Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काम प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं, मंसिर ६ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गृह मन्त्रालयअन्तर्गतका विभिन्न निकायका काम कारवाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

आज गृहमन्त्रालयमा मन्त्रालयको चालू आर्थिक वर्ष २०७५÷७६ को प्रथम चौमासिक समिक्षा बैठकमा गृहमन्त्री थापाले मन्त्रालयका काम कारवाही सन्तोषजनक रहेपनि यसलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘तपाईहरुलाई दिइएको जिम्मेवारी इमान्दारितापूर्वक, सक्रियतापूर्वक र सृजनशिल ढंगले निर्वाह गर्नुहोस् । कुनै समस्या आए मन्त्रालय तपाईहरुको साथमा छ ।’ उनले गृहमन्त्रालयले ८२ बुँदे सुधार कार्ययोजना बनाएर सोही अनुरुप काम अघि बढिरहेको बताए ।

‘समिक्षाबाट निस्किएको सवलता र कमजोरीका आधारमा आफ्ना काम कारवाहीलाई थप परिस्कृत गर्दै लैजानुहोस्,’ उनले भने । कार्यक्रममा गृह सचिव प्रेमकुमार राईले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार बनाउन गृहमन्त्रालयको महत्वपूर्ण भूमिका हुने भएकोले सोही अनुरुप काम गर्न मातहतका निकायलाई निर्देशन दिए ।

उनले मन्त्रालयको काम कारवाही सही बाटोमा रहेपनि अझ प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा गृहमन्त्रालय अन्तर्गतका निकायले हालसम्म गरेका काम कारवाहीको बुँदागत रुपमा विवरण प्रस्तुत गर्दै त्यसमाथि सामूहिक छलफल गरिएको थियो । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: