Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गोकर्णस्थित ‘राष्ट्रिय सहिद तथा शान्ति पार्क’ निर्माण अलपत्र !

काठमाडौँ, मंसिर ५ ।

ठेकेदार कम्पनीहरू डेढ वर्षदेखि सम्पर्क विहीन भएपछि गोकर्णस्थित ‘राष्ट्रिय सहिद तथा शान्ति पार्क’ निर्माण अवरुद्ध भएको छ । पार्कका अलपत्र छाडिएका भौतिक संरचनासमेत भत्कने अवस्थामा पुगेका छन् ।

सरकारले पार्क निर्माणका लागि ४६ करोड रुपैयाँ विनियोजन गरिसकेको छ ।

त्यसमध्ये २५ प्रतिशत रकम ठेकेदारले भुक्तानी लिइसकेका छन् । ६ सय ५० रोपनी जग्गामा पार्कका विभिन्न संरचना सुरु गरिएका थिए । सरकारले २०६४ मा पार्क बनाउन चारवटा ठेकेदार कम्पनीलाई ठेक्का दिएको थियो । लामो समयदेखि काम हुन नसकेको जनगुनासोपछि सहरी विकासमन्त्री मोहमम्मद इस्तियाक राई मंगलबार पार्क निर्माणस्थल गोकर्ण पुगे ।

‘यो त अति भयो, सरकारी पैसा ल्याउने, काम नगर्ने ? बजेट बालुवामा पानी खन्याएजस्तो… ठेकेदारलाई कालोसूचीमा राख्ने प्रक्रिया बढाउनोस्,’ राईले आफूसगै निरीक्षणमा गएका मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई भने । सचिव सिंहले अलपत्र भौतिक संरचनासमेत भत्कन थालेकाले प्रक्रिया पुर्‍याएर ठेकेदार कम्पनीलाई कारबाही थाल्ने मन्त्रीलाई आश्वस्त पारे ।

२०६२/६३ को लोकतान्त्रिक आन्दोलनको सम्झनामा बनाउन थालिएको पार्क निर्माण अवरुद्ध हुँदा सहिदको अपमान भएको मन्त्री राईले बताए । डाँफे/गौरी/पर्वत/सुनौला खिम्ती जेभी, बोखिम कन्स्ट्रक्सन शान्ति निर्माण सेवा, सूर्य/आवि/जनपथ/जेभी र चक्रेश्वरी/सूर्यजीवन जेभी निर्माण कम्पनीले उक्त पार्कमा भौतिक संरचना निर्माणको ठेक्का लिएका थिए ।

पार्क निर्माण व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले १ वर्षदेखि प्रयास गर्दा पनि ठेकेदार सम्पर्कमा नआएको बताए । ‘पार्कको प्रगति हुने सकेको छैन, निकै समस्या आएको छ,’ उनले भने, ‘ठेकेदारलाई कारबाही गर्ने हामीसँग अधिकार नै छैन, कुनै पनि भागको निर्माण सम्पन्न हुन सकेको छैन ।’ पार्कलाई ४ भागमा विभाजन गरिएको छ । ७२ रोपनीमा स्मृति क्षेत्र, त्यसमा १८ मिटर अग्लो शान्ति पिरामिड राख्ने योजना छ ।

पिरामिडभित्र मण्डला र बुद्ध प्रतिमा रहनेछ । पिरामिडको टुप्पो राति प्रज्वलित हुनेछ । साथै, उक्त भागमा संग्रहालय, निजामती कर्मचारी स्मारक र शान्ति स्तूप रहनेछ । संग्रहालयलाई अर्धभूमिगत बनाइनेछ, जसमा आन्दोलनका तस्बिर, चित्र र मध्यभागमा ठूलो घण्टा रहनेछ । उक्त क्षेत्रका निर्माणाधीन भौतिक संरचना पनि बेवारिसे अवस्थामा छन् ।

दोस्रो भागमा मनोरञ्जन क्षेत्र तोकिएको छ । १ सय ७२ रोपनीमा घुन्सा घटनामा मृत्यु भएकाहरूको सालिक र वरिपरि बगैंचा निर्माण गरी विभिन्न प्रजातिका फूल तथा बोटबिरुवा रोप्ने, पिकनिक स्थलका साथै मृगस्थली रहनेछ । यो क्षेत्रमा पनि निर्माणाधीन भौतिक संरचनाको अवस्था लथालिंग रहेको अध्यक्ष सिग्देलले बताए ।

तेस्रो भागलाई संस्थागत क्षेत्र नाम राखिएको छ । त्यसका लागि ५२ रोपनी जग्गा छुट्याइएको छ । रेस्टुरेन्ट तथा बहुउद्देश्यीय हल, सामुदायिक पसल तथा पार्क व्यवस्थापनको कार्यालय, सामुदायिक भवन, सीप विकास तालिम केन्द्र अध्यापन केन्द्र रहने छ । संस्थागत क्षेत्रमा निर्माण भइरहेका भौतिक संरचनाको अवस्था पनि उस्तै छ । चौथो भागलाई धार्मिक क्षेत्रको नाम दिइएको छ ।

करिब १५ रोपनी जग्गामा भगवती मन्दिर र नर्सरी निर्माण गरिनेछ । राष्ट्रको गौरव र पवित्र उद्देश्यका लागि निर्माण भइरहेका संरचना लथालिंग भएको भन्दै मन्त्री राईले पार्क छिटो बनाउन सरकारले कडा कदम चाल्ने बताए । ‘अब त केही गर्नैपर्छ, कसको गल्ती हो, पत्ता लगाएर निर्माण कार्य अघि बढाउँछौं,’ उनले भने । २०६४ जेठ २८ को मन्त्रिपरिषद् बैठकले पार्क निर्माण गर्ने निर्णय गरेको थियो । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: