Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नागरिकताकाे विषय ठीक ढंगले सम्बोधन गर्नुपर्छः गृहमन्त्री थापा

काठमाडौं, कार्तिक २ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था समितिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफललाई कसरी अघि बढाउने भनी आयोजना गरेको बैठकमा उनले नागरिकताको विषयलाई ठीक ढङ्गले सम्बोधन गर्न संवेदनशील र गम्भीरताका साथ छलफल गर्न जरुरी रहेको बताए ।

गृहमन्त्री थापाले भने, ‘नागरिकताको सवालमा ठीक ढङ्गले सम्बोधन गर्न नसक्दा कैयौं राष्ट्रको स्वाधीनता गुमेको हामीले देखेका छौँ ।’ यसअघि छलफलमा भाग लिँदै समितिका सदस्य प्रेम सुवालले नागरिकताको सवाल छिमेकीसँगको खुला सिमानासँग जोडेर मात्र अघि बढाउनु उपयुक्त हुने सुझाव दिए ।

सांसद रेखा शर्माले संविधानभित्रको जटिल र गम्भीर विषयका रुपमा रहेको नागरिकताको विषयमा देखिएको विभेदको न्यूनीकरण र उठेका प्रश्नमा न्याय हुने ढङ्गबाट निर्णमा पुग्नुपर्ने बताइन् । सांसद यशोदाकुमारी गुरुङ सुवेदीले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनताको पाटोलाई विचार पुर्याएर राष्ट्र र राष्ट्रियतासँग जोडिएर आएको नागरिकताको विषयलाई राजनीतिक निर्णयका आधारमा टुङ्ग्याइने सवाल भएको धारणा व्यक्त गरिन् ।

सांसद जनार्दन शर्माले नेपाली नागरिकताको प्रमाणपत्र नेपालीले प्राप्त नगरेको तथा विदेशीले प्राप्त गरेको भन्ने चर्चा चलिरहेको सन्दर्भमा राष्ट्र, राष्ट्रियता र आम नागरिकलाई पनि साथमा लिएर मात्र अघि बढ्नु उचित हुने सुझाव प्रस्तुत गरे । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: