबाट आक्रमण गरेका थिए,’ श्रेष्ठले भने, ‘प्रताप मल्लले सुन्दर पोखरी बिगारे । यहाँका सुन्दर कलाकृति उठाएर हनुमानढोका दरबारमा सजाउन लगे ।’ भक्तपुरमा लगातार आक्रमण गरेका प्रताप मल्लले पोखरीका कलाकृति लैजानुले आफ्नो सहरमा त्यसपछि रानीपोखरी बनाएको सहजै अनुमान गर्न सकिने श्रेष्ठले बताए । भक्तपुरका भाजु पोखरी, सिद्धपोखरी, रानीपोखरी देखेपछि प्रताप मल्लले आफ्नो दरबारको पूर्वमा रानीपोखरी बनाएको उनको दाबी छ ।

पूर्वमध्य कालमै नेपाल संवत् २३९ मा तत्कालीन युवराज इन्द्रदेवले बनाउन लगाएको सिद्धपोखरी र नेपाल संवत् २८९ मा राजा रुद्रदेवको पालामा राति गोप्य रूपमा बनाइएको गुह्यपोखरी (न:पुखु) पनि भक्तपुर नगरपालिका १ मा छ । त्यस्तै १६ औं शताब्दीमा बनेको भाजुपोखरी भक्तपुरको दूधपाटीमा छ । यी सबै पोखरी बनेको धेरैपछि मात्र काठमाडौंको रानीपोखरी बनेको पाइएको श्रेष्ठले बताए ।

आक्रमणबाट भताभुंग भएको रानीपोखरीलाई ललितपुर र काठमाडौंका राजालाई पनि बोलाएर जीर्णोद्धार गरिएको इतिहास रहेको उनले बताए । जगज्योर्ति मल्लले नगरको शोभा बढाउन, राज्यको प्रतिष्ठा कायम राख्न, संस्कृति जीवन्त बनाउन र जल भण्डारण गर्न पोखरी बनाएको उनले बताए ।

पोखरी बनाउनुमा राजनीतिक र कूटनीटिक कारणसमेत पाइएको उनको भनाइ छ । भक्तपुर प्रवेश गर्दा होस् वा बाहिरिँदा यही पोखरी हुँदै जानुपर्छ । ‘त्यति बेला तीनवटै मल्ल राजा र कूटनीटिक व्यक्ति भेट गर्नुपरेमा रानीपोखरीमा भेट गर्ने चलन थियो,’ इतिहासविद् श्रेष्ठले भने, ‘त्यसैले यो पोखरी राजनीतिक, कूटनीतिक, धार्मिक, सांस्कृतिक रूपमा महत्त्वपूर्ण छ ।’

त्यसबेला पोखरीसम्म पुग्न र भित्र छिर्न बनाइएको ढुंगाका सिँढी अझै छन् । त्यस्तै पोखरी छेउमै पाटीसमेत छ । पोखरीको डिलमा पनि पाटी रहेको अनुमान छ । बनाउन प्रयोग गरिने इँटा भेटाइएको आधारमा पार्टी भएको अनुमान गरिएको हो । पोखरीसँगै ढुंगे धारासमेत रहेको हुन सक्ने अनुमान छ । धारामाथि राखिने ढुंगाका कलाकृति पोखरी छेउमै भेटिएका छन् । पोखरीको दक्षिण दिशाबाहेक चारैतिर प्रशस्त दिगु द्यो (देवता) छन् । अक्षयतृतीयाका दिन भक्तपुरका स्थानीयवासी सिद्धपोखरी र रानीपोखरीमा भेला भएर देवाली मनाउने गर्छन् । सेनाले स्थानीय देवाली पूजाबाहेक अन्य समयमा सर्वसाधारणलाई पोखरी प्रवेशमा रोक लगाएको छ ।

भक्तपुरका प्रजापति, जोन्छे, धौभडेल, अवाल, मानन्धरलगायत समुदायको दिगु द्यों (कुलदेवता) पूजा गरी देवाली मनाउने स्थानसमेत रानीपोखरी क्षेत्र हो । सेनाको हातामा रहेको रानीपोखरी कुलदेवताका लागि मात्र वर्षमा एक दिन खुल्ने गरेको नगरपालिकाले जनाएको छ । नगरभित्रका पोखरीमध्ये सबभन्दा सुन्दर भएकै कारण रानीपोखरी नामकरण भएको मानिन्छ । प्रताप मल्लले आक्रमण गर्दा क्षति पुगेको पोखरीको नेपाल संवत् ७९८ मा जितामित्र मल्लले जीर्णोद्धार गरेपछि ‘न्हु पुखु’ नामले पनि यो पोखरी चिनिन थालेको श्रेष्ठले बताए ।

पोखरी जीर्णोद्धार गर्न एक करोड बजेट

इतिहास बोकेको रानीपोखरी संरक्षण गर्न प्रदेश ३ सरकारले यस वर्ष एक करोड बजेट विनियोजन गरेको छ । सात वर्षअघि कान्तिपुरले खिचेको तस्बिरमा पानीले भरिएको पोखरीको संरक्षण नहुँदा अहिले झारले ढपक्कै ढाकेको छ । पोखरीको बीच भागमा मात्रै पानी देखिन्छ । यो पानी कसैले हालेको होइन, प्राकृतिक रूपमा जम्मा भएको हो ।

नगरपालिकाले शनिबार गरेको सरसफाइका क्रममा पनि पोखरीको डिलको मात्रै घाँस काटेर सफाइ गरिएको छ । ‘पोखरीको सफाइ र जीर्णोद्धार गर्न प्रदेश सरकारले बजेट छुट्याइसकेको छ,’ मेयर प्रजापतिले भने, ‘अब पुरानै रूपमा फर्काउँछौं ।’ पोखरी नगरपालिकालाई हस्तान्तरण गर्न आग्रह गर्दै नगरपालिकाले रक्षा मन्त्रालयलाई पत्राचार गरिसकेको छ । पोखरी खुला गरिए सर्वसाधारणले पोखरी वरिपरिका रूखमा सधैं बस्ने चमेरोका झुन्डसमेत देख्न पाउने छन् ।

उपत्यकामा सीमित स्थानमा मात्रै चमेरो भेटिन्छन् । पोखरी सर्वसाधारणलाई खुला गर्दा सुरक्षा खतरासमेत केही छैन । पोखरीको पश्चिमतर्फ सेनाले कलेज चलाएको छ भने उत्तर पूर्वमा खेल मैदान छ । सल्लाघारी हुँदै दूधपाटी जाने मूल बाटोसँगै जोडिएको पोखरीको बाहिरी भागमा वरिपरि पर्खाल लगाएर सेनाको क्षेत्रमा सर्वसाधारण जान नसक्ने गरी खुला गर्नुपर्ने स्थानीयको माग छ ।

मौलिक शैलीमा पुनर्निर्माण गरिने

चर्चामा नरहेको भक्तपुरको ऐतिहासिक रानीपोखरीलाई प्राप्त प्रमाणका आधारमा मौलिक शैलीमा पुनर्निर्माण गरिने भएको छ । नगरपालिकाको नियमित कार्यक्रमअन्तर्गत शनिबार सरसफाइ गर्दै नगर प्रमुख प्रजापतिले मौलिक शैलीमा पुनर्निर्माण गर्न पुरातत्त्वविद्, इतिहासविद्हरूसँग छलफल/अन्तरक्रिया भइरहेको जानकारी दिएका हुन् । इतिहास तथा स्वरूपबारे अध्ययन अनुसन्धान र डिजाइनको काम भइरहेको समेत उनले जानकारी दिए ।

संरक्षण अभावमा अलपत्र परेको पुतली बगैंचासहितको रानीपोखरी संरक्षणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको प्रजापतिले जनाए ।

भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हाताभित्र रहेको रानीपोखरी संरक्षण अभावमा कुरूप बन्दै गएको छ । २०४० मा सैन्य तालिम केन्द्रका लागि सरकारले पोखरी आसपासका सार्वजनिक र सर्वसाधारणको जग्गासमेत अधिग्रहण गरेको थियो । पुतली बगैंचासहित करिब ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

कान्तिपुर दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: