Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काङ्ग्रेस कमजोर बन्नुका पाँच कारण

पार्टीभित्रको चरम गुटबन्दी र तीन दशकको अधिकांश जसो समय सत्ताबाट बाहिर निस्कन नसकेकाले नेपाली काङ्ग्रेसले संसदमा सशक्त प्रतिपक्षीको भूमिका निभाउन नसकेको कतिपय राजनीतिक विश्लेषकहरूले बताएका छन्।

अहिले दुई तिहाईको बलियो सरकार रहेकाले पनि काङ्ग्रेसले सातवटै प्रदेश र केन्द्रमा रचनात्मक प्रतिपक्षको भूमिका निभाउन नसक्दा उसैलाई ठूलो घाटा पुग्ने उनीहरूको तर्क छ।

कांग्रेसकै कतिपय नेताहरू भने पार्टीभित्र गुटगत विचलन देखिए पनि नीतिगत राजनीतिमा कुनै मतभेद नभएको दाबी गर्छन्।

कमजोर प्रतिपक्ष
दशैँपछि काङ्ग्रेसको चियापान कार्यक्रममा पुगेका सत्ताधारी दल नेपाल कम्यूनिष्ट पार्टीका वरिष्ठ नेता एवं झलनाथ खनालले “यो देशको प्रमुख प्रतिपक्षी दल कहाँ गएछ भनी खोज्न आएको” भन्दै कटाक्ष गरेका थिए।

कतिपयले उनको उक्त भनाइलाई प्रमुख प्रतिपक्षी दल र आफ्नै पार्टीका प्रधानमन्त्रीविरूद्धको अभिव्यक्तिका रूपमा समेत अर्थ्याए।

तर, विश्लेषकहरू भन्छन्, “खनालले भनेझैँ प्रमुख प्रतिपक्षका रूपमा काङ्ग्रेसको भूमका के रह्यो भनेर खोज्नुपर्ने अवस्था छ।”

उसो त कांग्रेसकै नेताहरूको अभिव्यक्तिमा समेत त्यो कहिलेकाँही झल्कने गरेको छ।

प्रमुख प्रतिपक्षी दलको भूमिका बलियो हुन नसक्दा सत्ताधारी दललाई आफुखुशी काम गर्ने मैदान खाली हुन गएको विश्लेषण हुन थालेपछि पार्टीका एकजना केन्द्रीय सदस्य शेखर कोइरालाले त आफ्नो पार्टी इतिहासकै कमजोर अवस्थामा रहेको टिप्पणी गरेका थिए।

उनले विभाजित मानसिकता लिएर सरकारविरुद्ध लड्न नसक्ने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य काङ्ग्रेस विगत तीन दशकदेखि सत्तामा वा सत्ताको खेलमा मात्र व्यस्त बनिरहेकाले प्रतिपक्षमा बसेर के गर्ने भन्नेमा अलमलिएको बताउँछन्।

“तीन दशकको सत्ता अभ्यासमा काङ्ग्रेस सत्ताभन्दा बाहिर बसेर सोच्ने अवस्था आएन। कि सत्तामा वा सत्ता बाहिर रहँदा सत्तामा कसरी पुग्ने भन्ने खेलमै व्यस्त भयो,” उनी भन्छन्, “अहिले दुई तिहार्इको सरकार गठन भएकाले त्यो सम्भावना बन्द भयो।”

उनी त्यसले तल्लो तहसम्म अलमल भएको बताउँछन्।

उनी अब के गर्ने भन्ने बारेमा पार्टी सभापति शेरबहादुर देउवाकै तहमा समेत त्यो सोच नदेखिएको दाबी गर्छन्।

विश्लेषकहरूका अनुसार पार्टीका ५ कमजोरी

•सातवटै प्रदेशमा काङ्ग्रेस विपक्षमा छ। तर त्यहाँ के भूमिका निभाउने भन्नेमा अलमलिएको देखिन्छ।

•संघ, प्रदेश र स्थानीय तहसम्मका कार्यकर्ताहरूलाई प्रशिक्षण दिएर सशक्त विपक्षी बनाउने सोच केन्द्रीय तहमा आएको छैन। देशको नयाँ संरचनामा भिज्न पार्टी असफल छ।

