Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दिसा पिसाब व्यवस्थापनमा उदासीनता

चितवन, मङ्सिर ३ ।

मानव स्वास्थ्यमा गम्भीर असर पार्ने दिसा– पिसाबको व्यवस्थापनमा सरकार उदासीन हुँदा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर परिररहेको छ। समयमा दिसा–पिसाब नगरेमा विभिन्न रोग लाग्न सक्छ भने त्यही दिसा–पिसाब जहाँ पायो त्यही गरेमा सरुवा रोग पनि लाग्नसक्छ ।

तामझामका साथ खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि जिल्लाका सार्वजनिकस्थलमा पर्याप्त शौचालय नभएकाले सर्वसाधारणले कष्ट व्यहोर्दै आएका छन् । जिल्ला समन्वय समितिका संयोजक कृष्ण डल्लाकोटी स्थानीय तहको विकास भनेको ढल निकास र कालोपत्रे मात्रै ठानिदिँदा अन्य विषय ओझेलमा परेको बताउँछन् । सार्वजनिक शौचालय आवश्यक भएर पनि नबनाइँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ भन्दै उनी मुख्य शहरी क्षेत्रमा किनमेलका लागि आउने र लामो दूरीमा यात्रा गर्नेहरू व्यवस्थित शौचालय अभावमा जताततै शौच गर्न बाध्य हुनुपरेको बताउँछन् ।

भरतपुर महानगरपालिकाका इञ्जिनीयर विराट घिमिरेले बाटो घाटो हिँड्डुल गर्नेलाई पर्याप्त सार्वजनिक शौचालय उपलब्ध गराउन नसकेको उल्लेख गरेका छन् । भएका शौचालयको पनि व्यवस्थापन नहुँदा प्रयोगमा आएका छैनन् । ठूलो भीडभाड हुने ठाउँमा महानगरपालिकाले बनाएको मोबाइल शौचालय भए पनि छ महीनादेखि यो बिग्रिएर बसेको उहाँ जानकारी दिन्छन् ।

जिल्लामा मानिसको भीडभाड हुने, नारायणगढ बजार, रत्ननगर र पर्सा बजारमा पर्याप्त सार्वजनिक शौचालय छैनन् । यात्रा गर्ने यात्रुका लागि नारायणगढ–मुग्लिन सडक, पूर्वपश्चिम राजमार्ग र पृथ्वी राजमार्गमा पनि सार्वजनिक शौचालय नभएकाले यात्रु खुला ठाउँको भर पर्न बाध्य छन् ।जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामचन्द्र पाठक जहाँ पायो त्यही शौच गर्दा सरुवा घातक रोग फैलने बताउँछन् । शहरी क्षेत्रको सौन्दर्यताका लागि पनि सार्वजनिक शौचालय ठाउँठाउँमा हुनुपर्ने उनको भनाइ छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख शालिकराम पौडेल स्थान व्यवस्थापनको अभावमा सार्वजनिक शौचालय बनाउन कठिन भएको बताउँछन् । पर्याप्त शौचालय नभएको बताउँदै उहाँ आकर्षक शौचालय बनाउने योजना रहे पनि आवश्यक ठाउँमा स्थानको अभावमा शौचालय बनाउन नसकेको हो भन्छन् । कतिपय ठाउँमा शौचालय बनिसकेपछि व्यवस्थापनमा समस्या देखिएकाले पनि शौचालय बनाउन नसकिएको उनको भनाइ छ । बनिसकेका कैयौँ सार्वजनिक शौचालय पनि प्रयोगमा नआइ जीर्ण भैसकेका छन्

समयमा शौच नगर्दा के हुन्छ ?

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपनिर्देशक मूत्ररोग विशेषज्ञ डा निर्मल लामिछाने दिसा–पिसाब समयमै गर्नुपर्नेमा जोड दिन्छन् । उनका अनुसार मूत्रथैलीमा २०० मिलिलिटर पिसाब पुगेपछि शौच गर्न मन हुन्छ । यो पिसाब बढेर ३५० मिलिलिटर पुगेपछि मानिस पिसाब च्यापेर शौचालय खोज्न थाल्दछ । यती गर्दा पनि पिसाब फेर्न नपाएमा पिसाब थैलीबाट मिर्गौलातर्फ पिसाब फर्किने उनी जानकारी दिन्छन् । मिर्गाैलाबाट दुई वटा नली हुँदै पिसाब बगेर पिसाब थैली भरिन्छ । समयमा पिसाब नफेरेमा फर्किएर पुनःमिर्गाैलामा फर्किने हुँदा यसबाट मिर्गौलामा दबाब भइ पिसाब छान्न समस्या हुने डा लामिछानेको भनाइ छ।लामो समयसम्म पिसाब नफेर्ने गरेमा दीर्घकालीनरुपमा मिर्गौलाको समस्या देखिने र दिसा पनि समयमा नगर्दा दिसाको पानीको मात्रा कम हुँदै जाने र गोटा पर्नाले थप जटिलता थपिनेमा उनी जोड दिन्छन् ।

खुला दिसा–पिसाब गरे के हुन्छ ?

खुला ठाउँमा दिसा–पिसाब गर्दा झाडापखाला, कमलपित्त, आउँ, हैजा, विषमज्वरो जस्ता रोग लाग्न सक्छन् । नेपाल चिकित्सक सङ्घका जिल्लाअध्यक्ष तथा वरिष्ठ फिजिसियन डा प्रकाश खतिवडा खुला ठाउँमा दिसा–पिसाब गर्दा पानीमा मिसिएर महामारी रोग फैलिन सक्ने बताउँछन् । झिङ्गामार्फत् त्यस्ता रोग सर्ने र भयावह हुन सक्ने भएकाले शौचालयमा मात्रै दिसाब पिसाब गर्न र त्यसपपछि राम्रोसँग हात धुनपर्नेमा उनको सुझाव छ ।

एक ग्राम दिसामा एक करोड भाइरस, १० लाख ब्याक्टेरिया, एक हजार परजीवी र १०० जुकाको अण्डा हुनसक्ने बताइन्छ । घातक रोग लगाउने यी जीवाणुलाई आँखाले राम्रोसित देख्न सकिँदैन । दिसाजन्य रोगका कारण वर्षेनी झाडापखालालगायत प्रकोप फैलिने गरेका छन् । यस्ता रोगले सयौँको ज्यान जाने गरेको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: