कविताः खै यतै–कतै, यत्रतत्र ’

खै यतै कतै, यत्रतत्र
न्याय स्वयम् बलात्कृत भएर
अदालत गुहारी रहेछ,
आफ्ना धाराहरू धरधरी च्यातिदिएपछि,
प्रत्येक अधिकारका पङ्क्तिहरू
फगत पिडामा पिल्सिएका छन् ।

निरञ्जन नेपाल

हरेक धाराहरूलाई जोडी राख्छु भन्ने गमले,
पानीसँग नयाँ नाता जोडेपछि
त्यँहिबाट सुरु भयो
निर्मम धोकाको प्रपञ्च
जसरी तारा डण्डा आदिका बिल्लाधारी
केही थान जल्लादहरूले
हरेक निर्दोषसँग खेलेको भाँडाकुटी जस्तै ।

दुई–तीन जना लुटेराहरूसँग हल्लिने,
मेरो दुई तिहाई जनमतको सरकार
आज हरेक निर्दोषहरू
निर्मला बनिरहेका बेला
मेरो देशका नवराजहरू
सयर गरिरहेछन् हाम्रा आँशुका महासागरमा
सायद त्यहीं भएर होला
नेपालको आफ्नै पानी जहाज हुने भनेको ।

याे पनि पढ्नुस  कविता : पुरुष तिमी को ?

र त आग्रह छ, तयार गर अत्याधुनिक जहाजहरू,
जहाँ सयर गरून्,
बलत्कारी, अत्याचारी
घुसखोरी र भ्रष्टचारीहरू
अनि पठाउ कञ्चनपुरदेखि ताप्लेजुङसम्म
के फरक पर्छ र पाँच वर्षकी मेरी छोरी निमोठिँदा ?
बगाईदिउँला थप आँशुका भेलहरू
कञ्चनपुरले जस्तै गरी
तिम्रा जहाज उतार्ने
आँशुको सागरको आयतन बढाउन ।

याे पनि पढ्नुस  कविताः ढल्को

यदि यस्तै चलाइरहने हो भने
आजैबाट थालौँला अभ्यस्त बन्ने कठिन यात्रा
सँगै भो बन्द गर डिएनए र आरएनएका नाटकहरू,
भोलीबाटै पठाउँला
मुखमा झुम्रो कोचेर
निवस्त्र बालिकाहरूको लर्कन
तिम्रो नारायणहिटी सिंहदरबारतिर
केही लर्कन शितलनिवास, नक्सालतर्फ
र केही यत्रतत्र अलपत्र
अनि बनाउला यस्तो देश
जहाँ कुनै स्त्री जाति बलात्कृत हुन नपरेको नहोस् ।

याे पनि पढ्नुस  कविता : शहर

धिक्कार छ, नवराजा महाराजाहरू
याद राख, तिमीहरू पनि एक दिन चढ्नैपर्छ चितामा
कामना यति छ कि
निर्मला जस्ता निर्दोषका चित्कारले
तिमीहरूको चिताको आगो बिचैमा ननिभोस्
नत्र मात्र धुवाँले पिसुल्टिएका
तिम्रै हड्डी बालेर पकाएको पायस
तिमीहरूकै श्राद्घको दिन
मरेका बौलाहा कुकुरहरूको नाममा ।

त्रि.वि., केन्द्रिय सुक्ष्म–जीवविज्ञान विभाग, कीर्तिपुर, काठमाडौँ ।

कमेन्ट गर्नुहोस्