•संविधान अनुसार पार्टीको विधान बनेको छैन।

•देउवा सभापति बनेको अढाई वर्ष पुगिसक्दा पनि संगठन र विभागहरू नबन्नु।

•गुटबन्दी

पार्टी भित्रको चरम आन्तरिक गुटबन्दी झाँगिदै गएकाले नै उसलाई सबैभन्दा कमजोर बनाएको कतिपयको विश्लेषण हुने गर्छ।

विश्लेषकहरूका अनुसार देउवालाई अधिनायकवादको संज्ञा दिंदै उनीविरुद्ध गुटबन्दीमा लाग्ने समूह र सो समूहलाई हाबी हुन नदिने देउवाको दाउले पार्टी कमजोर हुन गएको हो।

जसले गर्दा नेताहरूले रचनात्मक भूमिकातर्फ ध्यानै दिएका छैनन्।

कतिपय के पनि ठान्छन् भने आन्तरिक गुटबन्दीका मुख्य पात्रका रूपमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह कृष्णप्रसाद सिटौला, शेखर कोइरालालगायत पार्टी सभापति बन्ने दाउमा देखिन्छन्।

उनीहरू महासमिति बैठकमा ती नेताहरूले आफू बलियो हुने वा विधान परिवर्तनको नाममा राजनीति गरिरहेका छन्।

चुनाव जितेर संसदमा पुग्न नसकेकाले पनि उनीहरूले आफ्नो प्रभुत्व देखाउन पार्टीभित्रको गुट राजनीतिलाई उपयोग गरेको मान्नेहरूको कमी छैन।

तर संसदमा रहेकमा सभापति देउवा, महामन्त्री शशांक कोइरालालगायतले पनि गुटबन्दीको खेललाई छाड्न सकेको भने देखिदैन।

नीतिगत एकता

पार्टीभित्रको गुटबन्दी प्रजातान्त्रिक अभ्यासमा नौलो नभएको र नेपाली काङ्ग्रेसमा त झन् गुटबन्दीकै इतिहास रहेको आचार्यको तर्क छ।

केन्द्रीय समितिकी एक सदस्य महालक्ष्मी उपाध्याय गुट-उपगुटले पार्टीलाई कमजोर बनाएजस्तो देखिए पनि नीतिगत विषयमा भने पार्टीमा मतभेद नभएको बताउँछिन्।

उनले भनिन्, “निर्वाचनमा पराजयपछिको मानसिकताले मात्र विश्लेषण भइरहेको छ। जुन गलत छ। निश्चित विषयमा गुटबन्दी अस्वाभाविक हुन सक्दैन। तर व्यक्तिका लागि भइरहेको गुटबन्दीले भने पार्टी कमजोर भइरहेको छ। यो बिचलनलाई पार्टीको आगामी महासमिति बैठकमा टुङ्ग्याउनुपर्छ।”

सुधार

कार्यकर्ताहरू भन्छन्, हारेका नेताहरू पछाडि हटे पार्टी सुधारको बाटोमा अगाडि बढ्न सक्छ।

कतिपयको भनाइमा पार्टीभित्रको स्वार्थी समूहलाई विस्थपित नगरी सुधार सम्भव देखिदैन।

विश्लेषक आचार्य भन्छन्, “कतिपय नेताहरू लाखापाखा लागेका छन्। कोही मधेश आन्दोलनका नाममा त कोही पार्टी भित्रको विकृतीको नाममा। तिनीहरूलाई फर्काउनु पर्‍यो। स्थानीय तहमा नेता जन्माउनु पर्‍यो।”

शनिबार बसेको केन्द्रीय समितिको बैठक भने पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको निर्वाचन सम्बन्धी विवादमा केन्द्रीत रहेको बताइएको छ।

चरम आन्तरिक विवादका कारण नेविसंघको निर्वाचन समयमा गराउन नसकेको काङ्ग्रेस नेतृत्वले पटक-पटक पछि धकेलिएको र चाडै हुने भनिएको महासमिति बैठकबारे कस्तो रवैया देखाउँछ भन्नेमा धेरैको चासो देखिन्छ।

बिबिसी नेपालीबाट साभार गरिएको

कमेन्ट गर्नुहोस्

%d bloggers like this: