Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गिट्टी कुटेरै परिवार धानेका महिला

मुसिकोट, मङ्सिर २ ।

रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका–३ डाँराकमदकी बिना वादी उमेरले ३६ वर्षको भए । उनको साथमा दुई छोरा र दुई छोरी छन् । ८ वर्षअघि बिनाका पति गङ्गाराम वादीले दोस्रो बिहे गरे । त्यसयता परिवार लालनपालनको सबै जिम्मेवारी बिनाको काँधमा आयो । बिहेपछि भारत पसेका गङ्गाराम अहिलेसम्म घर फर्केका छैनन् ।

तर पतिले छाडेर गएदेखि विगत सात वर्षदेखि बिनाको दैनिकी गिट्टी कुटेरै चलिरहेको छ । यहाँको सिम्रुतु बजारदेखि एक किलोमिटर उत्तरतर्फ पर्ने थारेखोलाको चिसोको बेवास्ता गर्दै हरेक दिन बिनाले सडक छेउमै गिट्टी कुट्दै आएका छन् । घरको आर्थिक अवस्था कमजोर भएको र पतिले अर्को बिहे गरेकै कारण चार सन्तान र आफ्नो जीवन गुजाराका लागि गिट्टी कुट्नुपर्ने बाध्यता रहेको उनले बताए ।

“छोराछोरी कसरी पाल्ने ? श्रीमान्ले एक पैसा पठाउँदैनन्, गिट्टी कुुटेरै सामान्य घरखर्च चलेको छ । कुनैदिन त भोकै बस्छौँ,” बिनाले भने । ७ वर्षदेखि गिट्टी कुट्न शुरु गर्नुभएकी बिनाका छोराछोरीले पनि हाल उहाँसंगै गिट्टी कुट्ने गर्दछन् । आर्थिक अवस्था नाजुक भएकै कारण चार सन्तानलाई विद्यालयमा पढाउन नसकेको उनले बताए ।

परिवार पाल्नकै लागि गाउँमा गिट्टीबाहेक अन्य कुनै विकल्प नभएकाले लामो समयदेखि नै गिट्टी कुटेर सामान्य घर व्यवहार चलेको बिनाले बताए । तर आफूले दुःख गरेर दिनभर कुटेको गिट्टीले गाउँमा उचित मूल्य नपाउँदा उहाँलाई आफ्नो परिश्रम खेर गएजस्तै लागेको छ ।

स्थानीय बजार तथा गाउँमा पक्की घर निर्माण गर्ने व्यक्तिले सस्तो मूल्यमा गिट्टी खरीद गर्न खोज्दा आफूहरु मारमा परेको बिनाको दुखेसो छ । दिनमा पाँच बोरा जति मात्र गिट्टी कुट्ने बिनालाई आफ्नो उमेर समेत ढल्कँदै गएकोले अबका दिनमा परिवारको जोहो कसरी गर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ । पति साथमा नहुँदा गिट्टी कुटेरै भए पनि आठ वर्ष जेनतेनका साथ हिम्मत गरेर छोराछोरी पाल्नुभएकी बिनालाई अब बाँकी दिनको मात्र चिन्ता लाग्ने गरेको छ ।

बिनाका सबै सन्तान उमेरले ठूला भइसकेका छन् । पहिलो छोरा केसी वादी २० वर्षका भए भने सबैभन्दा कान्छी छोरी प्रमिला वादी १३ वर्षकी भइन् । तर बिनाले सबै छोराछोरीलाई गिट्टी कुटेरै भए पनि हालसम्म जेनतेन खुशी दिलाएका छन् ।

त्यस्तै डाँराकमदकै ४० वर्षीय मनकली परियारले पनि दुई वर्षदेखि गिट्टी कुट्दै आएका छन् । बिहानदेखि साँझसम्म हातमा फोका उठ्ने गरी गिट्टी कुट्दासमेत यसबाट सोचेजस्तो आम्दानी हुन नसकेको उनको भनाइ छ । घरको आर्थिक अवस्था न्यून भएको र परिवारको घरखर्च टार्नका लागि चिसो ठाउँमा बसेर दिनभर गिट्टी कुट्नु परेको उनी बताउँछन् । पाँच सन्तानकी आमा मनकलीको जेठो छोरा बिहे गरेर अलग भइसकेका छन् । मनकलीका पति घरको रेखदेख गर्नुहुन्छ । तर कान्छो छोरा शारीरिक रूपमा कमजोर भएकोले उनीलाई थप पीडाले पिरोल्ने गरेको छ ।

तीन छोरीसँगै कान्छो छोराको लालनपालनको सम्पूर्ण जिम्मेवारी परियारको हातमा निर्भर छ । मनकलीका अनुसार गिट्टी कुटेर आएको पैसाले सामान्य घरखर्च मात्र पूरा हुने गरेको छ । “गाउँमा गिट्टीको मूल्य प्रतिबोरा रु ७० छ, जेनतेन दिनमा ३५० जति कमाइ हुन्छ,” उनले भने । परियारका अनुसार घरमा आयआर्जन गर्ने अन्य कुनै स्रोत नहुँदा गिट्टी नै परिवारको मुख्य पेशा भएको छ । आफूहरुले कुटेको सबै गिट्टी गाउँमै बिक्री हुने गरेको उनले बताए ।

त्यस्तै डाँराकमदकी ३० वर्षीया रीता राना ओलीले पनि घरखर्च टार्ने भन्दै यस वर्षदेखि थारेखोला किनारमा गिट्टी कुट्न शुरु गरेका छन् । घरको उत्पादनले वर्षभरि खान नपुग्ने भएकोेले घरव्यवहार चलाउने भन्दै गिट्टी कुट्ने काममा लागेको उनको भनाइ छ । श्रीमानले गाउँमा ज्याला मजदुरी गर्दै आएको, तर परिवार पाल्न अप्ठेरो भएकोले यो वर्षबाट आफूले पनि गिट्टी कुट्न थालेको ओलीले बताए ।

उनले गाउँमा गिट्टीको मूल्य एकदम कम भएको गुनासो सुनाउनुभयो । यसका लागि आफूहरुको परिश्रम खेर नजाने गरी अब कुनै पनि निकायले गिट्टीको मूल्य निर्धारण गरिदिनुपर्ने कुरा सुनाए ।

जिल्लाको त्रिवेणी गाउँपालिकाको सिम्रुतु बजारदेखि खारासम्म जाने ग्रामीण सडकखण्डमा यहाँका धेरैजसो दलित समुदायका महिलाले लामो समयदेखि गिट्टी कुट्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका दलित तथा केही गैरदलित परिवारका महिलाले गिट्टी कुटेरै परिवारको लालनपालनदेखि घरखर्च टार्दै आएको बताउने गरेका छन् ।

पछिल्लो समय गाउँमा समेत सडक सञ्जाल विस्तार हुनथालेपछि गाउँका न्यून आय भएका परिवारका महिला गिट्टी कुट्ने पेशामा आबद्ध भएका हुन् । राप्ती लोकमार्गले छोएको यस गाउँपालिकाको अधिकांश खोला किनार तथा विभिन्न ठाउँमा यहाँका महिलाले गिट्टी कुटेर नै जीविकोपार्जन गर्दैआएका छन् । यसक्षेत्रका महिलाले कुटेको गिट्टी स्थानीय बजार झुल्नेटा, सिम्रुतु, जिबाङ, खारा तथा खुम्चेरीलगायत ठाउँमा बिक्री हुने गरेको छ ।

गिट्टीको मूल्य प्रति ट्र्याक्टर ५ हजार तथा प्रति बोरा ७० रुपैयाँको दरले बिक्री हुने गरेको स्थानीय बताउँछन् । यता गाउँपालिकाले भने गिट्टी र बालुवा उत्खनन् तथा बिक्रीका लागि अहिलेसम्म कुनै पनि मापदण्ड बनाइ नसकेको जानकारी दिएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: