Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेकपाका केन्द्रीय सदस्यहरूको आरोप- ‘लेनदेनमा मिलाइँदै समस्या !’

काठमाडौँ, मङ्सिर ५ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्यहरूको एक समूहले पार्टीभित्र उत्पन्न विवादलाई जरैसम्म पुगेर समाधान गर्नुको साटो उपल्लो तहका नेताहरूले आपसी लेनदेनमा सुल्झाइरहेको आरोप लगाएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै बुधबार बुझेको एउटा ज्ञापनपत्रमा उनीहरूले यसो उल्लेख गरेका हुन् ।

संसदीय दलको कार्यालय, सिंहदरबारमा केन्द्रीय सदस्यहरु डा. विजय पौडेल, जगन्नाथ खतिवडासहित दुई दर्जन केन्द्रीय सदस्यहरुको समूहले बैठक माग गर्दै महासचिव विष्णु पौडेलमार्फत अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएका हुन् । नेकपाको सचिवालय बैठक बिहीबार बस्दैछ । सचिवालय बैठकको संघारमा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्यहरुको एउटा समूहले ज्ञापनपत्र बुझाएको हो ।

केन्द्रीय सदस्य खतिवडाले कम्युनिस्ट पार्टीमा विधि, प्रक्रिया समाप्त हुँदै गएकाले केन्द्रीय कमिटी बैठक तत्काल बोलाउन, केन्द्रीय सचिवालयका अधिकार कटौति गरेर स्थायी समितिलाई वलियो बनाउन, पोलिटब्यूरो गठनपछि मात्र केन्द्रीय सदस्यहरुको कार्यविभाजनको माग गर्दै ज्ञापनपत्र बुझाइएको बताए । ‘महासचिवज्यूले सार्बभौम केन्द्रीय सदस्यहरुले बुझाइएको ज्ञापनपत्रबारे अध्यक्षलाई जस्ताको तस्तै जानकारी गराएर सचिवालय बैठकमा पनि प्रस्तुत हुने जानकारी गराउनुभएको छ’, खतिवडाले नयाँ पत्रिकासँग भने ।

ज्ञापनपत्रमा सरकार र पार्टी सञ्चालन प्रक्रिया वैज्ञानिक, पारदर्शी र समन्यायका आधारमा नभएको आरोप लगाइएको छ । त्यस्तै, सचिवालयका नाममा भइरहेको एकलौटी निर्णयसँगै पार्टी एकता प्रक्रियामा विलम्ब, जिम्मेवारी बाँडफाँडमा मनोमालिन्य, योग्यताका आधारमा भूमिका र जिम्मेवारी वितरणमा न्याय नभएको केन्द्रीय सदस्यहरुको गुनासो छ ।

त्यस्तै, सरकार सुदृढ र लोकप्रिय बन्न नसकेको उल्लेख गर्दै नेताहरुले नेता र कार्यकर्ताबीच प्रगाढ सम्बन्ध नभएको बताएका छन् । यस्तै, सरकारको विभिन्न कमिटीमा समीक्षा जरुरी भएको पनि उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘पार्टीभित्र उत्पन्न विवाद जरैसम्म पुगेर समाधान गरिनु पर्नेमा उपल्लो तहका नेताहरुले ‘लेनदेन’मा मिलाइरहेको महसुस जनतालाई समेत हुन थालेको छ ।’

पार्टीका नाममा सचिवालय सर्वेसर्वा बनाइएकामा विरोध गर्दै केन्द्रीय सदस्यहरुले तत्काल पोलिटब्युरो गठन र नियमित बैठक बसाउन माग गरेका छन् । यस्तै, क्षमता अनुसारको नेतृत्व वितरण पनि माग गरिएको छ ।

छरितो सरकार सञ्चालन, एकता प्रक्रिया सहजसँग समन्याय ढंगबाट टुंग्याउन पनि नेताहरुको अपिल छ । यस्तै, नेता कार्यकर्ताको आचरणले पनि पार्टी र सरकारबारे प्रश्न उब्जिएकोमा चिन्ता व्यक्त गरिएको छ ।

ज्ञापनपत्रमा केन्द्रीय सदस्यहरु डा. विजयकुमार पौडेल, जगन्नाथ खतिवडा, शत्रुघन महतो, ममता गिरी, जयन्ती राई, गरिमा शाह, भाष्कर काफ्ले, प्रेमलकुमार खनाल, निरज आचार्य, रामकुमार झाँक्री, विजय गुरुङ, माधव अर्याल, तुलबहादुर गुरुङ, यदुवंश झा, रचना खड्का, विरोध खतिवडा, रविन कोइराला, पशुपति चौलागाईं, मेटमणि चौधरी, विश्वनाथ प्याकुरेल र ठाकुर गैरेले हस्ताक्षर गरेका छन् ।

नयाँ पत्रिकाबाट

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: