Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बजारमा छपाई बिग्रेका नाेट, कतै तपाईसँग त छैन ?

काठमाडौँ — छपाइ बिग्रेका नेपाली नोट आजकल बजारमा बढी भेटिन थालेका छन् । त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकातर्फ सादा कागज मात्र छ भने केहीमा नबुझिने खालको मधुरो प्रिन्ट छ ।

बजारमा भेटिएका त्यस्ता नोटमध्ये धेरैजसो पाँच सय र एक हजार दरका छन् । नोट छपाइका लागि अधिकार पाएको केन्द्रीय बैंकले पर्याप्त सजकता अपनाउन नसक्दा यस्ता नोट बजारमा पुगेका हुन् ।

त्यस्ता सबै नोटको उजुरी बैंक/राष्ट्र बैंकसम्म आइपुग्दैन । यसका दुई कारण छन् । पहिलो राष्ट्र बैंकमा गएपछि शोधभर्नाबापत अर्को नोट पाइन्छ भन्ने सर्वसाधारणलाई जानकारी छैन । दोस्रो मुद्रा संकलनकर्ता (मनी कलेक्टर) कहाँ बिक्री गर्दा वास्तविक मूल्यभन्दा धेरै पैसा पाइन्छ । यसकारण शोधभर्ना पाइन्छ भन्ने जानकारी भएका पनि मनी कलेक्टरमै गएर बिक्री गर्ने जानकारहरू बताउँछन् । ‘यदाकदा बजारमा त्रुटि भएका नोट भेटिने गरेका छन्, ती सबै नोट केन्द्रीय बैंकमा आइपुग्दैनन्,’ एक पूर्वडेपुटी गभर्नरले भने, ‘बजारमा मुद्रा संकलकले वास्तविकभन्दा बढी मूल्यमा किनिदिन्छन् ।’ यसकारण त्रुटिपूर्ण नोटको उजुरी राष्ट्र बैंकमा कम हुन्छ । नोटमा त्रुटि बढदै जाँदा राष्ट्र बैंकको विश्वसनीयतामा प्रश्न उठ्ने भएकाले उजुरी आएन भन्दैमा केन्द्रीय बैंक आरामले बस्न नहुने उनको सुझाव छ ।

अघिल्ला वर्षका तुलना यो वर्ष छपाइ बिग्रेका नोट धेरै भेटिएको बैंकरहरू बताउँछन् । ‘अघिल्ला वर्ष यस्ता नोट निकै कम मात्र भेटिन्थे,’ वाणिज्य बैंकका एक कर्मचारीले भने, ‘यो वर्ष धेरै भेटिएका छन् ।’ पाँच वर्षदेखि निजी बैंकमा काम गर्दै आएका ती कर्मचारीले थपे, ‘विगतमा नक्कली, च्यातिएका, केरमेट भएका नोट धेरै आउँथे, यो वर्ष प्रिन्ट मिस्टेक नोट धेरै भेटिए ।’ सर्वसाधारणले सटहीका लागि ल्याएको नभई बैंकले राष्ट्र बैंकबाट ल्याइएका नोटका बिटामै त्रुटि पूर्ण नोट भेटिएको उनले बताए ।

अर्को एक वाणिज्य बैंकमा कार्यरत महिला कर्मचारीले भनिन्, ‘पाँच सयको एउटा बिटामा ४२ वटामा गभर्नरको हस्ताक्षर नभएको नोट भेटियो । बैंकले सटहीका लागि राष्ट्र बैंक पठाएको छ ।’ अन्य बैंकमा काम गर्ने उनका साथीले पनि त्रुटिपूर्ण नोट भेटाएको उनले सुनाइन् । ‘एउटा जमघटमा मैले छपाइ बिग्रेको नोट भेटेको कुरा साथीहरूलाई सुनाए,’ उनले थपिन्, ‘त्यसपछि त मैले नि भेटेको भन्ने धेरै भेटिए ।’ राष्ट्र बैंकले लापरबाहीले यस्ता नोट बजारमा आउने गरेको बैंकरहरूको बुझाइ छ । ‘सुरुमै राम्रोसँग सटिङ गरेर पठाउनुपथ्र्यो,’ अर्का एक बैंकरले भने, ‘यहाँनेर राष्ट्र बैंक चुकेको देखियो ।’

मुद्रणको क्रममा गल्तीको सम्भावना हुने भएकाले राष्ट्र बैंक सचेत र जिम्मेवार हुनुपर्ने राष्ट्र बैंकका पूर्व कामु गभर्नर कृष्णबहादुर मानन्धरले सुझाए । ‘कमजोरी प्रिन्टिङ मेसिनको होला तर यसमा पूर्ण जिम्मेवार राष्ट्र बैंक हुनुपर्छ,’ उनले थपे, ‘कहाँ, किन र कसरी गल्ती भएको हो त्यो पहिचान गरी कमजोरी सच्याउनुपर्छ ।’ नोट छपाइको क्रममा शुद्धाशुद्धि (प्रुफरिडिङ) गर्न जाने राष्ट्र बैंकको टोलीले राम्रोसँग जिम्मेवारी बहन नगर्दा यस्ता समस्या बढ्ने उनको तर्क छ ।

शुद्धाशुद्धि हेर्न सक्षम कर्मचारी पठाउन नसक्दा यस्तो नोट छपाइमा त्रुटि भेटिने गरेको राष्ट्र बैंकका एक पूर्वकार्यकारी निर्देशकले बताए । ‘एक पटक नोट छपाई गर्दा प्रुफ हेर्न दुई पटक राष्ट्र बैंकको छुट्टाछुट्टै टोली जान्छ,’ उनले भने, ‘सक्षम र अनुभवी नभई भागबन्डाका आधारमा टोली चयन हुन्छ । अनि कसरी हुन्छ गुणस्तर ?’ राष्ट्र बैंकले भागबन्डाका आधारमा विदेश पठाउने प्रवृत्ति बढै जानुको परिणाम नोटमा त्रुटि भेटिने गरेको ती अधिकारीको आरोप छ । ‘राष्ट्र बैंकले उद्देश्य तथा औचित्यका आधारमा कर्मचारीलाई विदेश पठाउनुपर्छ नकि भागबन्डाका आधारमा,’ उनले थपे ।

धेरै नोटमा त्रुटि आएको भए प्रिन्टिङ कम्पनीको गुणस्तरमा प्रश्न उठ्ने भएकाले राष्ट्र बैंकले यथाशीध्र वास्तविकता पहिल्याउनुपर्ने उनको सुझाव छ । ‘त्रुटिपूर्ण नोट बजारमा पुग्नुमा प्रिन्टिङ कम्पनी र त्योभन्दा बढी राष्ट्र बैंक दोषी छ, ती अधिकारीले भने, ‘समस्या देखियो भनेर भन्न नसक्नु राष्ट्र बैंकको कमजोरी हो ।’

नोट छपाइमा त्रुटि हुनु सामान्य भएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘यसलाई हामी ठूलो रूपमा लिँदैनौं,’ उनले भने, ‘प्रिन्टिङका क्रममा यस्ता त्रुटि आइरहन्छन् ।’ नयाँ छपाइ भएर आएका नोट तथा सिक्कामध्ये पाँच प्रतिशत नोट स्वतन्त्र नमुना संकलन विधिका आधारमा छपाइ त्रुटि जाँच गरी चलनचल्तीमा पठाउने कानुनी व्यवस्था रहेको उनले बताए । ‘बजारमा भेटिएका त्रुटिपूर्ण नोट ९५ प्रतिशतभित्र रहेका होलान्,’ उनले भने, ‘यस्तो नोटबापत राष्ट्र बैंकले शोधभर्ना दिन्छ ।’ नोट छपाइमा त्रुटि आउने सम्भावना रहने भएकै कारण प्रिन्टिङ कम्पनीले ५ हजारवटा प्रतिस्थापन (रिप्लेसमेन्ट) नोट पठाउने गरेको उनले बताए । ‘पाँच हजार अतिरिक्त नोट पठाउने नोट छपाइ सम्झौतामै उल्लेख हुन्छ,’ उनले थपे ।

‘नयाँ छपाइ भएर आएका नोट वा टकमरी भएका सिक्कामध्ये दैविक छनोट प्रक्रिया (र्‍यान्डम स्याम्पलिङ) का आधारमा विभागले पाँच प्रतिशत नोट वा सिक्का छपाइ त्रुटिको जाँच गरेपछि मात्र चलन चल्तीमा पठाइनेछ,’ नोट छपाइ तथा सिक्का टकमारीसम्बन्धी निर्देशिकामा उल्लेख छ ।

जुनसुकै कारणले भए पनि छपाइ बिग्रेका नोट बजारमा जान नहुने राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । ‘त्रुटि भएको हुन सक्छ, साथीभाइले सबै हेर्न भ्याएनन् होला । प्रिन्टिङ मिस्टेक पनि हुन सक्छ,’ उनले थपे, ‘रुजु गरेर दिनुपर्नेमा दिन सकिएन होला । केही मात्रामा राष्ट्र बैंकको पनि गल्ती हो ।’ बजारमा छपाइ बिग्रेका नोट भेटेमा राष्ट्र बैंकमा आएर सटही गर्न उनले सर्वसाधारणलाई आग्रह गरे । ‘त्यस्ता नोटबापत शोधभर्ना पाइन्छ,’ उनले भने, ‘सर्वसाधारणले आफूलाई पाएक पर्ने स्थानको राष्ट्र बैंकको शाखामा गएर नोट सटही गर्न सक्छन् ।’

त्यसो त राष्ट्र बैंकको नोट सट्टाभर्नासम्बन्धी नियमावलीमा छपाइ बिग्रेका नोटको शोधभर्ना दिने व्यवस्था छ । ‘छपाइ बिग्रेका नोट साबुत (सिङ्गो/सग्लो) रूपमा सट्टाभर्नाका लागि दाबी पेस हुन आएमा त्यस्ता नोटको पूरा मूल्य सट्टाभर्ना दिइनेछ,’ नियमावलीमा उल्लेख छ । तर, राष्ट्र यो कुरा सर्वसाधारणसमक्ष पुर्‍याउन राष्ट्र बैंकले न कुनै सूचना प्रकाशित गरेको छ न त वित्तीय शिक्षा नै दिएको छ । बजारमा त्रुटिपूर्ण नोट संख्या बढ्नु राम्रो नभएको र यसले राष्ट्र बैंकसँगै स्वदेशी मुद्राप्रति जनताको विश्वास गुम्दै जाने विज्ञहरू बताउँछन् ।

साभार: कान्तिपुर दैनिक

कमेन्ट गर्नुहोस्

%d bloggers like this: