तीन महिनाभित्र पार्टी एकता टुङ्गीन्छः अध्यक्ष दाहाल

दोलखा, मंसिर २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महीनाभित्र पार्टीको तल्लो कमिटीसम्म एकता गरिसक्ने बताएका छन् ।

दोलखाको चरिकोट आफ्ना छोरा प्रकाश दाहालको प्रथम स्मृतिमा रिनेजम नेपालले आइतबार आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटनमा उनले प्राविधिक कारणले पार्टी एकताको कार्य ढिलाई भएको उल्लेख गरे ।

‘दुई जना अध्यक्षसहित मङ्सिर ६ गते सचिवालय बैठक बस्ने, प्रदेश कमिटी टुङ्ग्याउने, केन्द्रीय समितिका कार्य विभाजनको प्रस्ताव टुङ्ग्याउने र जिल्ला कमिटीका पदाधिकारी टुङ्ग्याउने ढङ्गले जाने तयारी भएको छ’ दाहालले भने ।

पार्टी एकतामा कुनै विवाद नभएको स्पष्ट पार्दै उनले भने, ‘तपाईंहरूलाई नेतामा विवाद भएर, अन्तरविरोध परेर पार्टी एकता नटुङ्गिएको हो कि भन्ने लागेको हुनसक्छ । तर, कमिटी बनाउन विवाद, झमेला भएर ढिलार्इ भएको होइन ।’ उनले जनमानसमा सरकारको केही आलोचना भए पनि सरकारले लोकप्रिय कार्य गरेको दावी गरे ।

रिनेजम नेपालले आयोजना गरेको फुटबल प्रतियोगितामा दोलखालगायत देशभरका ११ समूहको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरस्कार राशि रु १० लाख रहेको आयोजकले बताएको छ । -रासस

कमेन्ट गर्नुहोस्