Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ऊर्जा मन्त्रीको दाबी– सुनकोशी डाईभर्सनले हिमाल र पहाडलाई जोड्ने छ

काठमाडौं, मंसिर ३ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन ‘अनन्त’ ले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण भ्रमण गरेका छन् । डिजाइन चरण सम्पन्न हुने अवस्थामा रहेको उक्त आयोजनाको सोमबार सिन्धुलीको खुर्कोट पुगेर उर्जामन्त्री पुनले निरीक्षण गरेका हुन् ।

सिन्धुलीका प्रतिनिधिसभा सदस्य रहेका पूर्व कृषीमन्त्री हरिवोल गजुरेल र गणेश पहाडीसंगै खुर्कोट पुगेका मन्त्री पुनले आयोजनाको सम्पूर्ण सर्वे चार महिना भित्र सम्पन्न हुने जानकारी दिए ।

ऊर्जामन्त्री पुनले आयोजनाको ड्यामस्थलको भ्रमण गर्नुका साथै परियोजनाका प्रमुख सुशिल आचार्यसहित स्थानिय जनप्रतिनिधीसंग समेत छलफल गरेका छन् । उनले आयोजनाको लागी स्रोत जुटाउने काम जारी रहेको भन्दै यसै आर्थिक वर्षभित्र परियोजना अघि बढाउने बताए । मन्त्री पुनले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवको आयोजना रुपमा अघि बढाउंने घोषणा समेत गरे ।

उनले भने, ‘यो बहुउद्देश्यि परियोजना हो, तयारी अवस्थामा रहेकोले यो परियोजना सरकार, प्रधानमन्त्री र मन्त्रालयको प्राथमिकतामा रहेको छ ।’ निर्माण अवधि ५ बर्ष लाग्ने अनुमान गरिएको उक्त आयोजनाको विद्युत् गृह बनाउन ५२ अर्ब ८८ करोड र सिंचाईतर्फ ३२ अर्ब लागत अनुमान गरिएको छ ।

मन्त्री पुनले उक्त परियोजनालाई अघि बढाउन स्थानिय जनता र जनप्रतिनीधीहरुलाई समेत सहयोग गर्न आग्रह गरे । उनले विकास र पूर्वाधारको माध्यमबाट सुनकोशी मरिन डाईभर्सन परियोजनाले हिमाल र पहाडलाई जोड्नुका साथै राष्ट्रिय एकता निर्माण गर्ने माध्यमको रुपमा समेत उपयोगि हुने धारणा राखे ।

‘सुनकोशी मरिन डाईभर्सन परियोजना तरँई मधेशको कोर दुई नम्बर प्रदेश र पहाडको १ लाख २२ हजार हेक्टरमा सिंचाई सुविधा पुग्दा तरक्की नै हुन्छ, यसले हिमाल, पहाडलाई जोड्नुका साथै राष्ट्रिय एकता समेत निर्माण गर्छ ।’ मन्त्री पुनले कार्यक्रममा भने ।

उनले उक्त परियोजनालाई छिटो सम्पन्न गर्न अत्याधुनिक प्रविधीको प्रयोग गर्ने बताए । ४ महिनाभित्र सम्पूर्ण रिपोर्ट आइसकेपछि यहि आर्थिक वर्षभित्र काम अघि बढाउने जानकारीसमेत मन्त्री पुनले दिए ।

मन्त्री पुनले आयोजनाको सँइटको निरीक्षण समेत गर्नुभएको थियो । सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाबाट दुई नम्बर प्रदेशको १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाई हुनुका साथै मरिन भ्यालीमा पनि सिंचाई सुविधा पुर्याउने लक्ष्य रहेको छ ।

त्यसका साथै उक्त आयोजनाबाट ४२.५ मेगावाट विजुली उत्पादन गर्ने सरकारको लक्ष्य रहेको छ । उक्त आयोजनाका प्रमुख शुसिल आचार्यले उक्त परियोजनाबाट दुई नम्बर प्रदेशलाई खानेपानीको लागी पानी उपलव्ध गराउने लक्ष्य समेत राखिएको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: