Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अब गाईको पनि जन्मदर्ता !

बुटवल, मंसिर ३। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि गाईको जन्म, बसाइँसराइ र मृत्यु दर्ता गर्ने भएको छ । अनुत्पादक भएपछि चौपाया सडकमा छाड्ने प्रवृत्ति बढ्दै गएपछि नगरपालिकाले त्यसलाई रोक्न नयाँ उपाय निकालेको हो ।

गाईको विवरण दर्ता गराएबापत किसानले भत्तासमेत पाउनेछन् । छाडा गाई बढ्दै जाँदा सडक दुर्घटना र किसानको बालीनालीमा नोक्सानी हुने समस्या बढेको र यसलाई रोक्ने उद्देश्यले यस्तो उपाय निकालेको र यसलाई छिट्टै कार्यान्वयन गरिने नगरपालिकाले जनाएको छ ।

गाईको जन्म र मृत्यु दर्ता तथा बसाइँसराइ गराउने किसानलाई नगरपालिकाले यातायात खर्चस्वरूप भत्ता उपलब्ध गराउने सोच बनाएको छ । गाईको घटना दर्ता गराउन वडा कार्यालय आउने किसानलाई प्रोत्साहन गर्न भत्ताको अवधारण ल्याइएको हो ।

किसानले दूध दिँदासम्म गाई पाल्ने र अनुत्पादक भएपछि गोठबाट निकालेर रातारात छोडिदिने परिपाटीले हैरान भएपछि नगर कार्यपालिकाको बैठकबाट यस्तो नीति लिइएको हो । यसका लागि सबैभन्दा पहिले चौपायाको तथ्यांक लिइनेछ ।

यसरी तथ्यांक लिइएको गाईलाई ट्याग लगाइनेछ । विवरण संकलन भएपछि गाई ब्याउँदा, मर्दा वा किनबेच गर्दा त्यसको जानकारी वडा कार्यालयमा दिनुपर्नेछ । यसो गर्दा कसैले पनि गाईलाई छाडा छाड्न नसक्ने र छाडिहालेमा कारबाही गर्न सकिने नगरपालिकाको विश्वास छ । राजधानी दैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: