Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बाबुछोरा मिलेर अपांगता भएकी बालिका माथि बलात्कार

दमक, मंसिर ५ । अपांगता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापाको गौरादह नगरपालिकाबाट बाबुछोरासहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौरादहका ५८ वर्षीय खड्गबहादुर बराइली, उनका दुई छोराहरू २८ वर्षीय प्रवीन र २४ वर्षीय छत्रमान तथा सोही स्थानका ४४ वर्षीय पुरुषोत्तम बराइली छन् ।

उनीहरूलाई पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अमरबहादुर थापाले जानकारी दिए । राम्रोसँग बोल्न नसक्ने बालिकालाई उनीहरूले विभिन्न मितिमा बलात्कार गरेको प्रहरी निरीक्षक थापाले बताए ।

पुरुषोत्तमले कात्तिक १० गते बालिकालाई जबरजस्ती करणी गरेका थिए । प्रवीन बराइलीले कात्तिक २३, उनका भाइ छत्रमानले २४ र उनीहरूका बुबा खड्गबहादुरले कात्तिक २८ गते बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

उनीहरूले बालिकालाई आफ्नो घरमा, नजिकैको बाँस झ्याङमा र एकपटक बालिकाकै घरमा जबरजस्ती करणी गरेका थिए । घरमा पीडित बालिका र उनकी आमा बस्दै आएका छन् । बालिकाको बुबा घरमा नभएको प्रहरीले जनाएको छ ।

उनीहरूले बालिकालाई पैसासहित विभिन्न प्रलोभन देखाएर पटकपटक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । भिन्नाभिन्नै व्यक्तिबाट पटकपटक बलात्कृत हुँदा बालिकाले घटनाबारे आमालाई सुनाएकी थिइन् । बालिकाकी आमा पनि सुस्त श्रवणकी छन् ।

अति विपन्न र केही नजान्ने परिवारका पीडित ढिला गरी मात्र प्रहरी कार्यालयमा आइपुगेका थिए । स्वास्थ्य परीक्षणपछि पीडित बालिकालाई दमकस्थित आफन्तको शरणमा राखिएको छ । पक्राउ परेका चारै जनाविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा चलाएको प्रहरी निरीक्षक थापाले बताए । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: